बैठकमा दुई देशबीच विद्युत् आदानप्रदान तथा अन्तरदेशीय प्रसारण लाइन निर्माण, नौमुरे जलविद्युत् आयोजना, सप्तकोसी उच्च बाँध तथा सुनकोसी कमला डाइभर्सनको सम्भाव्यता अध्ययन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना विकास, कोसी र गण्डक आयोजनाबारे छलफल भएको तथा ती विषयमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्ज लाकौलले बताए ।
सौहाद्रपूर्ण वातावरणमा बैठकमा नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुने बाढी नियन्त्रण सप्तकोसी उच्च बाँधसम्बन्धी अध्ययन गर्ने कार्यमा देखा पर्दै आएको स्थानीय अवरोधको विषय मुख्यतया कोसी बाढी पीडितको क्षतिपूर्तिसँग गाँसिएको सन्दर्भ नेपाली पक्षबाट उठान भएकोमा क्षतिपूर्तिको विषयमा पूर्व स्थापित कोसी-गण्डक आयोजना संयुक्त समितिमार्फत अघि बढाउने सहमति भएको उनले जानकारी दिए ।
प्रवक्ता लाकौलका अनुसार साथै पश्चिम राप्ती, खाँडो, बलान तथा लखनदेही नदीमा भारतीय सहयोगमा तटबन्धको कार्य अगाडि बढाउने सहमतिलगायत दोस्रो अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पञ्चेश्वर विकास प्राधिकरण गठनसम्बन्धमा कार्यहरु तदारुकताका साथ अगाडि बढाउने सहमति भएको छ।
बैठकमा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले तथा १२ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको जल संशाधन मन्त्रालयका सचिव ध्रुवविजय सिंहले गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, विद्युत् विकास विभाग, जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत् प्राधिकरण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तथा सप्तकोसी बहुउद्देश्यीय आयोजनाका उच्चस्तरीय प्रतिनिधि सहभागी रहने र भारतको तर्फबाट भारतको जल संशाधन मन्त्रालय, भारतीय राजदूतावास, भारतीय केन्द्रीय जल आयोग, गङ्गा बाढी नियन्त्रण आयोग, उत्तराखण्ड तथा बिहार सरकारका उच्च पदाधिकारीहरु एवम् नेसनल हाइड्रोपावर कर्पोरेसनका पदाधिकारीको सहभागिता रहेको थियो। रासस
प्रकाशित: १२ माघ २०६९ ०१:२५ शुक्रबार





