८ वैशाख २०८१ शनिबार
अर्थ

लकडाउनले थलिँदै उदयपुर सिमेन्ट

लक्ष्यको ५८ प्रतिशत मात्र उत्पादन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड मूल गेट। तस्विरः महेश्वर/नागरिक

लामो समय राजनीतिक कोपभाजनमा परेर थिलथिलो भएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) बौरिन लाग्दालाग्दै कोरोनाले पुनः थलिँदै गएको छ। दक्षिण एसियामै गुणस्तरीय मानिने गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि लामो प्रयासपछि विगत ५ वर्षयता बौरिन थालेकै अवस्थामा विश्वव्यापी कोरोना कहरले फेरि थला पर्न लागेको हो।

सरकारको हस्तक्षेप, दलीय किचलो, फरक दलनिकट कर्मचारी–मजदुरबीच आग्रह पूर्वाग्रह र व्यवस्थापनको असमझदारीले एकपछि अर्को कमजोरी हुँदा उठ्नै नसक्ने गरी टाट पल्टन लागेपछि २०७१/०७२ मा तत्कालीन सरकारले उद्योग नीजिकरण गर्ने तयारी गरेको थियो। तर, मजदुर कर्मचारीको आग्रह अनुसार तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अघिल्लो सरकारको नीजिकरण गर्ने निर्णय उल्टाएर सरकारी स्वामित्व यथावत राखेका थिए। त्यहीँ बेला व्यवस्थापनको जोडबलले उद्योग क्रमशः सुधार हुदै गयो।  

तर, लामो समयपछि बौरिदै गएको उद्योग ०७६ चैत ११ देखिको ३ महिना लामो लकडाउनमा उत्पादन हुन ठप्प हुनुका साथै मौज्दात सिमेन्टसमेत बिक्री नभएपछि नमिठो गरी ओरालो लाग्न लागेको उद्योगका निमित्त महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए। उनका अनुसार कोरोना कहरले उत्पादनमा अवरोध त भयो नै, मौज्दात सिमेन्ट पनि बिक्री गर्न सकिएन, लकडाउन अवधिमा काम गर्न नपाएका कर्मचारीलाई तलब भत्ता दिनुपर्दा उद्योगलाई तेहरो (तीनखाले) मार पर्न गएको छ। लकडाउनको तेहरो मारले उद्योगलाई करोडौं घाटा हुन पुगेको जिएम साहले बताए।  

सिमेन्ट उत्पादन र खपतको मुख्य सिजन चैत–असारमै लकडाउन भएपछि उद्योगलाई उत्पादनमा कमी आएको छ। चैतदेखि असारको अवधिमा विकास निर्माण र भौतिक पूर्वाधारका कामहरु बढी हुने हुँदा सिमेन्ट खपत बढी हुने गरेकोमा त्यतिबेलै लकडाउन भएपछि अकल्पनीय घाटा बेहोर्नु परेको हो। ‘जुनबेला धेरै सिमेन्ट बिक्ने पिक सिजन हो, त्यसैबेला ३ महिना लकडाउन भईदियो’ जिएम साहले भने ‘त्यसले पनि उद्योगलाई बढी घाटा हुन गएको हो।’ विगत वर्षहरुमा चैतदेखि असारसम्मको अवधिमा उद्योगले दैनिक १५ हजार बोरासम्म सिमेन्ट बेच्दै आएकोमा यो वर्ष लकडाउन भएपछि सिमेन्ट बेच्न र उत्पादन दुवै गर्न नपाउँदा घाटा बेहोर्नु परेको हो।  

लकडाउनको दुई महिनादेखि उद्योगले सामान्य बिक्री गर्न भने सुरु गर्यो। तर, उत्पादन चाही ६५ दिनसम्म पूर्ण ठप्प हुँदा दैनिक सरदर ६ सय मेट्रिक टन उत्पादन हुने दरले हिसाव गर्दा ७ लाख ८० हजार बोरा सिमेन्ट उत्पादन गर्न पाएन। त्यो परिमाणको सिमेन्ट उत्पादन नहुनु भनेको बजारको चालु सिमेन्ट मूल्य अनुसार झण्डै ६० लाखको घाटा सहनु परेको जिएम साहले बताए। साहका अनुसार उत्पादनमा घाटासँगै उद्योगका ३ सय ५० कर्मचारी तथा मजदुरलाई मासिक ६२ लाखका दरले तलव भत्ता मात्र १ करोड २५ लाख रुपैंया अतिरिक्त भार लकडाउनको अवधिमा पर्न गयो।  

