१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रिसोर्टमा आउन थाले पाहुना

पोखराको दोबिल्लास्थित निर्मलपोखरी वननजिकैको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा । फाइल तस्बिर

कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।  

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन समालेका कर्मचारी दंग छन् । को हुन् त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना ? रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर भन्छन्, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आइपुगेका छन् । पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न आइपुगेको तुलाधरले बताए ।  

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने वातावरण बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरू बस्न आएका छन्,’ उनले भने, ‘सुरुका दुई दिन पोखराका मात्र पाहुना थिए । तेस्रो रातका लागि काठमाडौंका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारीसाधन भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रूपमा रिसोर्टमा बस्न आइपुगेका छन् ।  

‘६ महिनासम्म घरबाहिर निस्कन नपाएर गुम्सिएका बालबच्चा र अभिभावक अहिले निजी सवारीसाधनमा एक रातका लागि भए पनि घरबाहिर जान खोजिरहेका छन् । उनीहरू यो बेलाका हाम्रा पाहुना हुन्,’ तुलाधरले भने, ‘होटलमा सतप्रतिशत अकुपेन्सी (पूर्ण क्षमतामा सञ्चालन) हुने त होइन । तर केही पाहुना रिसोर्टमा आइपुग्दा हामी चलायमान भएका छौं ।’ पोखरा सहरदेखि झन्डै ६ किलोमिटर टाढा निर्मलपोखरी जंगलछेउको यो रिसोर्ट सहरी कोलाहलबाट टाढा भएकोले पनि पाहुनाका लागि आकर्षक बनेको उनले बताए । ‘हामीले अरू बेला बरु स्थानीय पाहुना पाउँदैनथ्यौं । तर यसपटक स्थानीय पाहुनाको सोधखोज आइरहेको छ,’ उनले भने । ६४ कोठाको यो रिसोर्टले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पूरा गरेकाले पनि पाहुना ढुक्क हुन सकेको उनले बताए ।  

बाराही ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लज पनि असोज १ देखि खुलेको छ । यो लजमा ३० वटा कोठा छन् । सराङकोट माउन्टेन लज पनि खुलेको पहिलो दिनदेखि पाहुनाविहीन हुनुपरेको छैन । बाराही ग्रुपका महाप्रबन्धक राजकुमार केसीका अनुसार पोखराका व्यवसायी, चिकित्सकसहित उच्च घरानियाँ समूहका पाहुना लजमा बस्न उक्लेका छन् । बजारदेखि झन्डै १० किलोमिटर माथि सराङकोट चुचुरोमा यो लज सञ्चालनमा छ । बजारको कोलाहलबाट एक रातका लागि भए पनि मुक्त हुन पाहुना यो बेला डाँडाकाँडाका रिसोर्टमा उक्लेको केसीले बताए ।

लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजेर रिसोर्टमा बस्न पुगेका छन् ।  

‘संक्रमणको यो गतिमा हामीले पाहुना पाउँला भन्ने अनुमान गरेका थिएनौं तर सोचेभन्दा फरक आकारमा पाहुना पाउँदा लज चलायमान बनेको छ,’ उनले भने, ‘मान्छे घरभित्र थुनिएर बस्दा दिक्क भइसकेका थिए ।  

कतिखेर घर छाडौं भन्ने अवस्थामा थिए । सरकारले स्वीकृति दिनासाथ घर छाडेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ ।’  

व्यवसायीका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएकोले अझै केही समय विदेशी पाहुना आउने छैनन् । तर खर्च गर्न सक्ने क्षमताका आन्तरिक पाहुना भने यो बेला पनि घुम्न निस्केका छन् । संंक्रमण कमजोर हुँदै जाने हो भने दसैंसम्म कम आयस्रोत भएका आन्तरिक पाहुना पनि घुम्न निस्कने उनीहरूको अनुमान छ । कम खर्च गर्ने क्षमताका पाहुनाको हिँडडुलमा आर्थिक अवस्थाले केही असर पारे पनि उच्च वर्गका पाहुनाका लागि भने यो बेला घुम्ने अवसर बनिरहेको उनीहरूको भनाइ छ ।  

