कोरोना भाइरस संक्रमणले झन्डै वर्षदिनदेखि थलिएको पर्यटन क्षेत्रले विस्तारै उठ्न थालेको छ। आन्तरिक पाहुनाको भरमा भएपनि यतिबेला पोखरा र आसपासका क्षेत्रमा संचालित साहसिक पर्यटकीय गतिविधिका प्रडक्ट केही चलायमान बनेका छन्। पहिले भन्दा केही सस्तो मुल्यमा पाहुनालाई सेवा दिएर भएपनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका हुन्।
पोखरामा यतिबेला प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्प, जिपफ्लायरमा आन्तरिक पाहुना रमाएको देखिन्छ। पोखरा बाहिरका साहसिक गतिविधिमा रमाउनकै लागि पनि केही आन्तरिक पाहुना पुग्न थालेका छन्। पर्वतमा कालिगण्डकी नदीमाथि संचालित बञ्जीमा यतिबेला आन्तरिक पाहुना हाम फाल्न पुगेका छन्। आन्तरिक पाहुनाको यो आकारको चलायमानले कोरानाका कारण लामो समयदेखि बन्द रहेको व्यवसायलाई थोरै भएपनि राहत मिलेको व्यवसायीको भनाई छ।
पर्वतको कालिगण्डकी नदीमाथि संचालित बञ्जीमा यो बेला दैनिक ४० जनाले बञ्जी गरेको संचालक राजु कार्कीले बताए। ‘हुन त यो बेला हाम्रो अपेक्षा धेरै पाहुनाको थियो। तर, कोरोनाको यो महामारीमा पनि हामीले केही राहत पाउने गरि बञ्जी गर्न पाहुना आएका छन,’ कार्कीले भने, ‘यो बेलाको हाम्रो अपेक्षा बढि भएपनि समय परिस्थिति अनुसार अहिलेको आगमनलाई पनि कमजोर मान्नु हुँदैन।’ एकपटक बञ्जी गर्दा ५ हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए। कार्कीका अनुसार बुटवल, चितवन क्षेत्रका युवायुवती अहिले बञ्जीमा रमाउन पर्वत पुगेका छन्।
बैशाखमै संचालन तयारीमा रहेको यो बञ्जी कोरोनाका कारण रोकिएकोमा १२ दिन अघिदेखि बल्ल चल्न थालेको थियो। तरपनि संचालनको छोटो अवधिमा राम्रो रेस्पोन्स पाएको उनले बताए। पर्वतको कुश्मा बजार नजिकै कालिगण्डकी नदीमाथि ५ सय २० मिटर लामो पुलमा २ सय २८ मिटर अग्लो बन्जी बनाईएको छ। द क्लिफ नेपाल प्रालिले कालिगण्डकीमाथि आकर्षक सिंगल स्पान झोलुगे पुल सहित बञ्जी, स्वीङ, स्काई साइक्लिङका पुर्वाधार तयार पारेको भएपनि हालका लागि बञ्जी मात्र संचालनमा आएको उनले बताए। ‘साहसिक गतिविधिमा युवापुस्ताको चाँसो बढेको हामीले अनुभूति गरेका छौ,’ कार्कीले भने।
अल्ट्रालाइट जहाजमा उडेर आसपासका क्षेत्रमा दृश्यावलोकन गर्न यो बेला आन्तरिक पाहुना पोखरा आइपुगेका छन्। पोखरा अल्ट्रलाइट कम्पनिले चारवटा जहाजबाट अहिले आन्तरिक पाहुनालाई अल्ट्रालाइट जहाजबाट पोखरा र आसपासका क्षेत्रका दृष्यावलोकन गराईरहेको छ। कोरोनाका कारण चैतदेखि बन्द रहेको अल्ट्रालाइटको उडान दशदिन अघिदेखि संचालनमा आएको थियो। अहिले दिनमा एकदर्जन हाराहारीमा उडान भईरहेको संचालक पोमनारायण श्रेष्ठले बताए।
‘कोरोना भाइरस संक्रमणका कारण आठमहिनादेखि उडान बन्द थियो। सरकारले अनुमति दिएसँगै हामीले दशदिन अघिदेखि उडान थालेका थियौ,’ श्रेष्ठले भने, ‘यो बेला आन्तरिक पाहुना उड्न आएका छन्। पोखरा र आसपासका क्षेत्रका सहित बुटबल, चितवन, काठमाडौंका युवापुस्ता यो बेला पोखरा क्षेत्र घुम्न आएको र त्यही मौका पारेर अल्ट्रालाइटमा उड्ने गरेको उनले बताए।
संचालक श्रेष्ठका अनुसार एकपटक उड्दा यसअघि कम्तिमा दशहजार रुपैयाँ पर्ने गरेकोमा अहिले भने झन्डै आधा छुट दिइएको छ। अहिले एकपटक उड्दा ५५ सय रुपैयाँ तिरे पुग्ने श्रेष्ठले बताए। ‘आधा छुटले पनि पाहुना आकर्षित भएका छन्। पोखरा भित्रैका पाहुना पनि उड्न आएका छन,’ उनले भने, ‘युवापुस्ताका पाहुनाको आकर्षण बढि छ।’ यो बेला मौसम खुलेकोले पनि विहानको हिमाली श्रृंखलाको दृष्यमा रमाउन पाहुना अल्ट्रालाइटमा उड्ने गरेको उनले बताए।
