१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोनाले नछेकेको सडक महोत्सव

पोखरामा बुधबार सुरु भएको सडक महोत्सव ।

कोरोना भाइरस संक्रमण अझै छ । तर, दैनिकी भने कोरोनाअघिको भन्दा खासै फरक देखिन्न । नागरिकहरु कोरोनाबाट संक्रमित भइने पो हो की भनेर केही सचेत त छन, तर, गतिविधि भने पहिले झैं हुन थालेका छन् । त्यसको उदाहरण हो– पर्यटकीय क्षेत्र लेकसाइडमा बुधबार सुरु भएको २२ औं संस्करणको पोखरा सडक महोत्सव । कोरोनाले पनि नरोकिएको यो महोत्सव शुक्रबारसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा चल्नेछ ।  

पोखरामा आन्तरिक पर्यटक तान्न पोखरा सडक महोत्सव सबैभन्दा बलियो माध्यम रहेको यहाँका व्यवसायीले बताउँदै आएका थिए । तर, यो पटक भने कोरोनाले झन्डै एकवर्षदेखि पर्यटन क्षेत्रलाई थिलोथिलो पारेको छ । कोरोनाकै कारण पोखरामा हुने धेरै कार्यक्रम हुन सकेनन् । तर, थिलोथिलो भएको पर्यटन क्षेत्रलाई थोरै भएपनि ब्यूताउँने प्रयास स्वरुप महामारीबीच पनि सडक महोत्सव गर्न बाध्य भएको आयोजकको भनाई छ ।  

‘कोरोनाको त्रास उस्तै छ । तर, व्यवसायीलाई र व्यवसायलाई थोरै भएपनि चलायमान बनाउन सकिन्छ की भनेर महोत्सव आयोजना गरेका हौ,’ महोत्सव संयोजक बसन्त गौतमले भने, ‘लामो समयसम्म सुनसान बनेको पर्यटन क्षेत्रलाई उकास्न सकिन्छ की भन्नेमा आशावादी छौ ।’ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष एकै समय र अवधिका लागि यो महोत्सव आयोजना गर्दै आएको थियो । हरेक वर्ष पाँचदिन हुने यो महोत्सवलाई यो वर्ष भने कोरोना कारण तीनदिन अवधिमा झारिएको छ ।  

पोखराको लेकसाइडस्थित तीनकिलोमिटर क्षेत्रमा महोत्सव अंग्रेजी पुरानो वर्ष बिदाई र नयाँवर्ष स्वागतार्थ महोत्सव आयोजना हुँदै आएको थियो । ‘सबैभन्दा बढी आन्तरिक पाहुनाको चलायमान बनाउन यो महोत्सव सफल भएको थियो । तर यो पटक भने कोरोनाले गर्दा सबैतिर अप्ठेरो परेको छ,’ गौतमले भने, ‘लामो समय सुस्ताएको पर्यटन क्षेत्रलाई थोरै भएपनि उकास्न सघाउने अपेक्षा छ ।’ कोरोनाले गर्दा बन्द रहेको व्यवसायलाई सुचारु गराउन सकियो भने नै यो महोत्सवलको सफलता हुने उनले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले सरकारले पर्यटन व्यवसायीका गुनासा नसुनेको बताए । ‘सरकारले व्यवसायीका गुनासा नसुन्ने हो भने पर्यटन क्षेत्र अझै धरासायी हुनेछ,’ रेग्मीले भने । रेग्मीले अबको पालो आन्तरिक पर्यटनको रहेको बताए । ‘संसारका ७५ प्रतिशत देश आन्तरिक पर्यटनबाट धानिएका छन् । २५ प्रतिशत मात्र विदेशीको भर पर्ने हो,’ उनले भने, ‘त्यसैले अबको पालो आन्तरिक पर्यटनको हो । आन्तरिक पर्यटनका लागि योजना बनाऔं ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराइले पोखराको पर्यटनलाई केही आकारमा बचाउनका लागि पनि अहिलेको अप्ठेरोमा महोत्सव गरेको बताए । ‘कम्तिमा पर्यटन क्षेत्र चलायमान छ भन्ने देखाउन जरुरी छ,’ उनले भने, ‘सधैं सुस्ताएर मात्र बस्नु भएन भनेर नै हामीले महोत्सव आयोजना गरेका हौ ।’

रेबानका अध्यक्ष लक्ष्मण बरालले पोखरा पाहुनाको स्वागतका लागि तयार रहेको भन्ने सन्देश दिन जरुरी रहेको बताए । ‘यो बेला कमाउने अवस्था छैन । तर, आन्तरिक पाहुनालाई बोलाएर भएपनि व्यवसाय चलायमान बनाउनुपर्ने छ,’ बरालले भने, ‘कम्तिमा व्यवसायीलाई व्यवसायमा टिकाइराख्न सकियो भने पनि सफलता हुनेछ ।’

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । गुरुङले पोखरालाई खुला रहेको सन्देश देश विदेशमा पु¥याउनका लागि पनि अहिलेको अप्ठेरोमा मेला गर्न आँट गरेको बताए । आयोजकका अनुसार महोत्सव अवधिमा हरेक दिन दिउँसो ३ देखि राती १० बजेसम्म यहाँ सांस्कृतिक कार्यक्रम हुनेछन् । तर, ‘इभ’ का दिन भने मध्यरातसम्म कार्यक्रम रहने अध्यक्ष बरालले बताए । अघिल्ला वर्षजस्तो लाइभ ब्याण्डका कुनैपनि कार्यक्रम नहुने उनले बताए । त्यसबाहेक कोमागाने पार्कमा पनि कुनैपनि कार्यक्रम हुनेछैनन । महोत्सव स्थल तीनकिलोमिटर दुरीभित्र तीनवटा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ । 

प्रकाशित: १५ पुस २०७७ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App