उद्योगका नायव महाप्रबन्धक (डिजिएम) ध्रुवबहादुर देवकोताले ०७६/७७ मा क्षमताको ५० प्रतिशत अर्थात ३२ लाख बोरा सिमेन्ट उत्पादन लक्ष्य लिएकोमा लकडाउनका कारण १६ लाख ४१ हजार ६८९ बोरा अर्थात ५८ प्रतिशत मात्र हासिल भएको बताए। उनका अनुसार लक्ष्यको ९० प्रतिशत अर्थात उत्पादनको प्रक्षपण गरिएकोमा लकडाउनका कारण ५८ प्रतिशतमा खुम्चिनु परेको छ। देवकोटाले लकडाउनका बाबजुद १ अर्ब ९ करोड ३९ लाख रुपैंया आम्दानी भएको बताए।  

डिजिएम देवकोटाका अनुसार आव ०७५/७६ लक्ष्यका ८०.९८ प्रतिशत उत्पादन गरेर १ अर्व ७० करोड २२ लाख ४४ हजार रुपैंया आम्दानी भएको थियो। आर्थिक वर्ष ०७४/७५ को त्योभन्दा बढी उत्पादन भएको थियो। ०७४/७५ मा २४ लाख ६ हजार ९ सय ७४ बोरा अर्थात ८६.८४ प्रतिशत सिमेन्ट उत्पादन भएर उद्योगलाई १ अर्ब ८५ करोड आम्दानी भएको देवकोटाले बताए।  

लक्ष्य अनुसार उत्पादन भईरहेका बेला लकडाउनले अढाई महिना उत्पादन रोकिदा उद्योगले अकल्पनीय घाटा बेहोर्नु परेको उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले बताए। उनका अनुसार आर्थिक वर्षको सुरुमै प्रिहिटर पंखा (एसपी फ्यान) बिग्रेपछि झण्डै दुईमहिना उत्पादन रोकिएको थियो। पंखा मर्मतपछि दैनिक सरदर ६ सय ५० मेट्रिक टनका दरले धमाधम उत्पादन भईरहेकै बेला लकडाउन भएपछि उद्योग मारमा परेको हो। ‘लकडाउन नभएको भए दुई महिना पंखा बिग्रे वार्षिक लक्ष्य चुम्थ्यौं’ कर्णले भने ‘तर, पंखा मर्मत र लकडाउनले ५ महिना फ्याक्ट्री नचल्दा प्रक्षेपण फेल खायो।’ भर्खर बौरिदै गरेको उद्योगलाई कोरोनाले नराम्रोसँग प्रभाव पारेको कर्णले बताए।  

सिमेन्ट बिक्रीमा पनि कोरोनाले नराम्रो असर गरेको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए। ठ्याक्कै बिक्री बढ्ने सिजनमा कोरोनाले लकडाउन भएपछि पूरा २ महिना सिमेन्ट बिक्री र उत्पादन बन्द गर्नुपर्दा अतसलनीय घाटा हुन पुगेको जिसीको भनाई छ। न्यूनतम दिनमा ४ हजार बोरा सिमेन्ट बिक्ने उद्योगमा लकडाउनले ६५ दिनसम्म उद्योगमा ताला लगाएर बस्नु परेको उनले सुनाए। त्यत्तिका दिनसम्म बन्द उद्योगको मौज्दात सिमेन्ट बिक्री काउन्टर खोलेर बेच्न थाल्दा सुरुमा दैनिक २५ सय ३ हजार बोराका दरले बिक्री हुँदै लकडाउन खुलेपछि दैनिक ५ हजार बोरासम्म मात्र बिकेको उनले बताए।

प्रकाशित: २१ कार्तिक २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App