७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

फलफूल तथा तरकारीमा विषादी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा

बजारमा बिक्री हुँदै आएका फलफूल तथा तरकारीमा विषादी रहेको गुनासो आइरहेका बेला सरकारले विषादीको अधिकतम सीमा तोकेर मापदण्ड तयार गरेको छ।  

विषादीको प्रयोग गरेका तरकारी तथा फलफूल उपभोग गर्दा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड बनाएको हो।

विभागले फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा सम्बन्धी मापदण्ड प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ। मापदण्ड मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने विभागका महानिर्देशक उपेन्द्र रायले बताए।  रायका अनुसार १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेर मापदण्ड तयार गरिएको छ।  

तरकारी तथा फलफूलमा विषादीको अवशेष हुने भएकाले मापदण्ड तयार गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए।

केरा, स्याउ, भिण्डी, काउलीलगायत तरकारी तथा फलफूलको परीक्षण गर्न मापदण्ड तयार गरिएको हो। ‘विषादीको कति मात्रा भन्दा बढी हुन नहुने भन्ने मापदण्डमा उल्लेख गरिएको छ,’ महर्जनले भने, ‘मापदण्ड स्वीकृत भएपछि नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्छौ।’

भारतबाट आयातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ। नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै हुने गरेको छैन।  

स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये दुई समूहका करिब २० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ८० प्रतिशत विषादी परीक्षण हुँदैन।  

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ। नेपालमा अन्य ८० प्रतिशत विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन।  

यहाँ प्रयोग हुने विषादीमा अर्गानोफस्फेट १७.५७ प्रतिशत र कार्बामेट २.२९ प्रतिशत छ। अहिले विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले यिनै दुई समूहका किटनाशक विषादीको मात्र परीक्षण गर्छ। अन्य विषादीको अवशेषको मात्रा परीक्षण गर्ने नेपालमा प्रविधि र प्रयोगशाला नै प्रयोगशाला छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालाले अन्य केही विषादीको नमूना संकलन गरेर परीक्षण गर्ने भए पनि विषादी परीक्षण गर्ने अन्य ठाउँमा संयन्त्र छैन। 

तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्छ। भारतबाट आयातित तरकारीको अनिवार्य विषादी परीक्षण गर्नुपर्छ भन्ने बहस चलिरहेका बेला स्वदेशमै उत्पादित तरकारीमा विषादी परीक्षण नै नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ।

प्रकाशित: १६ मंसिर २०७७ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App