१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

गोरखाका ठूला व्यापारी नै मापदण्ड बाहिर

बजार अनुगमनमा खटिएका प्रजिअ, सप्रजिअ सहितको टोली। तस्विर: नागरिक

गोरखामा होलसेल व्यावसायीले नै मापदण्ड भन्दा बाहिर रहेर व्यवसाय संचालन गरेको पाइएको छ। खाद्यान्न सामग्री गोरखा सदरमुकामबाट ग्रामीण बजारमा ढुवानी गर्ने होलसेल पसलको अनुगमनका क्रममा म्याद नाघेका बिक्री गरेको, लेभल नलगाइएका सामग्री भेटिएको हो।  

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले शुक्रबार गोरखा सदरमुकामका ९ वटा खाद्यान्न पसलहरुको अनुगमन गरी एक लाख २५ हजार जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।

कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिसाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५ हजार, जोशी क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार,श्रीराम किराना पसललाई पाँच हजार जरिवाना तोकिएको छ। एक हप्ता भित्र उनीहरुले उक्त रकम विभागका खातामा जम्मा गरेको भौचर अनुगमन समितिलाई बुझाउनुपर्छ।  

अनुगमन टोलीले २० वटा पसलमा गरेको अनुगमनमा बाँकीलाई सचेत गराइएको छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको प्रजिअ भट्टराईले बताए। पसलहरुमा ढकमा समस्या देखिएको, अखाद्य वस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको पाइएको छ। अनुगमन सँगै यति धेरै ब्यापारीलाई जरिवाना गरिएको यो पहिलो पटक हो।  

बजार अनुगमनका विषयमा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले प्रशासनले व्यवसायीलाई तर्साउने गरी एकलौटी अनुगमन गरेको बताए। ‘एक पटकलाई सचेत गराएर जानकारी दिएको भए हुन्थ्यो’ उनले भने।

यस्तै चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले प्रशासनलाई जरिवाना र कारवाहीसहित व्यवसायीलाई पहिलो पटक जानकारी गराउन अनुरोध गर्दा प्रशासनले बल प्रयोग गरेको बताए। ‘अत्यन्तै अराजक ढंगले अनुगमन गरियो, फिर्ता पठाउन राखिएको सामग्री पनि जफत गरियो, यसले व्यवशायीलाई निरुत्साहित बनाएको हाम्रो ठहर छ’ उनले भने।  

प्रकाशित: २४ आश्विन २०७७ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App