१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ उडानमा भद्रगोल, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याँइ गर्दा संक्रमण फैलिने डर

पोखराको सराङकोटस्थित प्याराग्लाइटिङ टेकअफ स्थल। तस्बिरः नागरिक

मौसम खुलेसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा एकाएक भीड बढेको छ। कोरोना कहरबीच यहाँको आकाशमा प्याराग्लाइडिङ उडानमा भीड बढेपनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन भने गरिएको छैन। भद्रगोल तरिकाले प्याराग्लाइडिङ उडान गर्दा भाइरस संक्रमणको त्रास बढेको व्यवसायीले नै बताएका छन्।  

प्याराग्लाइडिङ व्यवसायीका अनुसार अहिले उडानस्थल (सराङकोट) र अवतरणस्थल फेवाताल किनारको खपौंदी क्षेत्रमा व्यापक भीडभाड छ। भीडभाडका कारण कोरोना भाइरस संक्रमण फैलिने त्रास भएको उनीहरुको भनाइ छ। स्वास्थ्य सुरक्षाका उपाय समेत अवलम्बन नगरि मनलाग्दी तरिकाले उडान गरिरहेको व्यवसायी नै बताउँछन्। प्याराग्लाइडिङ उडानमा भद्रगोल भएको भन्दै नेपाल नागरिक उडडयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)लाई समेत सचेत गराएको छ।  

ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार यो बेला एकाएक पोखरामा प्याराग्लाइडिङ उड्ने पाहुना बढेका छन्। काठमाडौं, चितवन, बुटबल सहित पोखरा र आसपासका जिल्लाबाट समेत युवायुवती घुम्न आएको र उनीहरु प्याराग्लाइडिङ गर्न पुग्दा एकाएक भीडभाड बढेको उनले बताए। ‘दैनिक करिब एकहजार उडान भईरहेको छ।  तर, निकै नै भद्रगोल अवस्था छ। कोरोनाको बढ्दो संक्रमणलाई पटक्कै ख्याल गरिएको छैन,’ रावतले भने, ‘बाहिरबाट आएका पाहुना धमाधम उड्न पुगेका छन्। स्वास्थ्य सुरक्षाका कुनै पनि उपाय अवलम्बन गरिएको छैन। यसले संक्रमणको त्रास छाएको छ। ’

उनका अनुसार एकैजना पाइलटले दिनमा दुईभन्दा बढी उडान गर्न नपाउने नियम छ।  तर, अहिले एकैजनाले दिनमा पाँचवटासम्म उडान भरिरहेका छन्।  दिनहुँ नयाँ पाहुना उडान गर्न आउँदा पाइलट पनि संक्रमणको जोखिममा रहेको उनले बताए।  ‘सराङकोटको भद्रगोल भनि साध्य छैन।  दूरी कायम पनि हुन सकेको छैन।  मास्क, सेनिटाइजरसमेत प्रयोगमा छैनन,’ उनले भने, ‘यसले संक्रमण फैलाउने त्रास भएको छ।  नियन्त्रणका लागि प्रयास कतैबाट भएको छैन।  क्यानलेसमेत सचेत गराउनु पर्ने अवस्था आएको छ। ’

पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको नियमन गर्ने अधिकार अहिले हवाई खेलकुद संस्थालाई छ।  तर हवाई खेलकुद संस्थाले व्यवसायी, पाइलट र पर्यटकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनमा कडाई गर्न नसकेको उनले बताए।  ‘कोरोनाको मारमा परेको पर्यटन व्यवसाय लामो समयपछि चलायमान हुने प्रयासमा छ।  तर, व्यवसाय सुरक्षित हुनुपर्छ भन्ने हो,’ रावतले भने, ‘उडान र अवतरणस्थलमा यत्रतत्र भीड छ।  एकैपटक सयौं प्याराग्लाइडिङ उड्दा आकाशमै पनि ठोक्किने डर भयो।  सबैतिरबाट यो बेला प्याराग्लाइडिङमा भद्रगोल देखिएको छ। ’  

उनका अनुसार क्यानले हवाई खेलकुद संस्थाका पदाधिकारीलाई भद्रगोल तरिकाले प्याराग्लाइडिङ उडान गर्न दिएको भन्दै सुरक्षाका उपाय अवलम्बन नगरे अधिकार खोस्नेसमेत चेतावनीसमेत दिएको छ।  लामो समयको रस्साकस्सी पछि दुईवर्ष अघि क्यानले प्याराग्लाइडिङ नियमनको सबै अधिकार हवाई खेलकुद संस्थालाई दिएको थियो।  ‘पैसाको लागि जोखिम सिजर्ना नगरौं भन्ने हो।  अहिलेको अवस्था अरुबेला जस्तो छैन,’ उनले भने।  यो बेला भीड बढ्दा ६० वटा कम्पनीका झन्डै ३ सय जना पाइलटले काम पाएपनि सुरक्षित हुन नसकेको उनले बताए।  क्यानले दिनमा एउटा पाइलटले दुई भन्दा बढी उडान गर्न नपाउने भनेपनि पाइलटलेसमेत त्यो नियम नमानेको रावतको भनाइ छ।  

