१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

उकासियो नेपालीको जीवनस्तर

ऋषिकेश दाहाल, काठमाडौं, साउन २७- एक दशकमा नेपालीको सामाजिक र दैनिक जीवनस्तरमा सुधार आएको छ। केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको दोस्रो नेपाल श्रमशक्ति सर्वेक्षणले नेपालीको उपभोग शैलीमा परिवर्तन आएको देखाएको छ।

सर्वेक्षणअनुसार ५६ प्रतिशत जनसंख्याले विद्युतको उपयोग गर्न थालेका छन्। ठूला जलविद्युतसँगै स्थानीयस्तरमा बनेका लघु जलविद्युत आयोजना र वैकल्पिक ऊर्जाको बढ्दो उपयोगले यसको प्रयोग बढाएको हो। विद्युतसँगै जोडिएर आउने उपकरणहरूको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। सर्वेक्षणले ३३ दसमलव २ प्रतिशत परिवारसँग टेलिभिजन सेट रहेको देखाएको छ। 'विदेशबाट भित्रिने रेमिटेन्सले उपभोग बढाएको हो,' विभागका उपमहानिर्देशक विकास विष्टले भने।२०६४ माघदेखि २०६५ पुससम्म तीन चरणमा १६ हजार परिवारमाथि गरिएको सर्वेक्षण प्रतिवेदनले ५७ दसमलव ९ प्रतिशत घरमा रेडियो रहेको देखाएको छ। स्थानीयस्तरमा २ सयभन्दा बढी एफएम स्टेसन सञ्चालनमा रहेकाले रेडियोको प्रभाव बढेको हो।

दैनिक जीवनलाई सहज तुल्याउने अर्को सञ्चार साधन मोबाइलको उपयोग पनि उल्लेख्य बढेको छ। मोबाइल फोन भएका घरको संख्या २८ दसमलव ३ प्रतिशत छ। मोबाइलका सेवा प्रदायकको संख्या बढी र पहुँच धेरै भएकाले उपयोग बढेको हो। सेवा प्रदायकसँगै मूल्यमा प्रतिस्पर्धा हुँदा मोबाइल फोन न्यून आय भएका नेपालीको पहुँचसम्म पुगेको छ। यसविपरित सामान्य टेलिफोन सेवा उपयोग गर्ने परिवारको संख्या ९ दसमलव ८ प्रतिशतमात्र छ। यस्तो टेलिफोन सहरी क्षेत्रमा मात्र सीमित छ।

सर्वेक्षणले ३ दसमलव १ प्रतिशत परिवारसँग कम्प्युटर रहेको देखाएको छ। यो कार्यालय र व्यवसायिक प्रयोजनका उद्देश्यले खुलेका साइबर क्याफेभन्दा बाहेक हो।

सर्वेक्षणले ८९ दसमलव २ प्रतिशत नेपाली परिवार आˆनै घरमा बस्ने देखाएको छ।

अध्ययनमा समेटिएका परिवारमध्ये ९ दसमलव २ प्रतिशत भाडामा बस्दै आएका छन्। खेतीयोग्य जमीन भएका परिवारको संख्या ७८.४ प्रतिशत छ।

