१५ चैत्र २०८० बिहीबार
अर्थ

यतीलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा

वायुसेवा निगम डुबाउने खेल, निर्देशिका नै फेरियो

सरकारले कानुन नै संशोधन गरेर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी यती समूहलाई दिएको छ । हिमालय एअरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको विशेष सुविधा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को डेढ अर्ब आम्दानी गुम्ने भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रीस्तरीय निर्णयबाट नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिइएको हो । यो निर्णय नागरिक उड्डयन प्राधिकरणको अध्यक्षसमेत रहेका पर्यटनमन्त्री भट्टराईले असोज ४ गते गरेका हुन् ।

यती समूहको मुख्य सेयर सदस्य रहेको हिमालय एअरलाइन्सलाई लाभ पुग्नेगरी वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ संशोधन गरिएको थियो । यस कार्यमा पर्यटनमन्त्री भट्टराईको पनि मिलेमतो थियो । त्यही संशोधित निर्देशिकामा टेक्दै उनले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएका हुन् ।  

सरकारले हिमालय एअरलाइन्सका सञ्चालक विजयबहादुर श्रेष्ठलाई संविधान दिवसको उपलक्ष्यमा प्रबल जनसेवाश्री (चौथो) पदकबाट विभूषित गर्ने घोषणा गरेको थियो । त्यसको एक साता नपुग्दै हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति दिएर फेरि पुरस्कृत गरेको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिएका छन् । हिमालय एअरलाइन्स यती समूहको सदस्य हो ।

नागरिक उड्डयन प्राधिकरणले निर्देशिकामा एक सातामा कम्तीमा ३५ पटक नियमित उडान सञ्चालन गर्न अनुमति पाएको वायुसेवा वा वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने वायुयानको सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न सक्ने व्यवस्था राख्दै नेपाल एअरलाइन्सबाहेक अन्य विमान कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने बाटो खुला गरेको थियो ।

निर्देशिकाको दफा ४ मा नियमित उडान गर्ने वायुसेवा वा वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने आफ्नो वायुयानको भूमिीस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा विमानस्थलमा आफैंले सञ्चालन (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न चाहेमा प्राधिकरणको अनुमति लिनुपर्ने उल्लेख छ । प्राधिकरणले सेटिङमा हिमालय एअरलाइन्सलाई सातामा ३५ वटा भन्दा बढी उडान गर्न लगाएर ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको प्राधिकरणकै कर्मचारीको आरोप छ । उनीहरूले नेपाल एअरलाइन्सको दैनिक साढे तीनदेखि चार लाख रुपैयाँ आम्दानी गुम्नेगरी ल्यान्डिङ पार्किङको साढे १० करोड ६४ लाख बक्यौता तिर्न बाँकी रहेको हिमालयलाई मन्त्रीस्तरीय निर्णयबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको भन्दै विरोध गरेका छन् । यो हिसाबले नेपाल एअरलाइन्सले वार्षिक झन्डै डेढ अर्ब आम्दानी गुमाउने निगमका उच्च अधिकारीहरू बताउँछन् ।  

उक्त निर्णयका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत नेपाल एअरलाइन्सबाट प्राप्त गर्दै आएको आम्दानीको १५ प्रतिशत राजस्व गुमाउने भएको छ । एअरलाइन्सले सम्झौताअनुसार प्राधिकरणलाई उक्त राजस्व दिने गरेको छ ।  

मन्त्री भट्टराईको निर्णयले नेपाल एअरलाइन्सलाई थप आर्थिक समस्या उत्पन्न हुने चिन्ता पर्यटन मन्त्रालयका अधिकारीहरूको छ । पहिला सबै एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ नेपाल एअरलाइन्सले गर्दै आएकोमा अब हिमालयले आफैं गर्न पाउँछ । व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मा पनि बिस्तारै हिमालयलाई दिने प्रपञ्च रचिएको पर्यटन मन्त्रालयका अधिकारीहरूको आरोप छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कानुनअनुसार नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको बताए ।  

उनले हिमालय नेपालीको स्वामित्वमा रहेका एअरलाइन्स भएकाले प्रोत्साहन गरिएको बताए । प्राधिकरणले आम्दानीको १५ प्रतिशत राजस्व गुमाउने भए पनि अन्य कुरा हेर्दा हिमालयबाट त्यसभन्दा बढी लाभ लिन सकिने र रोजगारी सिर्जना हुने उनको भनाइ छ । साताको ३५ वटा नियमित उडान नभएको खण्डमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा खोस्न सकिने उनले बताए ।

निर्देशिकाको दफा २० मा भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा प्रदान गर्ने संस्थाले सेवाको सिलसिलामा प्रयोग गर्ने मेसिन, औजार तथा मानवीय त्रुटिबाट हुन सक्ने तेस्रो पक्षको क्षति बेहोर्न तेस्रो पक्षीय बिमा (थर्ड पार्टी लायबिलिटी इन्सुरेन्स) गराई सोको बिमालेख प्राधिकरणमा पेस गर्र्नुर्पछ । यसरी तेस्रो पक्षीय बिमा गराउँदा पहिलेदेखि नै त्यस्तो बिमा गरेको भए सोसमेत गरी समग्रमा अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ५ करोड अमेरिकी डलर तथा आन्तरिक उडानका लागि पाँच करोेड रूपैयाँ हुनुपर्ने व्यवस्था छ । क्याटरिङ सेवा, फ्रेट एन्ड मेल ह्यान्डलिङ÷ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ सेवा, फ्युल एन्ड आयल ह्यान्डलिङ सेवाको हकमा अमेरिकी डलर १० लाखको तेस्रो पक्षीय बिमा गराउनुपर्नेछ भन्ने व्यवस्था राखियो ।  

प्राधिकरणले हिमालय एअरलाइन्सलाई पाँच करोड डलरको तेस्रो पक्षीय बिमाको बिमालेख पछि पेस गर्ने सर्तमा प्रमाणपत्र उपलब्ध गराएको छ । प्रवक्ता क्षत्रीले बिमालेख पछि पेस गर्दा पनि फरक नपर्ने तर्क गरे ।  

यता नेपाल एअरलाइन्सको आधिकारिक ट्रेड युनियनले हिमालयलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्काल खारेज गर्न चेतावनी दिएको छ । प्राधिकरणले हवाई माफियाको निर्देशनमा नेपाल एअरलाइन्सलाई नै बन्द गराउने मनसायले निर्णय गराएको ट्रेड युनियनको आरोप छ । ट्रेड युनियनका संयोजक सुवास डाँगीले विज्ञप्तिमार्फत प्राधिकरणले निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर विदेशी लगानीको निजी वायुसेवालाई दिन सुरु गरेको चलखेल तत्काल बन्द गर्न चेतावनी दिएका छन् । निगमले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) को मापदण्डअनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको दाबी गर्दै उनले हिमालयलाई अनुमति दिएर नेपाल एअरलाइन्सलाई आर्थिक संकटमा पार्न खोजिएको दाबी गरे ।

हिमालयलाई अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङका रूपमा समावेश गराउने र फागुनमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएर नेपाल एअरलाइन्सको अस्तित्व संकटमा पार्ने षड्यन्त्र भइरहेको ट्रेड युनियनको आरोप छ । विदेशी लगानीको निजी कम्पनीलाई पोस्ने र राष्ट्रिय ध्वजावाहक कम्पनी धराशयी बनाउने राष्ट्रघाती निर्णय तत्काल खारेज गर्न युनियनले माग गरेको छ ।

प्रकाशित: १० आश्विन २०७७ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App