१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सात महिनादेखि बन्द आन्तरिक उडान आजदेखि खुला

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल देखिने भएको छ। सात महिनादेखि बन्द रहेको आन्तरिक उडान खुला भएसँगै मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमा चहलपहल सुरु हुन लागेको हो।

कोरोना भाइरसको संक्रमणसँगै सुरु भएको लकडाउनले बन्द रहेको आन्तरिकतर्फको नियमित उडान आजदेखि खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूले जनाएका छन्।  

यसअघि भदौ १ देखि आन्तरिकतर्फका उडान खोल्ने तयारी भए पनि विमान कम्पनीहरूले क्षमताअनुसार यात्रु बोक्न नपाउने सरकारी सर्तका कारण उडान रोकेका थिए। तर अहिले चैतअघिको उडान संख्याको तुलनामा २५ प्रतिशतमात्रै उडान सञ्चालनमा आउने जनाइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीका अनुसार यात्रुको चाप भएको क्षेत्रमा उडान भर्ने गरी विमान कम्पनीहरूले अनुमति पाएका छन्।  ‘लामो समयदेखि उडान बन्द रहे पनि संक्रमणसमेत यथावत रहेकाले न्यूनतम उडान भर्ने गरी हाललाई सुरु हुने भएका हुन्,’ उनले भने, ‘असोज १५ सम्म २५ प्रतिशतमात्रै उडान हुने र त्यसपछिको अवस्था अनुसार उडान संख्या थपघट हुन सक्नेछन्।’

पर्यटन मन्त्रालयले जारी गरेको परिपत्रअनुसार आन्तरिकतर्फका विमानहरूले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने वा ५० प्रतिशत मात्रै यात्रु बोक्नेबारे स्पष्ट नरहेको उनको भनाइ छ। स्वास्थ्यसम्बन्धी मापदण्डको उचित पालना गर्दै सोमबारदेखि उडान सेवा सञ्चालनमा गर्न लागिएको र हवाई भाडासमेत साबिककै रहेको उनले बताए।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको भनिएको पर्यटन र उड्डयन क्षेत्र खुलाउन व्यवसायीले यसअघि दबाब दिँदै आए पनि सरकारले उडान नखोल्दा विमान कम्पनीहरूले यात्रुले काटिसकेको टिकटको रकम फिर्ता गर्नुपरेको थियो।

पर्यटनसँग सम्बन्धित करिब तीन दर्जन संघ–संस्थाले साउनमा आन्तरिक उडान खोल्नुपर्ने मागसहित सरकारलाई दबाब दिए पनि सरकारले कोरोनाको संक्रमण देखाउँदै बन्द यथावत राखेको थियो। गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशतसम्म भाडा बढाएर क्षमताको आधामात्रै यात्रु बोक्न पाउने गरी उडान अनुमति दिएको थियो। सरकारको उक्त निर्णय अनुसार भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने भन्दै विमान कम्पनीहरूले उडान रोकेका थिए।  

हाल आएर लामो दुरीका सार्वजनिक यातायातसमेत सञ्चालनमा आइसकेको भन्दै विमान कम्पनीहरूले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरे पूर्ण क्षमतामा सोमबारदेखि उडान भर्ने जनाएका छन्।

सरकारले सुरुमा हिमाली र पहाडी जिल्ला तथा संक्रमणको जोखिम कम भएको क्षेत्रको उडान खोल्ने संकेत गरे पनि हाल आएर यात्रुलाई भौतिक दुरी कायम गराई सुरक्षा सतर्कताका साथ देशका कुनै पनि विमानस्थलमा उडान भर्न सकिने गरी आन्तरिक उडान खोलिएको हो।

पर्यटन मन्त्रालयले आन्तरिक विमान कम्पनीहरूले पूर्ण क्षमतामै उडान भर्न पाउने संकेत दिएपछि विमान कम्पनीहरूले गत शुक्रबारदेखि नै बुकिङ खुला गरेका थिए। अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ।  

वायुसेवा सञ्चालक संघ सम्बद्ध अधिकारीका अनुसार विमान कम्पनी, विमानस्थल र व्यवसायीले आवश्यक मापदण्ड बनाइसकेको र स्वास्थ्य निर्देशिका अनुसार स्वस्थ मानिसमात्रै विमानसम्म पुुग्ने भएकाले महामारी नियन्त्रणमा हवाई उडान प्रभावकारी बन्ने दाबी गरिएको छ।  

संक्रमणको जोखिम कम गर्न देशभरका विमानस्थलमा सामाजिक दुरी कायम राख्दै, मार्किङ, सरसफाइ तथा डब्लुएचओ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तयार पारेको मापदण्ड अनुसार संरचना तयार गरिएको छ। विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षा क्षेत्रका कर्मचारीको, विमानका कर्मचारी र यात्रुले उक्त मापदण्डको आधारमा विमानस्थल प्रवेश पाउने जनाइएको छ। 

प्रकाशित: ५ आश्विन २०७७ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App