३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिदैँ

फाईल तस्बिर

बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ।अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि २०७७ अनुसार कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले उक्त प्रयोजनका लागि चालू आर्थिक वर्ष २०७७/७८ को पारित वार्षिक बजेटबाट  कार्यालय स्थापना गर्नका लागि  २५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको जानकारी दिए।

बसोबासका लागि सरकारी जग्गा खोजी तथा संरक्षण शीर्षकमा १० लाख रुपैयाँ, अध्यक्षको सिफारिस कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा  १० लाख रुपैयाँ र उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा पाँच लाख रुपैयाँ  छुट्याइएको प्रशासकीय शाहीले जानकारी दिए।

गाउँपालिकाको १ देखि ६ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न वडा नं ४ मा  कार्यालय स्थापना गरिएको छ। कार्यपालिका बैठकले  कार्यालयको प्रमुख गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकृत विजयकुमार यादवलाई तोक्ने निर्णय पनि आइतबार गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार सो एकाइ कार्यालयमा खटाइने अन्य कर्मचारीको व्यवस्थापन पनि गरिएको छ। अमिनको रुपमा गाउँपालिकामै कार्यरत अमिन धनराज कठायत, सामाजिक परिचालकका रुपमा गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक सुजित तिवारी, मनोजकुमार तमोली र हुसुन बानो दर्जीलाई तीन महिनाका लागि खटाउने निर्णय भएको छ।

तथ्याङ्क सङ्कलकमा वडा कार्यालयमा कार्यरत राकेशकुमार शर्मा र दाताराम यादवलाई खटाइने तथा कम्युटर अपरेटरका रुपमा गाउँपालिकामै कार्यरत विनोद चौधरीलाई पठाउने निर्णय बैठकले गरेको छ। रासस

प्रकाशित: ६ पुस २०७७ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App