२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दक्षिणकालीका किसानको चिन्ता : नास्पातीले बजार नपाउने हो कि !

दक्षिणकालीका नास्पाती । तस्विर सौजन्य : दिपक लामिछाने

दक्षिणकाली नगरपालिका वडा नम्बर ८ की जमुना आचार्यलाई अघिल्ला वर्षमा आफ्नो बगैंचामा फलेको लटरम्ब नास्पाती बेच्न कुनै समस्या हुँदैन्थ्यो। नास्पातीका ठेकेदार घरआँगनमै आएर नास्पाती खरिद गरेर लैजान्थे। तर, अहिले भने उनलाई आफ्नो बगैंचाको नास्पाती बेचविखन गर्न धौ धौ भएको छ। कोभिड १९ को कारणले विगतका वर्षमा झै ठेकेदार कृषकको घरआँगनमा नास्पाती खरिद गर्न आउन सकेका छैनन्। त्यसको मुख्य कारण हो – कोभिड १९ नियन्त्रणको लागि गरिएको निषेधाज्ञा। उनलाई आफ्नो बगैंचामा फलेको नास्पातीले बजार नपाउने होकी भन्ने समस्याले धेरै दिनसम्म चिन्तित बनायो।  

‘अघिल्ला वर्षमा ठेकेदार घरआँगनमै आएर नास्पाती उठाउने गर्थे। तर, यस वर्ष नास्पाती बोटमै कुहिने होकी भन्ने डर थियो,’ उनले नागरिकसँग टेलिफोनमा भनिन् ‘पाकिसकेको नास्पाती जोगाउनको लागि नगरपालिकालाई गुहायौं। अहिले नगरपालिकाले सामाजिक दुरी कायम गरेरै भएपनि नास्पाती टिप्ने अनुमति दिएको छ। यसले  धेरै राहत भएको छ।’  

दक्षिणकाली नगरपालिकाकी कृषक जमुनाको मात्रै समस्या होइन्, नास्पातीको पकेट क्षेत्रको रुपमा चिनिने दक्षिणकालीका अधिकांश कृषकले भोग्नुपरेको समस्या हो यो। अघिल्ला वर्षमा बारीबाटै ठेकेदारले  नास्पातीको आकार अनुसार ग्रेड छुट्टाएर उपत्यका लगायत तराई र भारतमा समेत नास्पाती बिक्री वितरण गर्थे। नास्पाती फल लागेको तीन महिनाभित्रै बेचविखन नगरे बिग्रिएर जाने गर्छ।  

उनले फल लागेको ३ महिनाभित्र नास्पाती बेचिसक्नु पर्ने बाध्यता रहेकोले पनि स्टोरेजको व्यवस्था नहुँदा कृषकले भनेजति मूल्य पाउन नसकेको बताइन्।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कोरोना महामारीकै बीचमा पनि जनताले उत्पादन गरेको नास्पती खेर नजाने गरी बिक्री वितरण गर्ने वातावरण तयार पारेको बताए। ‘कृषकको बारीमा पाकेको नास्पाती सामाजिक दुरी कायम गरेर टिप्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘बगैंचामै सामाजिक दुरी कायम गर्दै नास्पाती टिप्ने व्यवस्थापन गरेका छौं।’  

नगरपालिकाले सामाजिक दुरी कायम गर्नुपर्ने, अनिवार्य मास्क तथा सेनिटाइजर लगाएर सिमित कामदारले मात्रै नास्पाती टिप्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले कृषकको बारीमा पाकेका नास्पाती टिप्ने अनुमति दिएसँगै नास्पाती टिप्ने कार्य सुरु गरेको नास्पातीका स्थानीय ठेकेदार उत्तम आचार्यले बताए। ‘अघिल्ला वर्षमा भदौं मशान्त अगावै सबै नास्पाती टिपेर सकिन्थ्यो ,’ उनले भने, ‘अहिले त आधा नास्पाती पनि टिप्न सकेका छैनौं।’ नगरपालिकाका अनुसार  अहिले सामाजिक दुरी कायम गरेर ४० जना भन्दा धेरैले नास्पाती टिप्ने काम पाएका छन्। ‘कोभिड–१९ को डरलाई लिएर घर बस्दा धेरै कृषकलाई समस्या पर्ने हुँदा सोही क्षेत्रका कृषकलाई नै नास्पाती टिप्ने जिम्मेवारी दिइएको छ। एकातर्फ सामाजिक दुरी कायम हुने अर्कोतर्फ रोजगारी समेत पाएका छन्।’ दक्षिणकाली नगरपालिका वडा नं ८ साविकको छैमले नास्पातीका लागि प्रशिद्ध छ। अहिले त्यहाँ नास्पाती पाकेर तयारी अवस्थामा छ।  

दक्षिणकालीका स्थानीय बासीको प्रायजसो सबैको घरमा नास्पातीको बोट रहेका छन्। सामान्यतया एक घरमा १० बोटदेखि दुई सय बोटसम्म रहेका छन्। कृषकले सामान्यतया नास्पाती बेचेर ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म कमाउँदै आइरहेका छन्। स्वादका हिसावले पनि नास्पाती निक्कै मिठो र रसिलो हुन्छ। भिटामिन सी र फाइबर हुने भएकाले स्वास्थ्यको हिसाबले निक्कै हितकर मानिन्छ।  

दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काजीकुमार पोखरेलले नास्पातीबाट जाम, जुस, क्यान्डि र वाइन बनाएर बेच्न सकेमा कृषकको जीवनस्तर सुधार्न मद्दत पुग्ने बताए। ‘सरकारले दक्षिणकाली क्षेत्रलाई नास्पाती पकेट क्षेत्र घोषणा गरेकाले  पनि नास्पातीको ब्लक व्यवस्थापन,औजार तथा अन्य कार्यमा सहजीकरण गर्दै आइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा नास्पाती राख्नको लागि कोल्ड स्टोरेजको व्यवस्थापन गरेको खण्डमा तत्कालै बेच्नुपर्ने समस्याबाट किसान मुक्त हुन्थे।’

 

 

प्रकाशित: २६ भाद्र २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App