१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

आजबाट कुखुराको मासु २० रुपैयाँ सस्तो

काठमाडौं, कात्तिक २१ (नागरिक) - राजधानीमा कुखुराको मासु एक सातामै किलोमा २० रुपैयाँले सस्तिएको छ। गत बिहीबारदेखि किलोको दुई सय ३० रुपैयाँमा कारोबार भएको कुखुराको भाउ आजदेखि दुई सय १० मा झरेको छ। कुखुरा पाल्ने किसान, मासु बिक्रेता र दाना उद्योगीको संयुक्त बैठकले भाउ घटाउने निर्णय गरेको हो।  
विगतमा राजधानी वरिपरिका धादिङ, नुवाकोट, काभ्रेबाट बढी आपूर्ति हुने कुखुरा यतिखेर तराईबाट आउन थालेको छ। तराईबाट ल्याइएका कुखुरा मासु पसलेले किलोको एक सय ३० रुपैयाँमा पाइरहेका छन्।
व्यवसायीले कुखुरा पाल्ने किसानलाई मंगलबारदेखि किलोको एक सय ५० रुपैयाँमात्र दिने भएका छन्। पिलेट दाना ख्वाएर पाल्ने किसानको लागत प्रतिकिलो एक सय ५० पर्छ भने मास (धुलो) दाना ख्वाउँदा एक सय ६५ पर्छ।
नयाँ भाउले कुखुरा पाल्ने किसानलाई घाटा लाग्ने भएको छ। पिलेट दाना ख्वाउँदा ४० दिनमा दुई किलोको कुखुरा तयार हुन्छ भने मास दाना ख्वाउँदा यो तौल हुन ५५ दिनसम्म लाग्छ।
तराईमा छठ पर्वअघिसम्म मासुको खपत कम हुने व्यवसायीले बताएका छन्। त्यसले गर्दा त्यहाँका कुखुरा पाल्ने व्यवसायीले राजधानीमा आपूर्ति बढाएका छन्।
राजधानीमा व्यवसायीले भने मासुको माग घटेकाले मूल्य घटाइएको बताएका छन्। दसैंअघि प्रतिकिलो दुई सय ४५ रुपैयाँमा कारोबार भएको थियो। केही दिनअघिमात्र भक्तपुरमा बर्डफ्लु रोग देखिएको र त्यसको त्रासले समेत दसैंमा कुखुराको मासु पहिले जस्तो माग नभएको व्यवसायीको अनुभव छ।
व्यवसायीका अनुसार अहिले पूर्बमा झापादेखि पश्चिममा रुपन्देहीदेखि राजधानीमा कुखुरा आपूर्ति भइरहेको छ। तराईको हावापानीमा कुखुरा छिटो हुर्कने र लागत सस्तो पर्छ।
चल्ला पनि सस्तियो
मासुको भाउ घटेसँगै ब्रोइलर चल्लाको भाउ पनि घटेको छ। राजधानीका प्रमुख ह्याचरीले प्रतिगोटा चल्लाको मूल्य ५ रुपैयाँले घटाएका छन्।
'आजदेखि चल्लाको भाउ ३५ रुपैयाँ गरिएको छ,' आशापुरी ह्याचरीका प्रोप्राइटर नारायणहरि खत्रीले भने। भ्याली पोल्ट्री, आशापुरी ह्याचरी लगायत आधा दर्जन ह्याचरीले चल्लाको मूल्य ५ रुपैयाँ घटाएका हुन्।

प्रकाशित: २० कार्तिक २०६९ २१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App