coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पानीको भाउ व्यापारीको स्वार्थमा

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी मूल्य ५० रूपैयाँ तोकेपछि करिब दुई महिनापछि व्यापारीले पानीको मूल्य बढाएर बेच्न थालेका हुन् ।  

विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् । खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४० रूपैयाँमा बेच्दै आएको थिएँ,’ गुरागाईंले भने, ‘खरिद भाउ बढेपछि ४५ रूपैयाँमा बेच्न थालेको छु ।’ पानीको ब्रान्डअनुसार मूल्य फरकफरक छ ।’  

एक जार पानीमा १० देखि १५ रूपैयाँ मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘योजनाबद्ध रूपमा पानीको मूल्य बढाउने काम भयो,’ तिमिल्सिनाले भने, ‘सरकारले ५० रूपैयाँ एमआरपी तोकेपछि त्यसलाई आधार बनाएर व्यापारीले मूल्य बढाएका हुन् ।’  

पानीको एमआरपी मूल्य निर्धारणको विषय संसदीय समितिमा पुगेपछि विभागले मूल्य निर्धारण स्थगन गरे पनि अहिले व्यापारीले अटेर गरेर मनोमानी रूपमा मूल्य बढाएका छन् । विभागले पुरानो मूल्यका आधारमा एमआरपी मूल्य घटाएर प्रतिजार ५० रूपैयाँमा झारेको दाबी गरे पनि बजार मूल्यभन्दा धेरै तोकेपछि उद्योगीलाई बहाना मिलेको थियो ।

पिउने पानीको मूल्य बढेको उत्पादक उद्योगले पनि स्वीकार गरे । नेपाल बोटलर्स वाटर एसोसिएसनका अध्यक्ष सुवास राजभण्डारीले फ्याक्ट्री मूल्य एक जारमा चारदेखि पाँच रूपैयाँ मात्र बढेको दाबी गरे । ‘उद्योगले १५÷१६ रूपैयाँमा बेच्दै आएको फ्याक्ट्री मूल्य २० रूपैयाँ मात्र तोकेका हौं,’ राजभण्डारीले भने, ‘बजारमा धेरै बढ्नुपर्ने कारण छैन ।’

पानीको मूल्यवृद्धिको विषयमा गुनासो आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए । ‘जारमा १० देखि १५ रूपैयाँ मूल्य बढाएको गुनासो आएको छ,’ आचार्यले भने, ‘आइतबारबाट बजार अनुगमन गर्छौं ।’ उद्योगलाई मौखिक जानकारी गराएको र बढी मूल्य लिएको पाइए कारबाही गर्ने आचार्यले बताए । ५० रूपैयाँ एमआरपी तोके पनि पछि स्थगित गरिएको आचार्यको जिकिर छ ।

‘मूल्य निर्धारणको विषय संसदीय समितिमा विचाराधीन छ,’ उनले भने, ‘अहिले व्यापारीले बढाएर मूल्य लिन पाउँदैनन् ।’ व्यपारीले अटेर गरे विभाग चुप लागेर नबस्ने आचार्य बताउँछन् ।  

सरकारमाथि व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पिउने पानीको एमआरपी मूल्य तोकेको आरोप लाग्दै आएको छ । प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेका बेला सरकारी निकायले नै मूल्य बढाइदिएपछि बजारमा कार्टेलिङ हुने सम्भावना बढेको थियो । त्यसको परिणाम अहिले देखिएको छ । बजारमा बिक्री भएको पानीको गुणस्तरमाथि पनि प्रश्न उठ्दै आएको छ । पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनले लबिङ गर्दै आएको थियो ।  

विभागले मूल्य निर्धारण गर्न विभागकै निर्देशक सागर मिश्रको संयोजकत्वमा समिति बनाएको थियो । मूल्य निर्धारण समितिले २०७३ सालमा जारको  

मूल्य ६० रूपैयाँ निर्धारण गरिएकाले घटाएर ५० रूपैयाँ एमआरपी मूल्य कायम गरिएको जिकिर गरेको थियो ।

उपत्यकामा मिनरल र जारको पानी उत्पादन गर्ने करिब एक सय ८० उद्योग छन् । यहाँ सामान्य अवस्थामा दैनिक दुई लाख जार पानी बिक्री हुने उद्योगी बताउँछन् । अहिले कोभिडले होटल निकै कम चलेकाले डेढ लाख जार बिक्री भइरहेको बताइएको छ । राजधानीमा बिक्री हुने पानी ललितपुरको गोदावरी, काठमाडौंका मातातीर्थ, चाल्नाखेल, गोंगबु, जोरपाटी र भक्तपुरको झौखेललगायत स्थानमा सञ्चालित उद्योगबाट ल्याइन्छ ।

यता राष्ट्रिय उपभोक्ता मञ्चले अस्वस्थकर खानेपानी उत्पादन गरी बढी मूल्यमा बिक्री गर्ने उद्योगलाई कारबाही गर्न माग गरेको छ । मञ्चले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभागमा उजुरी दर्ता गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका,२०७४ विपरीत उद्योगले पानी बिक्री गरेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘उपभोक्ता संरक्षण ऐनविपरीत पानी उद्योगीले अनुचित रूपमा मूल्य निर्धारण गरेका छन्,’ उनले भने, ‘गुणस्तरहीन र धेरै मूल्य लिएर पानी बिक्री गर्नेलाई कारबाही गर्नुपर्छ ।’

प्रकाशित: २४ आश्विन २०७७ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App