१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भूमिगत प्रसारण लाइन निर्माण कार्य मन्द गतिमा

कोभिड १९ को संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकामा भूमिगत विद्युतीय प्रसारण लाइन निर्माण कार्यको गति मन्द हुन पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि उपत्यकामा भूमिगत प्रसारण लाइन निर्माण गरे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते महाराजगन्जबाट यसको सुरुआत गरेका थिए।  

काम सुरु गरेको केही समयमै मुलुकभर लकडाउन र निषेधाज्ञा जारी भएसँगै भूमिगत विद्युतीय प्रसारण लाइन निर्माण कार्य निकै सुस्त गतिमा छ। प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतमा भूमिगत प्रसारण लाइन निर्माण कार्य सुरु गरेको थियो। तर कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले निर्धारित समयभित्रै भूमिगत प्रसारण लाइन निर्माण सम्पन्न नहुने पक्कापक्की जस्तै भएको छ।  

प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले कोभिड १९को संक्रमणको जोखिम बढेसँगै भूमिगत प्रसारण लाइन निर्माण कार्यले गति लिन नसकेको बताए। ‘भूमिगत प्रसारण लाइन निर्माणको लागि आवश्यक कामदार ल्याउन नसक्दा अपेक्षित गतिमा निर्माण हुन सकेको छैन,’ उनले भने, ‘रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट सानो एरियामा मात्रै काम भइरहेको छ।’ प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार सन् २०२१ को अक्टोबरभित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य छ। ठेक्का सम्झौता अनुसार म्याद सकिन एक वर्षमात्रै बाँकी छ। तर प्रसारण लाइन निर्माण कार्य नगन्य गतिमा भइरहेको छ। यही गतिले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने देखिँदैन।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित यस आयोजनाको ठेक्का सम्झौता रकम करिब सात अर्ब छ। महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्ज, आदि स्थानमा करिब २५० किलोमिटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ। यसैगरी, रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल जोरपाटी आदि स्थानमा करिब २०० किलोमिटर ११००० भोल्टेजको र करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमीटर अप्टिकल फाइबर भूमिगत राखिनेछ। रत्नपार्क वितरण केन्द्रले गौशालादेखि चाबहिल चुच्चेपाटीसम्म मात्रै भूमिगत प्रसारण लाइन निर्माण कार्य सम्पन्न गरेको छ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको संक्रमणको कारणले भूमिगत विद्युतीय प्रसारण लाइन निर्माणको कार्य प्रभावित हुँदै आएको बताए। ‘यो प्रसारण लाइन निर्माणमा नेपाली कामदारको खासै अनुभव छैन। त्यसैले निर्माण गर्नको लागि भारतीय कामदार नै ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘भारतमा कोरोनाको संक्रमण अत्यधिक भएसँगै निर्माण कार्यले गति लिन सकिरहेको छैन।’ पर्याप्त कामदारको अभावमा तीव्र गतिमा काम हुन सकिरहेको छैन। आयोजना प्रमुख अधिकारीले अहिले जापानिज एम्बेसीदेखि बूढानीलकण्ठसम्म भूमिगत पाइप लाइनको लागि आवश्यक पाइप बिछ्याउने कार्य भइरहेको बताए। २०७५ चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तारको लागि तीन अर्ब  ८० करोड लागतमा ठेक्का सम्झौता भएको थियो।

अहिले साइटमा ४० देखि ५० जना कामदारले काम गरिरहेका छन्। दुवै आयोजना ठेक्का सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था छ।  ‘भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युत् क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘विश्वका धेरै देशमा भूमिगत प्रसारण लाइन छ। नेपालमा भने बिल्कुलै नयाँ हो। ’

भूमिगत विद्युत् प्रसारण लाइन विस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ। ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ। चार सय भोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्र इन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ। इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा यो काम गर्न लागिएको हो। ‘होरिजन्टल ड्रिलिङ प्रविधिबाट भूमिगत विद्युत् प्रसारण लाइन विस्तार गर्न लागेका हौं,’ उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट बिजुलीको लाइन विस्तार गरिनेछ।’

प्रकाशित: २ कार्तिक २०७७ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App