म्याग्दीमा यसवर्ष ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छाना हटाएर जस्तापाता लगाइने भएको छ। खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानामा ल्याउने संघीय सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रममार्फत जिर्ण घरलाई मर्मत गरेर सुरक्षित आवास निर्माण गरिने भएको हो। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत स्थानीय तहबाट कार्यान्वयन हुने गरी चालु आर्थिक वर्षमा म्याग्दीमा पाँच सय ९७ वटा खरका छाना भएका र जिर्ण अवस्थामा रहेका विपन्न परिवारको घरमा जस्तापाताको छाना बनाइने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जनाए।
जिल्लाको बेनी नगरपालिकामा एक सय पाँच, रघुगंगा गाउँपालिकामा ८८, धवलागिरी गाउँपालिकामा ९३, अन्नपूर्ण गाउँपालिकामा ९८, मालिका गाउँपालिकामा
एक सय ६ र मंगला गाउँपालिकामा एक सय १० वटा खरले छाएका विपन्न, गरिब, एकल महिला र ज्येष्ठ नागरिकको जिर्ण अवस्थामा पुगेका घर मर्मत गरी जस्तापाताको छाना भएको घर बनाइने भएको हो। अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घरमा खरका छाना छन्। जस्तापाताले छाउनका लागि प्रतिघर ५० हजार रूपैयाँ अनुदान उपलब्ध गराउने सांसद थापाले बताए। गत वर्ष अन्नपूर्ण र रघुगंगामा एक/एक सय खरका घर विस्थापित गरी जस्तापाताको छाना बनाउन अनुदानका लागि छनोट भएका थिए।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थापा संयोजक र जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीलगायत सबै स्थानीय तहका प्रमुखहरू सदस्य एवं सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सदस्यसचिब रहेको आयोजना व्यवस्थापन समन्वय समितिको बैठकले लाभग्राही छनोट गरेर आवश्यक काम अघी बढाएको बताइएको छ। लाभग्राहीलाई पहिलो किस्तामा ३० हजार रूपैयाँ उपलब्ध गराइने छ।
घरमा जस्तापाताको छाना बनाएपछि दोस्रो किस्तामा २० हजार रूपैयाँ भुक्तानी दिएर ५० हजार अनुदान उपलब्धता गराइने कार्यविधिमा उल्लेख छ।
खरका छाना भएका घरमा आगलागीको जोखिम बढ्ने र बर्षेनी छाना परिवर्तन गर्नुपर्ने समस्या समाधानका लागि जस्तापताका छाना बनाउने अभियान सञ्चालन गरिएको यहाँका जनप्रतिनिधिको भनाइ छ। यसबाट सर्वसाधाणहरू पनि खुसी भएका छन्।
प्रकाशित: २४ मंसिर २०७७ ०२:४० बुधबार





