१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

अन्नपूर्ण आधारशिविर पदमार्गमा पदयात्रामा रहेका विदेशी । फाइल तस्बिर: नागरिक

कोरोना भाइरस संक्रमण बढेपछि लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र गत असोज १ देखि खुलाउन सरकारले स्वीकृति दियो । सरकारी स्वीकृतिपछि धेरैतिरका होटल र रेस्टुरेन्ट सञ्चालनमा पनि आए । आम्दानी नभएपनि व्यवसाय चलायमान बनाउनुपर्ने भन्दै व्यवसायी होटल तथा रेस्टुरेन्ट खोल्न राजी भए । तर, अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको घान्द्रुक क्षेत्रका व्यवसायीले भने होटल खुलाउने आँट गरेनन् ।  

होटल खुलाउन नमानेपछि घान्द्रुक क्षेत्रले धेरैतिरबाट आलोचना समेत खेपिरहेको छ । मुलुककै महत्वपूर्ण पदमार्गमा पाहुना आउन रोकेको भन्दै सहरी क्षेत्रका पर्यटन व्यवसायीले घान्द्रुकको आलोचना गरिरहेका छन् । घान्द्रुकसहित छोमरोङ, घोरेपानी, टाढापानी, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रका व्यवसायीले संक्रमणको त्रास रहेको भन्दै होटल खुलाउन मानेका छैनन् । सहरमा व्यापक रहेको संक्रमण पाहुनाको आउजाउँसँगै गाउँ भित्रिने त्रास रहेको भन्दै घान्द्रुक क्षेत्रले होटल खुलाउन मानेन । अनिश्चितकालिन समयका लागि होटल बन्द गर्ने निर्णय त्यस क्षेत्रका व्यवसायीले गरिसकेका छन् ।  

धेरैतिरका पर्यटन क्षेत्र चलायमान बनिसक्दा पनि अन्नपूर्ण क्षेत्रको महत्वपूर्ण पदयात्रा गन्तव्यमा पर्ने एबिसीसम्मको पदयात्रा क्षेत्रका व्यवसायी होटल खुलाउन मानेनन् । किन त ? घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायी भन्छन्, ‘घुम्न आएका कोही पाहुना यहाँ बिरामी परे ती बिरामीको उद्धार र उपचार गर्ने निकाय छैन ।  

स्वास्थ्य सुरक्षाको सुनिश्चितता नभएकाले होटल खुलाउने आँट नगरेका हौं ।’ घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायी होटल खुलाउने वा नखुलाउने भन्ने बारे बेलाबेला छलफलमा जुट्ने पनि गरेका छन् । तर पछिल्लो समय छलफलमा जुटेका व्यवसायी स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नभएको भन्दै होटल खोल्न राजी नभएको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए । 

–आलोचना सहन्छौं, गाउँलाई आवश्यक परे भोकै बस्छौं ।
–गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै  राखेर उपचार गर्न सम्भव छैन । 

‘होटल खोल्नैपर्छ भनेर मैले नै अरू व्यवसायीलाई दवाव दिन सक्दिन । किनकी यहाँसम्म घुम्न आएका कोही पाहुना बिरामी परेमा उद्धार र उपचार कसले गर्ने भन्ने नै निकाय छैन,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सकेन । भगवान भरोसा हामी होटल खोल्न सक्दैनौ ।’ उनका अनुसार पदमार्गको माथिल्लो भेगमा अझैसम्म मोटरको पनि पहुँच छैन । अरू बिरामीलाई पनि बोकेरै वा हेलिकप्टरबाट उद्धार गरेर उपचारार्थ अस्पताल ल्याउनुपर्छ । कोरोनाको यो मारमा परेर घुम्न आएका कोही पनि व्यक्ति बिरामी परेमा उद्धार र उपचारमा सकस हुने भएकाले होटल खोलेर जोखिम मोल्न नचाहेको उनले बताए ।  

‘पदयात्रामा आएका कोही पाहुना बिरामी परिहाले उपचार र उद्धार गर्छाै भनेर सरकारले सुनिश्चित गर्नुपर्छ । अनि बल्ल होटल खुल्छन । नत्र भगवान भरोसा होटल खोलेर जोखिम निम्त्याउन चाहन्नौ, उनले भने, ‘अरू पदमार्गका व्यवसायी पनि भगवान भरोसामा चलेका छन् । हामीले पाहुनालाई गाउँमा भित्र्याएर जोखिम मोल्न चाहँदैनौ ।’ उनका अनुसार पाहुना आउँदा दुईखाले जोखिम छन् । एउटा हो, पाहुना आफै बिरामी परेमा उनीहरूको उद्धार र उपचार कसले गर्ने ? अर्काे जोखिम हो, गाउँलेमाझ संक्रमण फैलियो भने कसरी व्यवस्थापन गर्ने । पाहुना र स्थानीयमा संक्रमण भए के गर्ने भनेर जवाफ दिने निकाय नभएकाले होटल खुलाउने आट नगरेको उनले बताए ।

