६ कार्तिक २०७७ बिहीबार
अर्थ

१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क

नेपाली अर्थाेडक्स चिया १ सय ५७ वर्षपछि आफ्नै पहिचानमा अन्तर्राष्ट्रिय बजार पुग्ने भएको छ। इलामका ८ सहित देशका १२ उद्योगले पहिलो चरणमा ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ ट्रेडमार्क (लोगो) प्रयोग गर्न पाउने भएका छन्।  

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन्। बोर्डका अनुसार तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन्।  

बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले बोर्डले औपचारिक रूपमा ती उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गर्ने बताए। ‘चियाको राजधानी इलाममा यही असोज १० गतेसम्ममा औपचारिक कार्यक्रम नै आयोजना गरी ट्रेडमार्क हस्तान्तरण गर्ने तयारी छ,’ उनले भने, ‘औपचारिक रूपमा ट्रेडमार्क पाएपछि ती उद्योगले प्रयोगको अधिकार पाउनेछन्।’

४१ उद्योगले आवेदन गरेकामा पहिलो चरणमै १२ वटाले शतप्रतिशत मापदण्ड पूरा गरेको भेटिनु अत्यन्त उत्साहजनक परिणाम भएको उनले बताए। ‘नेपालको चियाबारे अन्तर्राष्ट्रिय बजारमा जुन भ्रम फैलिन खोज्दैथियो, अहिले अर्थाेडक्स चियामा पाएको गुणस्तरले त्यो भ्रम तोड्न गहकिलो जवाफ दिएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा चाहिने मापदण्ड सुरुमै शतप्रतिशत पूरा भएको पाउनु नेपालकै लागि गौरवको विषय हो।’  

सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन्। इलाम नगरपालिकास्थित जस्बिरे टी स्टेट, हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटले पहिलो चरणमा ट्रेडमार्क पाएका छन्।  

ट्रेडमार्क प्रयोग गर्न चियाको  अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन्।

आवेदन दिने बाँकी उद्योगको पनि निर्देशिकाअनुसार गुणस्तर रहेको तर पूर्ण भइनसकेको बोर्डले जनाएको छ। मापदण्डको ९९ प्रतिशत पूरा गरेपनि ट्रेडमार्क दिन नमिल्ने भएकाले मात्रै अरू आवेदकले पाउन नसकेको भट्टराईले बताए। ‘आवेदकमध्ये कसैलाई २ महिना, कसैलाई ४ महिनाको म्याद दिएर बाँकी मापदण्ड पूरा गरी आउन भनेका छौं,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘ट्रेडमार्क सरकारी वा निजी जोसुकै उत्पादकले पाउँछन् तर मापदण्ड चाहिँ पूरा गर्नुपर्छ।’ बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ। र, अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने  प्रावधान छ।  

ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ। निर्देशिकाअनुसार कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ। चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो। यही ट्रेडमार्क २०७४ मा सार्वजनिक गरिएको थियो।  

नेपाली चियाको अन्तिम उत्पादकले ट्रेडमार्क प्रयोग गर्न पाउनेछ। प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै ट्रेडमार्क प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा छ। प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी ४ सर्त निर्देशिकामा व्यवस्था छ। माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ।

निर्देशिकाले हरियोपत्ती उत्पादक, संकलन र ढुवानीकर्ता, प्रशोधनकर्ता, प्याकेजर, वितरकलगायत सामाजिक र वातावरणीय रूपमा सबैले पालना गर्नुपर्ने आचारसंहितासमेत व्यवस्था गरेको छ। उत्पादकले चियाको असर कृषि अभ्यास गर्नुपर्ने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नुपर्ने, २ पात १ सुइरो मात्र टिपेको हुनुपर्ने, नरम बाँझी पत्ती मात्र टिप्न पाइने, प्लास्टिकको जालीदार झोला वा डोकामा मात्र पत्ती टिप्न पाइने व्यवस्था निर्देशिकामा छ। त्यस्तै, उत्पादकले हरियो पत्ती राख्ने सामग्रीमा रासायनिक मलसमेत मिश्रण गर्न नहुने, टिपेको पत्ती ढुवानी गर्नुअघि सितल छहारीमा राख्नुपर्ने, खाँदेर वा थिचेर पत्ती राख्न नपाइने र पत्ती टिपेको बढीमा ८ घण्टाभित्र प्रशोधनस्थलसम्म पु¥याइसक्नुपर्नेलगायत व्यवस्था निर्देशिकाले  गरेको छ।  

पत्ती ढुवानीकर्ताले अन्य वस्तुसँग हरियोपत्ती भण्डारण गर्न नहुने, प्रदूषणमुक्त वातावरणमा मात्रै भण्डारण गर्नुपर्ने, चियापत्ती बोक्ने सवारी साधनसमेत प्रदूषणमुक्त हुनुपर्नेजस्ता व्यवस्थासमेत निर्देशिकामा छन्। प्रशोधनकर्ताले पनि चियाको असल प्रशोधन अभ्यास गर्नुपर्ने, उत्पादकलाई हरियोपत्तीको उचित मूल्य दिएको हुनुपर्ने, कारखानामा पत्ती आइपुग्नेबित्तिकै गुणस्तर जाँच गर्नुपर्ने, ल्याइएको पत्ती कहाँको हो भन्नेसम्म स्पष्ट विवरण राख्नुपर्ने व्यवस्था पनि  यसमा छ।  

ट्रेडमार्कका लागि आवेदन दिने उद्योगले गुणस्तरीय उत्पादन गर्नु अनिवार्य भएकाले नेपाली चियामा गुणस्तर बढेर जाने वातावरण बनेको भट्टराईले बताए। ‘नेपाली उत्पादनमा राष्ट्रिय पहिचान भइसकेपछि उत्पादन आफैं गुणस्तरीय हुन्छ,’ उनले भने, ‘नेपाली तयारी चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउँछ।’ तर सुरुमै आफ्नो देशमा ट्रेडमार्क दर्ता गरेर कार्यान्वयन भएपछि मात्रै अन्य देशमा यसको दर्ता प्रक्रिया अघि बढ्ने उनले बताए। ‘खेती सुरु भएको डेढ सयभन्दा बढी वर्ष बितेपछि नेपाली चियाको न्वारन भएको छ,’ उनले भने, ‘यसलाई संसारभर फैलाउन चिया उत्पादक र बोर्डको प्रयास  सधैं रहिरहन्छ।’

प्रकाशित: ४ आश्विन २०७७ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App