१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका छन् । तर यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा अभाव भएको छ ।  

नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो । 

साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा व्यापार गर्न सक्ने अवसर प्राप्त भए पनि सिंहदरबार वैद्यखानामा भण्डारण गरिएका अधिकांश आयुर्वेदिक औषधि सकिएका मात्र छैनन्, उत्पादन पनि ठप्पै भएको छ । यसको प्रत्यक्ष फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरूले लिइरहेको छन् । आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिन सक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादनमा खासै चासो देखाएको छैन । सरकारी कम्पनीले आयुर्वेदिक औषधि उत्पादन नगरेपछि निजी क्षेत्रले चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन औषधि बिक्री गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।  

वैद्यखानाका केही कर्मचारीले नै आयुर्वेदिक औषधि उत्पादन गर्ने निजी कम्पनीसँगको मिलेमतोमा वैद्यखानाले उत्पादन गर्दै आएका आयुर्वेदिक औषधि उत्पादनमा बेवास्ता गर्दा अभाव सिर्जना भएको त्यहींकै कर्मचारीको भनाइ छ । वैद्यखानाका उत्पादनमध्ये सर्वाधिक बिक्री हुने च्यावनप्रास, शिलाजितलगायत औषधि नपाउँदा दैनिक सयौंको संख्यामा आउने ग्राहक खाली हात फर्कन बाध्य छन् । औषधि उत्पादनका लागि करोडौंमा खरिद गरिएका उपकरणहरू पनि त्यतिकै थन्किएका छन् । सिंहदरबार वैद्यखानामा आयुर्वेदिक मलम खोज्दै दिनप्रतिदिन सयभन्दा बढी सेवाग्राही आउने गरे पनि वैद्यखानाको औषधि पसलमा पाइँदैन ।  

कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।

अहिलेको समयमा निजी संस्थाहरूले रातारात करोडौं आम्दानी गर्दा सिंहदबार वैद्यखाना भने टाट पल्टिने अवस्थामा पुगेको छ । कतिपय कर्मचारी आफूले सरकारी संस्था जोगाउनुपर्ने आवाज उठाउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले चासो नदेखाएको आरोप लगाउँछन् ।

सिंहदरबार वैद्यखानामा अहिले ६० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । कर्मचारीको तलब, भत्ता र सुविधा तथा कार्यालय व्यवस्थापनमा मात्रै वार्षिक दुई करोड बढी खर्च हुँदै आएको छ ।  

आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री वितरणको अवस्था हेर्दा यो वर्ष एक करोड हाराहारीमा छ । अघिल्लो वर्ष दुई करोड ४८ लाख औषधि बिक्री गरेको वैद्यखानाको यो वर्ष उत्पादन र व्यापार दुवै घटेको हो । विगत तीन वर्षदेखि संस्थाको आम्दानी लगातार ओरालो लागेको छ ।  

सिंहदरबार वैद्यखानाले आफ्नो क्षमताअनुसार आवश्यक आयुर्वेदिक औषधि नियमित उत्पादन गर्ने हो भने वार्षिक १५ देखि २० करोड आम्दानी सहजै गर्न सक्छ । तर वैद्यखानाका केही उच्च कर्मचारीको निजी उत्पादकसँगको साँठगाँठमा न्यून मात्रामा आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको एक कर्मचारीले नागरिकलाई बताए । ‘हामीसँग पर्याप्त पूर्वाधार भए पनि निजी क्षेत्रसँगको मिलेमतोमा औषधि उत्पादन नै बन्द भएको छ,’ ती कर्मचारीले भने, ‘उत्पादन नियमित हुने हो भने वार्षिक १५ देखि २० करोडको औषधि बजारमा खपत हुन्छ तर संस्थाका मुख्य अधिकारीहरू नै वैद्यखानालाई डुबाउन लागिपरेको छन् ।’  

सस्तो, भरपर्दो र गुणस्तरीय औषधि उत्पादन गर्दै आएको वैद्यखानको पछिल्लो समय आफ्नै उपचार गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ । उत्पादन ठप्प हुँदा ग्राहक खाली हात फर्किने अवस्था एकातिर छ भने अर्कोतिर औषधि उत्पादन गर्ने आफ्नो मुख्य जिम्मेवारी पूरा नगर्दा संस्था नै धराशायी बन्दै गएको देखिन्छ ।  

सिंहदरबार वैद्यखानाका उत्पादन अधिकृत डा. विनोद साहले च्यावनप्रास, शिलाजितलगायत औषधि अभाव भएको स्वीकार गर्दै ती औषधिको व्यवस्थापन गर्न आफूहरू लागि परेको बताए । अत्यावश्यक आयुर्वेदिक औषधि थप उत्पादनका लागि गृहकार्य भइरहेको बताउँदै चाँडै अभाव हट्ने उनको दाबी छ । अन्य विषयमा भने आफूलाई थाहा नहुने साहको भनाइ छ ।  

संशोधित सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेश, २०७७ ले सिंहदरबार वैद्यखानामा ११औं तहकालाई कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था गरेको छ । नयाँ गठन आदेशअनुसार ११औं तहको कार्यकारी निर्देशक नियुक्त गर्नुपर्नेमा आठौं तहको आयुर्वेदिक चिकित्सकको जिम्मामा छाडिएको हो । पुरानै व्यवस्थाअनुसार नियुक्त भएका वंशदीप शर्मा खरेल नै अहिलेसम्म कार्यालय प्रमुखको भूमिकामा छन् । नयाँ व्यवस्था आए पनि पुरानै व्यवस्थापनबाट संस्था चलाउँदा थप धराशायी बन्ने अवस्था रहेको कर्मचारीहरूको चिन्ता छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने सिंहदरबार वैद्यखानाको कार्यकारी निर्देशक विषयमा अहिले छलफल नभएको बताए ।

प्रकाशित: ९ मंसिर २०७७ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App