४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धमाधम खुल्न थाले अन्नपूर्ण क्षेत्रभित्रका गन्तव्य

कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले गत चैतमा मुलुकभर लकडाउन गरेपछि महिनौदेखि ठप्प हिमाली भेगका गन्तव्य बल्ल यतिबेला खुल्न थालेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्रा गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ। एक्यापभित्रका धेरै गन्तव्यमध्ये केही खुलिसकेका छन् भने कतिपयले खुलाउने दिन तय गरेका छन्। मौसमले साथ दिएर आउजाउ सहज हुनसक्ने गन्तव्य अहिले खुल्न थालिसकेका छन्।

एक्यापका प्रमुख राजकुमार गुरुङका अनुसार हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ खुल्न बाँकी छ। लोमान्थाङ खुल्न नसक्नुमा चिसो मौसमले गर्दा हो। नत्र अरूतिरका धेरै गन्तव्य खुलिसकेको र खुल्ने क्रममा रहेको उनले बताए। केहीदिन अछि नै हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम पर्यटकका लागि खुला गरिएको थियो। मुस्ताङकै धार्मिक गन्तव्य मुक्तिनाथ आगामी मंगलबारदेखि खुल्ने भएको छ। त्यस्तै एक्यापभित्रको महत्वपूर्ण गन्तव्य घान्द्रकु माघ १ देखि खुलाउने निर्णय घान्द्रुकका व्यवसायीले गरिसकेका छन्।  

घोरेपानी पनि पुस १ देखि खुलिसकेको छ।अर्को हिमाली जिल्ला मनाङ भने कात्तिक पहिलो सातादेखि नै खुलिसकेको छ। मर्दी हिमाल भने असोजमै खुलेको थियो। घान्द्रुकबाट छोमरोङ, देउराली, माछापुच्छे« हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म पनि आउजाउ गर्न सकिने गरी व्यवसायीले खुला गरेका छन्। तर एबिसी पुग्न भने कोरोना परीक्षणको पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।  

‘मौमसले साथ दिएर आउजाउ गर्न सक्ने अधिकांश गन्तव्य खुलिसकेका छन्,’ एक्याप प्रमुख गुरुङले भने, ‘यो बेला मौसमी अवरोधले आउजाउ गर्न नसकिने अवस्था आउनु भिन्दै हो। नत्र एक्याप क्षेत्रभित्रका अधिकांश गन्तव्य खुलेका छन्। अझै केही खुल्दैपनि छन्। घान्द्रुकले सबैभन्दा ढिलागरी माघ १ देखि खुलाउने भएको छ।’ 

सबै गन्तव्य एकै पटक नखुल्दा समस्या भएको उनले बताए। ‘कात्तिककै पहिलो साता मनाङ खुल्यो, तर, मुस्ताङ खुल्न ढिलाइ हुँदा थोराङला भञ्याङ पार गरेर आउजाउ गर्न कठिनाइ भयो,’ उनले भने, ‘सबै गन्तव्य एकैपटक खुलाउन सकेको भए केही सहज हुन्थ्यो। तर, हामीले स्थानीय व्यवसायीलाई खुलाउने अधिकार दिएकाले हस्तक्षेप गरेर एकैपटक खुलाउन भने सकेनौं।’  

अहिलेका लागि विदेशी पाहुना आउने सम्भावना कम रहेकाले आन्तरिक पाहुनाबाटै पदयात्रा क्षेत्रले व्यवसाय धान्नुपर्ने अवस्था रहेको उनले बताए। ‘अहिलेको हिँडडुल आगामी दिनमा नरोकियोस् भन्ने चाहना हो,’ उनले भने, ‘कम्तिमा आन्तरिक पाहुना ती गन्तव्यमा पठाउन सकियो भने त्यस क्षेत्रका व्यवसायीलाई केही राहत मिल्छ। आन्तरिक पर्यटनबाट पनि व्यवसाय टिक्न सक्नेछन्।’ एक्याप क्षेत्रभित्र पनि घान्द्रुक, घोरेपानी, लोमान्थाङ, मुक्तिनाथ आन्तरिक पर्यटकले बढी रुचाएको क्षेत्र भएकाले पनि खुलाउन दवाव परेको उनले बताए।

प्रकाशित: २० पुस २०७७ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App