१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अर्थ

४८ मेगावाटको अपर राहुघाट बनाउँदै टुन्डी पावर

म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ। टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरे। रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारीले भूमि पूजा र शिलान्यासलगत्तै बाँधस्थलको काम सुरू गरिएको हो।  

गाउँपालिका अध्यक्ष भण्डारीले समयमै काम सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए। ‘जलविद्युत्ले समृद्ध रघुगंगा बनाउने अभियानमा आयोजना कोसेढुंगा सावित हुनेछ, समुदायको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ आयोजनाले ध्यान दिनुपर्छ,’ अध्यक्ष भण्डारीले भने। उनले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्यसहित समुदायको हितका क्षेत्रमा समेत आयोजनामार्फत सहयोग पुग्ने बताए।  

गाउँपालिकाभित्र जलविद्युत्सँगै कृषि, पर्यटन र पशुपालनका क्षेत्रमा समेत प्रचुर सम्भावना भएकाले लगानीको वातावरण बनाउने अध्यक्ष भण्डारीले बताए। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे तीन अर्ब रहेको टुन्डी पावर कम्पनीका इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए। आयोजनास्थलमा हेभी इक्विपमेन्टसहित जनशक्ति कार्यक्षेत्रमा परिचालन भइसकेको र पहुँचमार्ग निर्माणले तीव्रता पाएको उनले बताए। वडा नं ४ दग्नाम, ७ चिमखोला र ८ कुइनेमंगलेसम्म करिब २१ किलोमिटर सडक स्तरोन्नतिमा करिब आठ किमि कडा चट्टानमा नयाँ ट्र्याक खोल्ने कार्य भइरहेको छ। आयोजनाको बाँध र पावर हाउस रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माण साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिम्मा पाएको छ। टुन्डी पावर कम्पनीले विद्युत्लगायत ठूला आयोजनामा अनुभवी कन्ट्र्याक्टरलाई जिम्मा दिएकाले समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ। वडा नं ८ कुइनेमंगलेको बन्दीघाँटी बाँधस्थल हुँदै करिब पाँच किमि लामो टनेलबाट पानीलाई १५० मिटरको उचाइबाट चिमखोलाको मालाङमा बन्ने पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ।  

आयोजनास्थलको चार स्थानबाट टनेल खन्ने काम सुरु गरिने र खरीबोट भन्ने स्थानमा तीन सय मिटर लामो अडिट टनेल रहने छ। आयोजनाको विद्युत्् अन्नपूर्ण गाउँपालिका–४ दानामा निर्माणाधीन २२० केभी विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। यसैबीच टुन्डी पावरले चिमखोलाको बगरखोला र छिमेकी दग्नामको फेदीमा अर्को ३७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ। विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेदीबाट बग्ने रगुगंगा नदीसहित सहायक ठाडा खोलाको पानीबाट विभिन्न कम्पनीले जलविद्युत् निर्माणको तयारी गरेका छन्।

प्रकाशित: १ पुस २०७७ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App