‘हामी होटल खोल्न तयार छांै । सरकारले भने झैं भौतिक दूरी कायम गरौला, स्वास्थ्यका सबै प्रोटोकल पनि अपनाउँछौ । तर, त्यत्ति गर्दागर्दै पनि कोही पाहुना बिरामी परिहाले भन्ने उद्धार कसले गर्नेे भन्ने जवाफ हामीसँग छैन,’ उनले भने, ‘न त गाउँसम्म एम्बुलेन्स आउँछ, न बोकेरै लिएर जान सकिन्छ । न गाउँमै राखेर उपचार गर्ने अवस्था छ ।’ गाउँको स्वास्थ्य सेवा प्रभावकारी नभएकाले पनि होटल खोल्न आँट नगरेको उनले बताए । ‘पोखरामा त बिरामी लिन एम्बुलेन्स आउँछ, तर, यहाँका बिरामीलाई कसले लैजाने ? २४ सै घण्टा स्वास्थ्यकर्मी यहाँ छैनन् । सरकार भएको अनुभूति भएन । अप्ठेरो परेमा हामीले उद्धार र उपचार गर्छाै भनेर आश्वासन दिने कोही भएन,’ उनले भने, ‘यो बेला व्यवसाय खोलेर संक्रमण गाउँमा भित्र्याउन चाहेनौ ।’

स्वास्थ्य जोखिमको यो बेलामा व्यवसाय सञ्चालन गरेर आफ्नै घुँडामा आफै बन्चरो हान्न नचाहेको उनले बताए । ‘पदमार्ग खुलेन भनेर भएन, यो क्षेत्रमा पनि होटलमा करोडौं रूपैयाँ लगानी छ । यो बेला होटल बन्द गर्दा फाइदा कसैलाई छैन,’ उनले भने, ‘स्वास्थ्यका सामान्य पूर्वाधार समेत छैनन् । होटल चलाएर मात्र हुने भए चलाउँछौ, तर, स्वास्थ्यको निश्चिन्तता कसले गर्ने भन्ने निश्चित भएन ।’ स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरिदिने हो भने होटल चलाउन सकिने उनले बताए । ‘हामी पनि होटल बन्द हुँदा खर्च धान्न सक्ने अवस्थामा छैनौ,’ उनले भने, ‘पोखरामा होटल चलाउन सहज छ । तर, घान्द्रुकमा उत्ति सजिलो छैन ।’  

गाउँ आएका कोही व्यक्तिलाई कोरोना संक्रमण हुनु भनेको ज्यानै जानु सरह रहेको उनले बताए । ‘होटल चलाउ भन्न पाइन्छ, चलाएनन् भनेर आलोचना गर्न पनि पाइन्छ,’ उनले भने, ‘यो बेला हामी आलोचना सहन्छौ, तर, गाउँको लागि आवश्यक परे भोकै बसिन्छ ।’ पोखराबाट ४० किलोमिटर नयाँपुल र त्यहाँबाट थप २० किलोमिटर पर घान्द्रुक छ । घान्द्रुक भन्दा माथि गाडि चल्दैनन् ।

त्यही क्षेत्रमा पर्ने छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ पनि भरपर्दाे स्वास्थ्य संरचना नहुँदा होटल खुलाउने आँट नगरेको बताउँछन् । ‘व्यापार चलाउँदा पाहुनाको आउजाउ हुन्छ । पाहुनाको कारण गाउँमा संक्रमण फैलिन सक्छ,’ उनले भने, ‘जबकी पिसिआर परीक्षण गर्न पनि पोखरासम्म धाउनुपर्ने अवस्था छ । यो बेला जोखिम बढी छ ।’ एबिसीको प्रवेशद्वार नै घान्द्रुक भएकाले घान्द्रुकको ढोका नै नखुलेसम्म अरू गन्तव्य खुलाउन नसकिने उनले बताए ।  

‘स्वास्थ्यकर्मी र अस्पताल नहुँदा अरूखाले बिरामीलाई त उपचार गर्न सकस छ,’ उनले भने, ‘यो बेला त कोही बिरामी परिहाले नजिक पर्न डराउने बेलामा व्यवसाय सञ्चालनको माहोल बन्न सकेन ।’ आमा समूह, युवा क्लव, वृद्धवृद्धाको पनि सुझावलाई मानेर व्यवसाय सुचारु गर्न नचाहेको उनले बताए । ‘बाहिरबाट हेर्दा सरकारले गरेको निर्णय पालना नगरेको देखिन्छ । तर, पालना गर्दा पनि सहज छैन,’ उनले भने, ‘सरकारी निर्णय अवज्ञा गरेका होइनौ । व्यवस्थापन सहज नभएको हो ।’

प्रकाशित: ९ मंसिर २०७७ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App