१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कर्णालीका अर्गानिक बस्तुको सरकारले बजारीकरण गर्ने

सरकारले कर्णालीका अर्गानिक उत्पादन देशैभर पुर्‍याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कर्णालीका अर्गानिक उत्पादनको बजारिकरण गर्ने तयारी थालेको हो। मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यापार कम्पनीमार्फत कर्णालीको मार्सी चामल, सिमी, फापर, कोदो, मकैलगायतका अर्गानिक उत्पादनलाई देशैभर पुर्‍याइने बताए।

‘सरकारी अनुदानमार्फत कर्णालीका अर्गानिक उत्पादन खरिद गरिएपनि बजारमा पुर्‍याउन नसक्दा गोदाममै कुहिने गरेका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले भने, ‘अव ति उत्पादनलाई देशैभर पुर्‍याएर बिक्री–वितरण गर्छौं।’  

सचिव अर्यालले अघिल्लो आर्थिक वर्षमा पोल्टी फर्म र गाईबस्तुलाई खुवाउनका लागि मात्रै ब्राजिलबाट १२ अर्बको मकै आयात भएको बताए। ‘कर्णाली मकै उत्पादनका लागि उर्वर ठाउँ हो,’ उनले भने, ‘निजश्री क्षेत्रले माटो सुहाउँदो उत्पादनमा जोड दिनुपर्छ।’

सचिव अर्यालले कर्णाली आत्मनिर्भर हुनका लागि प्राकृतिक स्रोतमा आधारित बस्तुको निर्यातमा जोड दिनुपर्ने बताए। उनले अहिले कर्णालीका जडिबुटीहरु विना प्रशोधन बाह्य मुलुकमा निर्यात हुँदा मूल्य पाउन नसकेकाले अव कर्णालीमै प्रशोधनको व्यवस्था मन्त्रालयले गर्ने बताए।  

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक शरदविक्रम राणाले कर्णालीमा आठ हजार ५०० प्रकारका जडिबुटी पाइने भएपनि त्यसको उपयोग हुन नसकेको बताए। उनले निजी क्षेत्रको लगानी कर्णालीमा नआउँदासम्म कर्णालीको विकास हुन नसक्ने बताए।

उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा लगानी अभावले ठूला उद्योगहरु स्थापना हुन नसकेको बताए। ‘जडिबुटी, बहुमूल्य पत्थर, कृषि उत्पादन कर्णालीका विशेषता हुन्,’ उनले भने, ‘पर्याप्त लगानी नहुँदा यसको बजारीकरण गर्न सकिएको छैन।’ उनले जडिबुटीलाई ब्यवस्थापन गर्न प्रदेशस्तरमा प्रशोधन केन्द्रको आवश्यता रहेको बताए। ‘कम्तीमा कर्णालीमै एक–दुई चरणको प्रशोधन गर्न सकेमा यहाँको प्राकृतिक स्रोतले उच्च मूल्य पाउनुका साथै रोजगारी पनि सृजना हुन्छ,’ उनले भने, ‘मन्त्रालयले यसतर्फ ध्यान दिन आवश्यक छ।’

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले विद्युत र जमिनको समस्याका कारण कर्णालीमा ठूला लगानीकर्ता आउन नसकेको बताए। ‘राज्यले पूर्वाधारमा ध्यान दिएको भए कर्णालीमा प्रसस्त लगानी भित्रिने अवस्था छ,’ उनले भने, ‘संभावनाका मात्रै कुरा गरेर कर्णालीको समृद्धि हुँदैन।’ उनले खानी, खनिज, जडिबुटी पर्यटनलगायतमा कर्णाली स्रोतका हिसावले धनी भएपनि त्यसको प्रवद्र्धनमा राज्यले ध्यान नदिएको बताए।

प्रकाशित: २३ पुस २०७७ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App