१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुस्ताङबाट निकासी हुने भेडाच्याङ्ग्राको संख्या घट्ने, मुल्य बढ्ने

यसपालीको दशैंमा हिमाली जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको संख्या घट्ने निश्चित भएसँगै भाउ महँगिने भएको छ। कोरोना भाइरसको जोखिमसँगै चिनियाँ पक्षबाट नाकामा निकै कडाई गरेको र छिमेकी जिल्लाबाट स्थानीय ब्यापारीले ल्याउन नपाएको र बाहिरी जिल्लाका ब्यापारी समेत सहजै उपल्लो मुस्ताङसम्म पुग्न सकेका छैनन्।

मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्राको संख्या घट्ने र मुल्य समेत बढ्ने ब्यापारीको भनाइ छ। ‘यसपटक हामी मुस्ताङ जान पाएका छैनौ, ‘त्यहाँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ’ खसी ब्यापारी पशुपति सिलवालले भने।

उनले माथिल्लो मुस्ताङका किसान र ब्यापारीलाई म्याग्दीको सिमानासम्म ल्याउन अनुरोध गरेकाले त्यहाँबाट खरिद गरी लैजाने उनले बताए। ‘कोरोनाले ब्यापार घट्ने भएकाले विगतमा जस्तै खरिद गदैनौ, ‘संख्या घटेपनि ढुवानी र अन्य खर्च एउटै भएकाले महँगो हुन्छ’ सिलवालले भने। उनले खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य भएको व्यापारीको भनाइ छ। मुस्ताङबाट ल्याउँदा स्थानीय तहलाई समेत कर तिर्नुपर्ने, ढुवानी लगायतका खर्चका साथै स्थानीय ब्यापारीले समेत भाउ बढाउने गरेको अवस्थामा यसबर्ष एउटै च्याङ्ग्रामा गतबर्षभन्दा ५ देखि ७ हजारसम्म महंगो हुने अनुमान ब्यापारीको छ।  

कोरोनाको जोखिमले सहरबजारमा बसोबास गर्ने समेत गाउँतर्फ लागेको र बजार क्षेत्रमा समेत संक्रमणको जोखिमले केही ब्यापारीले यसबर्ष खरिद नगर्ने सोच बनाएपछि सीमित ब्यापारीले नै विक्री गर्ने सम्भावना देखिएको छ। भेटेनरी अस्पताल एवम् पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले समेत यसवर्ष मुस्ताङबाट कम संख्यामा भेडाच्याङ्ग्रा निकासी हुने भएकाले मुल्य बढ्न सक्ने बताए।  

‘तिब्वतबाट अहिलेसम्म आएको सूचना छैन्,‘संख्या घट्ने भएकाले ब्यापारीले महंगोमा विक्री गर्ने सम्भावना छ’ उनले भने। रोज्जा च्याङ्ग्राको मूल्य ३५ हजारसम्म विक्री भएको जानकारी पाए पनि केन्द्रमार्फत मुस्ताङमा मुल्य र निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणको काम सुरु गरिने प्रमुख कुसुमले बताए। गतबर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएकोमा यसबर्ष करिब ४० प्रतिशतले कमी हुने अनुमान गरिएको छ। हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वत बाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ। 

प्रकाशित: ५ आश्विन २०७७ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App