२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन । भुटान र थाइल्यान्डले अनुमति पाएर पनि नेपाल उडान सुरु गरेका छैनन् । भारतले अझै एक महिना नियमित उडान खोल्न नसकिने जनाएपछि उसैले पठाएकोे प्रस्ताव अनुसार एयर बबल प्रणालीमार्फत उडानको तयारी भइरहेको छ ।  

एयर बबल प्रणाली भनेको एकअर्को मुलुकका नागरिक मात्र ओसारपसार गर्न पाउने गरी हुने हवाई उडान हो । यसको मतलब अब नेपाल र भारतबीच हुने उडानमा यी दुई मुलुकका नागरिकले मात्र यात्रा गर्न पाउनेछन् । ती उडानमा तेस्रो देशका नागरिकलाई यात्रा गर्न पाउने छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुसार कूटनीतिक माध्यमबाट उडानको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई उडान तालिका बनाउन निर्देशन जारी गरेको छ ।

सरकारले कोरोना महामारीका कारण बन्द भएको भण्डै ६ महिनापछि उडान सुरु गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद्ले निश्चित उडान सञ्चालन गर्ने निर्णय गरे पनि भारत जाने र उताबाट नेपाल आउने उडान बन्दै थियो ।  

सरकारले गत जेठ अन्तिममा सुरु गरेको चार्टर्ड उडानबाट बैंगलोरमा अलपत्र नेपाली ल्याउँदा नेपाल वायुसेवा निगमलाई घाटा भएपछि भारतमा चार्टर्ड उडान पनि हुन सकेको थिएन । प्राधिकरण स्रोतका अनुसार अर्को साताबाट नेपाल वायुसेवा निगम र भारतीय विमान कम्पनीले दिल्ली–काठमाडौं रुटमा दैनिक एक–एक उडान गर्नेछन् । बंगलादेशमा हुने उडानबारे भने कुनै निर्देशन नभएको प्राधिकरणले जनाएको छ । नेपालमा लकडाउन सुरु हुनुअघि नेपाल वायुसेवा निगमले दिल्लीमा साताको १४, बैंगलोर र मुम्बईमा साताको ३–३ उडान भर्दै आएको थियो ।

प्राधिकरणले भारतीय उड्डयनसम्बद्ध निकायसँगको सल्लाहमा मापदण्ड बनाएर सेवा सुरु हुने जनाएको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । हाल नेपालमा उडान र अवतरण गरी दैनिक २८ सम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । चीनमा साताको दुई उडान हुँदै आएको छ । 

प्रकाशित: १७ मंसिर २०७७ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App