पाइलटहरु पनि उडान र अवतरास्थलमा ब्यापक भीडभाड रहेको बताउँछन।  प्याराग्लाइडिङका एकजना पाइलटले भने, ‘लामो समयको ग्यापपछि काम पाउँदा नगरी भएन।  तर, अहिले साह्रै असुरक्षा छ।  संक्रमण फैलिएला भन्ने डर छ। ’ ती पाइलटका अनुसार बढीमा दुई उडान गर्न पाइने नियम तोड्दै एकैजनाले दिनमा ५–६ वटासम्म उडान गरिरहेका छन।  ‘जसले जति पाउँछ, उडाउने अवस्था छ।  यहाँ स्वास्थ्यको कुनै ख्याल गरिएको छैन।  नयाँ अनुहार दिनहुँ उडिरहेका छन,’ उनले भने।  

ती पाइलटका अनुसार उड्न पाहुनालाई गाडी चढ्दा सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने भनिए पनि कतिपयले त्यो मापदण्ड पनि पालना गरेका छैनन्।  त्यसबाहेक तोरीपानीबाट उड्ने अनुमति पाएका कम्पनीले पनि सराङकोटबाट उडाउँदा आकाशमै भीड बढेर ठोक्किने जोखिम पनि रहेको उनले बताए।  ‘सजिलो व्यवस्थापन छैन।  टेकअफ, ल्याण्डिङ र आकाशमा पनि अस्तव्यस्त छ,’ उनले भने, ‘हेलचेक्रयाँइ बढेको छ।  एक–दुई जनालाई मात्र संक्रमण देखियो भने सारा प्याराग्लाइडिङ व्यवसायलाई असर पर्छ। ’  

नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार यो बेला आधा भन्दा बढी छुट पाउँदा पोखरा क्षेत्रका स्थानीयसहित घुम्न आएका युवायुवती प्याराग्लाइडिङ उड्न पुगेका छन्।  अहिले आधा घण्टा उडान गरेको ३ हजार रूपैयाँ तिर्नुपर्छ।  अरुबेला यो शुल्क ७ हजार रुपैयाँसम्म थियो।  ‘सस्तोमा उड्न पाएका छन्।  पोहोरताका अन्यत्र घुम्न जाने हुँदा स्थानीयहरु कमै उड्न आउँथे, अहिले भने स्थानीयकै भीड छ।  बाहिरबाट आउने करिब ३० प्रतिशत छन,’ भण्डारीले भने, ‘पर्यटनका अरु गतिविधि नहुँदा प्याराग्लाइडिङमा भीड बढेको हो। ’ भण्डारीले अहिले दिनमा ६ सय हाराहारीमा उडान भईरहेको बताए।  

आकाश र भुँइमा भीड बडेपछि क्यानले सचेत गराएको उनले पनि बताए।  क्यानले व्यवस्थापन चुस्त बनाउन निर्देशन दिएपछि पालो बाडेर उडान संचालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताए।  २० वटा कम्पनीको दरले तीनवटा समय तालिका बनाएर उड्न जान दिने गरि तयारी भईरहेको उनले बताए।  ‘पोखरामा ६० कम्पनी छन्।  २० वटाका दरले तीनसमुहमा बाँडेका छांै।  पहिलो समुह बिहान साढे ९ बजे, दोश्रो १० र तेश्रो साढे १० बजेमात्र जान पाउनेगरि व्यवस्थापन प्रयास भएको छ,’ उनले भने, ‘अहिलेसम्म मनलाग्दी तरिकाले उड्न गएका थिए।  अब तोकिएको समय अनुसार चिठ्ठा थुतेर पालैपालो उड्न जाँदा भीड कम हुने आँकलन गरिएको छ। ’

उनले पनि एकाएक भीड बढ्दा अस्तव्यस्त भएको बताए।  ‘अस्तव्यस्त भएकै हो।  हामीले स्वीकार्नु पर्छ, क्यानले पनि सचेत गराएको छ,’ उनले भने, ‘अहिलेसम्म जे जति भयो, अब त्यो हुन दिन्नांै। ’ तोरी पानीबाट अनुमति लिएका कम्पनी अब उड्नका लागि तोरीपानी नै जाने पनि उनले बताए।  ‘सबैजना एकैपटक सराङकोटमा उड्न जाँदा यो अवस्था आएको हो,’ उनले भने, ‘भीडभाड भएकै हो।  हामी सुरक्षित उडानका लागि व्यवस्थापन प्रयासमा छौं। ’ भीड बढेकै कारण एकैजना पाइलटले दुईभन्दा बढी संख्यामा उडान गर्न बाध्य भएको उनले बताए।  

प्रकाशित: १७ कार्तिक २०७७ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App