१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मर्मत नहुँदा धराप बन्दै मेची राजमार्ग

दर्जनौं स्थानमा भत्केर जीर्ण बनेको मेची राजमार्गमा सवारीसाधन चलाउन जोखिम बढेको छ । कालोपत्रे उप्केर बिग्रेको राजमार्ग लामो समयसम्म मर्मत नगरिँदा सवारी चलाउन ज्यादै समस्या परिरहेको यातायात व्यवसायीको गुनासो छ ।  

इलाम नगरपालिकाको राजदुवालीदेखि पुवाखोलासम्म करिब ३० किलोमिटर राजमार्ग धेरै स्थानमा बिग्रिएको छ । कतै कालोपत्रे भत्केर खाल्डा परेका छन् त कतै सडक नै धस्सिएको छ ।  

कतिपय ठाउँमा सडक बिग्रिँदा राजमार्ग एकतर्फीजस्तो भएको याताताय व्यवसायीले बताएका छन् । कालोपत्रे जीर्ण हुँदा सवारी दुर्घटना भइरहेको पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए । ‘मेची राजमार्गमा गाडी चलाउन अति नै अप्ठेरो भएको छ,’ उनले भने, ‘भत्केर एकतर्फी भएको स्थानमा गाडी ओभरटेक गर्दा बढी दुर्घटना निम्तिएको छ ।’ सडक मर्मत गर्न व्यवसायीले पटक–पटक माग गरे पनि अवस्था उस्तै रहेको उनले बताए । ‘राजमार्ग बिग्रेको १ वर्ष भइसक्यो, विभिन्न कारण देखाएर मर्मत गरिएको छैन,’ इलाम नगरपालिका–५ का वडा सदस्यसमेत रहेका सुब्बाले भने, ‘नागरिकले यत्रो सास्ती पाउँदा नियमनकारी निकाय यसरी चुप लागेर बस्नु हुँदैन ।’ उनले सडकमा परेका खाल्डाखुल्डीका कारण मोटरसाइकल र ठूला सवारीसाधन ठोक्किने घटना बढिरहेको बताए ।

माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डको करिब आधा दर्जन स्थानमा वर्षाैंदेखि राजमार्ग धस्सिएको र भत्किएको छ । यो स्थानमा मर्मतका लागि करोडौं रूपैयाँ खर्च भइसकेको छ । ५ करोड हाराहारी रकम खर्चेर गरिएको ‘रक’ एंकरिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ । मर्मतका लागि लागेको ठेक्काको म्याद गत असारमै सकिएको छ तर काम भएको छैन ।  

‘राजमार्ग बिग्रेको एक वर्ष भइसक्यो, विभिन्न कारण देखाएर मर्मत गरिएको छैन,’ पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष एवं इलाम नगरपालिका–५ का वडा सदस्य गृष्म सुब्बाले भने, ‘नागरिकले यत्रो सास्ती पाउँदा नियमनकारी निकाय यसरी चुप लागेर बस्नु हुँदैन ।’  

राजदुवाली–पुवाखोला खण्डका दर्जनौं स्थानमा मर्मतका नाममा बर्सेनि भइरहेको करोडौं खर्चले राजमार्ग सुध्रिन नसकेको इलाम नगरपालिका वडा ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठ बताउँछन् । ‘राजमार्गमा गाडी चलाउनै नसक्ने अवस्था हुन लागेको छ,’ उनले भने, ‘सम्बन्धित निकायको बेलैमा ध्यान नगए उपभोक्ता चुप लागेर बस्ने अवस्था छैन ।’ राजमार्ग मर्मत नहुँदा लाखौं उपभोक्ताले सास्ती खेप्नुपरिरहेको उनले बताए ।  

जिल्लाका जनप्रतिनिधिको नेतृत्व र स्थानीय प्रशासनले ध्यानाकर्षणसहितको चेतावनी दिँदासमेत संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालयले तीव्र रूपमा मर्मतको काम अघि बढाएको छैन ।

असोजमा जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा समन्वय प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंलगायतले राजमार्ग मर्मतमा ध्यान नपुगेको भन्दै सडक कार्यालयलाई चेतावनी दिएका थिए । प्रजिअ सेढाईंले म्याद गुज्रिए पनि काम नभएका आयोजना अनुगमन गरी तत्काल ठेकेदार कम्पनीमाथि दबाब दिन निर्देशन दिएका थिए । तर अहिलेसम्म त्यस्तो अनुगमन नभएको प्रजिअ सेढाईंले बताए । ‘म्याद गुज्रिएर पनि किन सडक, पुलको काम सकिएन भन्नेबारे म आफैं अनुगमन गर्छु, कार्यक्रम मिलाउनुस् भनेर सडक कार्यालयलाई भनेको थिएँ,’ उनले भने, ‘तर, अहिलेसम्म त्यस्तो कार्यक्रम मिलेको छैन ।’ भत्केको मेची राजमार्गको काम पनि किन बेलैमा भएन भन्नेबारे आफैंले अनुगमन गर्ने प्रजिअ सेढाईंले बताए ।  

ट्राफिक प्रहरीले पनि मेची राजमार्गको धेरै खण्ड बिग्रिएकाले सवारीसाधन दुर्घटनाको खतरा बढेको जनाएको छ । जिल्ला ट्राफिक प्रमुख योगेन्द्र दाहालले ठूला दुर्घटना नभए पनि राजमार्ग बिग्रेकै कारण साना दुर्घटना भइरहेको जनाए । ‘दुर्घटना सानो वा ठूलो हुनेभन्दा पनि त्यसले गर्ने क्षति गम्भीर हुनसक्छ,’ उनले भने, ‘अहिले मेची राजमार्ग भत्किएका कारण दुर्घटनाको खतरा बढेको छ ।’ सडक कार्यालय प्रमुख अविमन मुल्मीले धेरै बिग्रिएको राजदुवाली–पुवाखोला खण्डको मर्मतमा लागेको ठेक्काअनुसार काम सुरु भएको बताए । ‘काम त असारमै सकिनुपर्ने हो तर कोभिड–१९ र निरन्तर वर्षाले हुन पाएन,’ उनले भने, ‘अहिले ठाउँ–ठाउँमा मर्मत सुरु भइसकेको छ ।’ माइखोला–गोलाखर्क भञ्ज्याङ खण्डमा राजमार्ग धेरै बिग्रिएकाले मर्मतका लागि बढी नै समय लाग्नसक्ने उनले बताए । ‘त्यो खण्डमा चाहिँ तत्कालै कालोपत्रे गरिहाल्ने अवस्था छैन,’ उनले भने ।  

सडक कार्यालयले राजदुवाली–पुवाखोला खण्ड मर्मतका लागि आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड रूपैयाँको ठेक्का लगाएको थियो । ४२ हजार घनमिटर कालोपत्रेसहितको यो ठेक्काको काम भर्खरमात्र सुरु हुँदैछ । ‘यो खण्ड सुधार्ने अरू कामको पनि ठेक्का लागेको छ,’ कार्यालय प्रमुख मुल्मीले भने ।

प्रकाशित: १३ मंसिर २०७७ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App