लामो समय बन्द रहेको व्यवसायमा यो आकारको उडानले थोरै भएपनि राहत दिलाएको संचालक श्रेष्ठले बताए। ‘बरु नाफा नहोस, तर, व्यवसाय चलायमान बन्नुपर्छ। सधैं ताला लगाएर बस्नु भन्दा कम आम्दानीमा भएपनि चल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो बेला नाफाका लागि भन्दा पनि व्यवसाय चलायमान बनाउन खोजेका हौ।’ व्यवसाय चलायमान बनाउँदा कार्यरत कर्मचारीले काम पाउने उनले बताए। ‘कहिलेसम्म ढोका थुनेर बस्ने भन्ने हो। संचालन खर्च जुटाउन सकिने गरि व्यवसाय भएमा पनि अहिलेको अवस्थामा सन्तोष मान्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संचालनविहीन अवस्थामा राख्दा जहाजका पाटपूर्जा नै बिग्रने डर थियो। अहिलेको सिमित उडानले सबैलाई अपडेट गराएको छ।’
साहसिक पर्यटनको अर्को प्रडक्ट प्याराग्लाइडिङमा यो बेला सबैभन्दा बढी भीडभाड छ। आन्तरिक पाहुना बढेपछि यो बेला प्याराग्लाइडिङ उडानमा पालो पाउन समेत मुस्किल छ। अहिले दैनिक झन्डै पाँचसय उडान भईरहेको व्यवसायीको भनाई छ। नेपाल हवाई खेलकुद संस्था (एनएए)का पूर्व अध्यक्ष समेत रहका प्याराग्लाइडिङ व्यवसायी सोवित बानियाँका अनुसार कोरोनापछि सबैभन्दा छिटो रिभाइभ भएको क्षेत्र नै प्याराग्लाइडिङ बनेको छ। ‘पर्यटनमा सबैभन्दा छिटो प्याराग्लाइडिङको व्यवसाय चलायमान बनेको छ,’ बानियाँले भने, ‘आन्तरिक पर्यटकको भरमा यो बेला व्यवसायले गति पाएको छ।’
बानियाँका अनुसार अरुबेला सातहजार रुपैयाँ पर्ने आधाघण्टाको उडानमा अहिले पाहुनाले चारहजार रुपैयाँ तिरे पुग्छ। ‘आधा छुटले पनि पाहुनाको आकर्षण बढेको हो। सस्तोको फाइदा उठाएर अहिले युवापुस्ता प्याराग्लाइडिङमा रमाएका छन,’ उनले भने, ‘यसबाट व्यवसाय पनि चलायमान बनेको छ। प्याराग्लाइडिङमा आश्रीत पाइलटको पनि आम्दानी भएको छ।’ स्थानीय सहित पोखरा आसपासका जिल्ला, काठमाडौं, चितवन, बुटवल लगायतका सहरका युवापुस्ता यो बेला प्याराग्लाइडिङको मज्जा लिन पोखरा आएको उनले बताए।
‘एडभेन्चरका गतिविधिमा धेरैको चाँसो रहेछ भन्ने यो बेला साच्चै पुष्टि भएको छ,’ उनले भने, ‘आन्तरिक रुपमा व्यवस्थापन गर्न सके साहसिक पर्यटन साच्चै छिटो फस्टाउनेछ।’ सराङकोट प्याराग्लाइडिङ र नेपाल फ्लाइङ प्याराग्लाइडिङका संचालक समेत रहेका बानियाँका अनुसार साहसिक गतिविधिमा रम्न अरुबेला आन्तरिक पाहुनालाई कम फुर्सद हुने भएकोले पनि दसैं–तिहारको बिदाको मौका पारेर बढी घुम्न निस्कने गर्छन।
पोखराको हेम्जा र सराङकोटलाई छुनेगरि संचालन भईरहेको जिपफ्लायर र हेम्जामा संचालित बञ्जीमा पनि रमाउने आन्तरिक पाहुना प्रयाप्त छन्। हाइग्राउण्ड एडभेन्चर्स नेपालले यहाँ बञ्जीजम्प र जिपफ्लायर संचालन गरेको छ। हाइग्राउण्ड एडभेन्चर्सका पोखरा प्रमुख दीनेश महर्जनले पनि साहसिक गतिविधिले पर्यटन क्षेत्र केही सक्रियजस्तो देखिएको बताए। उनका अनुसार अहिले बञ्जी र जिपफ्लायरमा रमाउने पाहुनामा अधिक युवायुवती छन्। ‘दसैंताका निकै नै भीडभाड भयो। तिहार अघि केही सुस्ताएको थियो। यो बेला पुन चलायमान बनेको छ,’ महर्जनले भने, ‘अबका केहीदिनपछि पुन सुस्ताउने सम्भावना छ। तरपनि साहसिक पर्यटकीय प्रडक्टमा युवापुस्ताका पाहुनाको चाँसो छ भन्ने अहिले पुष्टि भएको छ।
प्रकाशित: ६ मंसिर २०७७ ०९:३४ शनिबार





