२२ फाल्गुन २०७७ शनिबार
अर्थ

धार्मिक पर्यटक विकासको बाटो खुल्यो

छिमेकी भारतको सहयोगमा निर्माण गरिएको जनकपुर विमानस्थलको दुईतले टर्मिनल भवनको २०२४ साल कात्तिक ८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। त्यसको ५३ वर्षपछि विमानस्थलको स्वरुप फेरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले केही दिनअघि विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरे। पाँच दशक पछि भए पनि यो विमानस्थल नयाँ स्वरुपमा सञ्चालनमा आएको छ।

अहिले बनेको ६ सय यात्रु अटाउने नयाँ टर्मिनल भवनमा फायर अलार्म, एक्सरे स्क्यानिङ, धावनमार्ग प्रस्टै देखिने ६ तले धावनमार्ग, रेस्टुरेन्ट, ३५ जना अटाउने सुरक्षा गार्ड भवन, स्तनपान कक्ष, भिआइपी कोठा र लविइङ तथा व्यवस्थित पार्किङ रहेको छ। ‘लामो समयपछि अहिले विमानस्थलमा आवश्यकता अनुसार पूर्वाधार निर्माण भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारी भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पहिलो पटक स्टिल स्ट्रक्चरको आधुनिक टर्मिनल भवन निर्माण भएको विमानस्थल यहीँ हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि पहिलो पटक स्टिल स्ट्रक्चरको आधुनिक टर्मिनल भवन जनकपुर विमानस्थलमा निर्माण भएको हो। १२ करोड लागतमा निर्माण भएको टर्मिनल भवनमा ६ सय यात्रुको क्षमता छ।

विगतमा यहाँ सुविधा, स्रोतसाधन तथा सुरक्षा सतर्कता थिएन। विमानस्थलमा अनिवार्य राख्नुपर्ने वारुणयन्त्र र एम्बुलेन्स समेत थिएन। विमानस्थलबाट यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य थिए। शैचालय समेत पर्याप्त थिएन। जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन जीर्ण बन्दै गएको थियो। यात्रु बस्ने ठाउँ सीमित मात्रामा थियो।

नयाँ टर्मिनल भवन भने नेपालकै नमुना र सुविधा सम्पन्न बनेको छ। गार्डेन, पार्किङ, व्यावसायिक क्षेत्रसहित ११ हजार स्क्वायर फिट रहेको नयाँ टर्मिनलमा भवन मात्रै ४ हजार १ सय ३४ स्क्वायर फिटमा निर्माण गरिएको छ। टर्मिनल भवनमै ६ एयरलाइन्सको कार्यालय, प्यासेन्जर एलाउन्स, धुम्रपान क्षेत्र छुट्टै बनाइएको छ।

सरकारले आठ वर्षअघि १८ करोड लागतमा नयाँ टर्निनल भवन निर्माण गर्ने योजना अघि सारेको थियो। तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले नयाँ बन्ने टर्मिनल भवनको शिलान्यास गरेका थिए। डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ कात्तिकमा सम्झौता भएको थियो। पप्पु कन्ट्रक्सनले २४ महिनामा काम सक्ने भनेपनि चार पटक म्याद थप गर्दा पनि निर्माण पूरा नहुने देखिएपछि नागरिक उड्डयन कार्यालयले पप्पुसँग ठेक्का रद्द गरेर थेगेङी–ग्लवा–उमा एण्ड कम्पनीलाई जिम्मा दिएको थियो। उक्त कम्पनीले २१ करोड २७ लाख रुपैयाँमा दोस्रो चरणको काम गरेको हो।

स्थानीयवासीले यो विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेका छन्। यसलाई क्षेत्रीय विमानस्थल बनाउनुपर्ने माग पनि स्थानीयको छ। जनकपुरधामबाट अन्तर प्रदेश र भारतका बंगाल, उत्तरप्रदेश र विहारका प्रमुख स्थलसम्म हवाई सेवा सञ्चालनको अवधारणा ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ।

अत्याधुनिक टर्मिनल भवन तथा कन्ट्रोल टावरले आउने दिनमा यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न नयाँ मद्दत पुग्ने मन्त्री भट्टराईले बताए। आगामी दिनमा एक हजार ६ सय मिटरको धावन मार्ग निर्माण र जग्गाको व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग आग्रह गरेका थिए।

जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समझदारी र सहकार्य गर्नुपर्नेमा मन्त्री भट्टाईले जोड दिए।

यो विमानस्थलबाट हाल चारवटा उडान हुन्छन्। तर, जनकपुर प्रदेश २ को अस्थायी राजधानी भएपछि यात्रुको चाप बढ्दै गएको छ। अहिले टिकट पाउन पनि मुस्किल हुन थालेको यात्रुको भनाइ छ।

धार्मिक पर्यटनको ढोका खुल्यो

जनकपुर पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्य पनि प्रशस्तै छन्। तर, पर्यटकीय नजरले कम ध्यान दिँदा यसको विकास हुन सकेको छैन। जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवन संचालनमा आएसँगै पर्यटकीय सम्भावना बढेको छ।

प्रदेश २ को आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई ‘मेरुदण्ड’ मानिएको छ। प्रशस्त धार्मिक पर्यटन क्षेत्र प्राचीन मिथिलाको राजधानी समेत रहेको यस प्रदेशको अस्थायी राजधानी जनकपुरमै रहेको छ। पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण मानिन्छ। हवाई, सडक, रेल र जल मार्ग कनेक्टिभिटीका आयामहरू हुन्। रेल र सडक मार्गको सुविधा भएपनि स्तरीय विमानस्थलको अभाव झेल्दै आएको जनकपुरले भर्खरै अत्याधुनिक टर्मिनल भवन पाएसँगै पर्यटन क्षेत्रको तीव्र विकासको ढोका खुलेको विज्ञहरूको भनाइ छ।

‘टुरिजम रिभाईभल’ कमिटी प्रदेश २ संयोजक मनिष झाकाअनुसार नयाँ टर्मिनल भवनबाट विमानस्थलको सेवा सुरु भएसँगै पर्यटन प्रवद्र्धनमा मूल्य अभिवृद्धि ‘भ्यालु एड’ भएको छ। ‘मार्चबाट बुद्ध एयरले मात्रै विहानदेखि रातिसम्म चार वटा उडान सुरु गर्दैछ,’ उनले भने, ‘यसबाट निश्चित रूपमा यस क्षेत्रको पर्यटनमा टेवा पुग्छ।’

प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरधामलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्न सके यस प्रदेशको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ। पर्यटकलाई आकर्षित गर्नसक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकलासहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गरेर पर्यटक टिकाउन सकिन्छ। यसमा हवाई मार्गले विशेष योगदान पुर्‍याउँछ।

अहिले नेपालमा पर्यटक रोकिने समय १२.५ दिन छ। तर, प्रदेश २ मा २.५ दिन मात्र छ। नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४५ डलर छ। तर, प्रदेश २ मा ११ डलर मात्र छ। संयोज झाले भने, यस प्रदेशमा श्रद्धालु, दर्शनार्थीको भीडलाई पर्यटनमा रूपान्तरण गर्ने रणनीति प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग छैन। भीडलाई पर्यटकमा रूपान्तरण गर्न सके यस प्रदेशको धार्मिक पर्यटनबाट प्रदेश सरकार मनग्य आम्दानी बटुल्न सक्छ।

जनकपुरधाम विवाह भूमि एवं आदर्श भूमिका रूपमा स्थापित भएकाले देश/विदेशका जोडीहरूलाई विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने बुद्धिजीबीहरू बताउँछन्। मिथिला पेन्टिङ विश्वबजारमा निकै चर्चामा रहेकाले यसलाई समेत विश्वसामु चिनाउनु व्यापक बन्दै गएको कनेक्टिभिटीले योगदान पुर्‍याउँछ।

गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्ड पर्यटकका लागि लोभलाग्दो धार्मिक गणतब्य बन्न सक्ने स्वाच्छ्ता अभियन्ता एवं प्रदेश सभा सदस्य रामअशिष यादव बताए। यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकको बसाइँ लम्ब्याउन सम्भावनाका स्थानहरू हुँदाहुँदै प्रदेश सरकारको रणनीति अभावले सम्भव हुन सकेको छैन्। नेपालका साथै छिमेकी भारतका राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक आउने गरेका छन्। त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन्।

प्रकाशित: १ पुस २०७७ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App