यो अवधिमा सहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति पनि तीव्र भएको छ। तथ्यांकअनुसार ७६ प्रतिशत बसाइँ सर्ने परिवार गाउँबाट सहर पसेका छन्। एक सहरबाट अर्को सहरमा बसाइँ सर्ने परिवारको संख्या १२ दसमलव ८ प्रतिशत छ। 'सुविधा खोज्दै सहर पस्ने प्रवृत्ति स्वभाविक बनेको छ,' विभागका महानिर्देशक उत्तमनारायण मल्लले भने। सर्वेक्षणले बसाइँ सरेकामध्ये १० दसमलव ७ प्रतिशत विदेशबाट नेपाल आएका देखाएको छ। तर, उनीहरू नेपाली वा विदेशी हुन्, अध्ययनले छुट्याएको छैन। 'उनीहरू नेपाली हुन् या होइनन् भन्ने अध्ययनको विषय थिएन्,' विष्टले भने।
घरधन्दामा बढे पुरुष
महिलाको जिम्माजस्तै रहेको घरायसी काममा पुरुषको संलग्नता बढेको छ। घरायसी कामलाई गैर आर्थिक गतिविधि मानिन्छ। यसअन्तर्गत घरधन्दा, बालबालिका र वृद्धवृद्धाको हेरचारजस्ता काम समेटिन्छ। ५ वर्षभन्दा बढी उमेरका ६१ दसमलव १ प्रतिशत परिवारमा एक वा त्योभन्दा बढी सदस्य गैर आर्थिक क्रियाकलापमा संलग्न हुने गरेका छन्। यो संख्या अघिल्लो सर्वेक्षणभन्दा ३ दसमलव ४ प्रतिशतले बढी हो। यस्तो काममा ७ प्रतिशतले पुरुषको सहभागिता बढेको छ। १५ वर्षभन्दा बढी उमेरका पुरुषमध्ये अघिल्लो सर्वेक्षणभन्दा ९ प्रतिशत बढीले घरायसी काम गरेको देखिएको छ। सर्वेक्षणले महिलाको सहभागिता स्थिर रहेको देखाएको छ। घरायासी काममा पुरुषले औशत ५ दसमलव ७ घण्टा र महिलाले २३ दसमलव २ घण्टा समय दिने गरेका छन्। 
यो अवधिमा शैक्षिक अवस्था सुध्रिएको छ। ९ वर्षअघि ४९ दसमलव ८ प्रतिशत रहेको साक्षरता अहिले ६३ दसमलव २ पुगेको छ। पढ्ने महिलाको संख्या अझ माथि पुगेको छ। १० वर्षअघि ३५ दसमलव ८ प्रतिशत रहेको महिला साक्षरता अहिले ५३ दसमलव १ पुगेको छ।

कूल परिवारमध्ये एक तिहाइ परिवारबाट कोही न कोही विदेशिएका छन्। सर्वेक्षणले घटीमा एकजना सदस्य वैदेशिक रोजगारीमा जाने परिवारको संख्या कूल संख्याको २९ दसमलव १ प्रतिशत रहेको देखाएको छ। यसरी विदेसिएकाले हरेक वर्ष आˆनो परिवारलाई औसत ८० हजार रुपैयाँ पठाउँछन्। कामका लागि गाउँ छाडेकाले मुलुकभित्रबाटै वर्षेनी २८ हजार ९ सय रुपैयाँ परिवारसम्म पुर्‍याउँछन्।

गत महिना सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले पनि यसरी भित्रने रकमको ठूलो हिस्सा परिवारको जीवन सहज पार्ने क्षेत्रमा खर्च हुने देखाएको थियो।

विदेसिएकामध्ये सबैभन्दा धेरै रकम पठाउने कतारमा छन्। मुलुक भित्रने रेमिटेन्समध्ये २१ दसमलव ३ प्रतिशत कतारबाट भित्रिएको छ। मलेसियाबाट १९ दसमलव २ प्रतिशत, साउदी अरेबियाबाट १४ दसमलव ९ र भारतबाट १३ दसमलव ४ प्रतिशत रेमिटेन्स भित्रिएको छ। यी बाहेकका मुलुकबाट छरिएर करिब २९ प्रतिशत रकम नेपाल भित्रिएको छ। कुल रेमिटेन्समध्ये विदेशबाट ८३ प्रतिशत र स्वदेशबाट १७ प्रतिशत आएको छ। सर्वेक्षणले ४३ दसमलव ८ प्रतिशत परिवारमा कोही न कोही कामका लागि गाउँबाट बाहिरिएको देखाएको छ।

 

प्रकाशित: २६ श्रावण २०६६ २२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App