‘यो बेला सबै तहका आन्तरिक पाहुना आउने होइनन् तर पर्याप्त खर्च गर्ने क्षमता राख्ने पाहुना पनि छन् । उनीहरू यो बेला निस्कन्छन्,’ टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले भने, ‘हुन त पर्यटन क्षेत्र चलायमान हुन सबै तहका पाहुनाको घुमघाम जरुरी छ । तर सार्वजनिक सवारीसाधन चढेर यात्रा गर्नुपर्ने अवस्थाका पाहुना भने यो बेला कमै मात्र घुम्न निस्कन्छन् । निजी सवारीसाधन भएका पाहुनाका लागि भने घुमघाम सहज छ ।’ यो बेला टाढाका गन्तव्यभन्दा नजिकका सहर पहिलो रोजाइमा पर्ने उनले बताए ।  

कोरोना संक्रमणसँगै गरिएको लकडाउनपछि बन्द रहेको टेम्पल ट्री रिसोर्ट अर्काे सातादेखि सञ्चालनमा आउने तयारीमा छ । म्यानेजर आचार्यका अनुसार अहिले स्थानीयसहित काठमाडौंका केही उच्च वर्गका पाहुनाबाट सोधीखोजी सुरु भइसकेको छ । ‘पहिलो चरणमा आउने भनेकै काठमाडौंका घरानियाँ पाहुना हुन् । पाहुनाको आकार एकैपटक माथि उक्लिने हुँदैन । तर घरभित्र बस्दाबस्दा दिक्क भएका नागरिक अब घुम्न निस्कन्छन्,’ आचार्यले भने, ‘आगामी दिनमा पुनः लकडाउन नहुने हो भने दसैंका लागि आन्तरिक पाहुनाको चहलपहल केही थपिन्छ ।’ तत्काल विदेशी पाहुना आउने सम्भावना नभएकाले पनि होटलले केही समय आन्तरिक पाहुना लक्षित गरेर योजना बनाउन जरुरी रहेको उनले बताए ।

पोखराको पाँचतारे होटलका म्यानेजर रोशन खवास संक्रमण बढेको निहुँमा सरकारले पुनः लकडाउन गर्ने त्रास रहेकाले पनि यो बेला एक समूह घर छाड्न हतारिएको बताउँछन् । ‘आगामी दिनमा थप लकडाउन गर्नुनपरे हुन्थ्यो । सधैं खुला हुने हो भने पक्कै आन्तरिक पाहुनाको हिँडडुल सुरु हुनेछ,’ उनले भने । पोखराको एकमात्र पाँचतारे होटल अहिले मर्मतसम्भारमा रहेकाले अक्टोबरदेखि मात्र सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए । सार्वजनिक यातायात खुलेको र हवाई उडान सञ्चालन भएसँगै पाहुनाको आउजाउ बढ्ने सम्भावना रहेको उनको अनुमान छ ।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि होटलले एकैपटक ठूलो आकारमा पाहुना पाउने नभई सानो समूहमा पाउन थालेको बताउँछन् । ‘हामीले यो बेला हुलका हुल पाहुना आउँछन् भनेर सोचेका पनि छैनौं । अहिले त सानो आकारमा मात्र पाहुना पाउने हो,’ उनले भने, ‘ठूलो आकारमा पाहुना आउन त संक्रमण सकिनुपर्छ । सार्वजनिक सवारीसाधनमा आउने पाहुनाको आगमन ढिला हुन्छ । तर निजी सवारीसाधनमा परिवार, साथीभाइबीचको हिँडडुल सुरु भएको छ ।’  

सानो समूहमा पाहुना पाउने भएकाले होटलले त्यही अनुसार योजना बनाउनुपर्ने उनले बताए । ‘सानै आकारमा पाहुनालाई हामीले स्वागत गर्ने हो । एकैपटक ठूलो समुहको अपेक्षा छैन,’ उनले भने, ‘सानो समूहमा पाहुना आउँदा संक्रमणको जोखिम पनि कम हुन्छ । ती पाहुना पनि सुरक्षित हुनेछन् ।’ संक्रमण घट्दै गएमात्र सार्वजनिक सवारीसाधनमार्फत ठूलो आकारमा पाहुना आउने उनले बताए । 

प्रकाशित: ५ आश्विन २०७७ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App