१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

३० करोड लगानीमा स्याउ खेती

मनाङ एग्रो प्रालिको फार्ममा फलेको स्याउ। तस्बिर: नागरिक

मुलुकमा बर्सेनि अर्बौं रुपैयाँको स्याउ विदेशबाट आइरहेको बेला आयात प्रतिस्थापनका लागि हिमालपारिको जिल्ला मनाङमा मनाङ एग्रो प्रालिले ३० करोड रुपैयाँको लगानीमा स्याउ खेती गरेको छ।  

कम्पनीले ङिस्याङ गाउँपालिकाको भ्राताङमा सात सय ३५ रोपनी क्षेत्रफलमा करिब ६८ हजार स्याउका बिरुवा लगाएका हो। सम्भवतः यो मुलुककै सबैभन्दा ठूलो स्याउ फार्म हो।

स्याउ फार्मका सञ्चालक सांसद पोल्देनछोपाङ गुरुङ हुन्। उनी राजनीतिमा लागेपछि फार्मको रेखदेख तथा सञ्चालन छोरा युवराज गुरुङले गर्दै आएका छन्।  

सन् २०१५ बाट स्याउ रोप्न सुरु गरे पनि पछिल्ला वर्ष व्यावसायिक रुपमा धेरै स्याउ रोपेको युवराजले बताए। उनका अनुसार अहिले फार्ममा ६८ हजार स्याउका बिरुवा छन्। २७ वर्षका लागि जमिन लिजमा लिएर स्याउ खेती गरिएको गुरुङले बताए। ‘व्यावसायिक स्याउ खेती गर्न २७ वर्षका लागि जग्गा लिएका हौं,’ गुरुङले भने, ‘आवश्यकता अनुसार समय थप्दै जान्छौं।’  

बगानमा गोल्डेन डेलिसियस, फुजी जातका स्याउ लगाइएको छ। फार्मले प्रभु बैंकबाट करिब ११ करोड रुपैयाँ ऋण लिएर लगानी गरेको उनले जानकारी दिए। फार्म करिब दुई हजार नौ सय मिटरको उचाइमा छ।  

सात सय ३५ रोपनी क्षेत्रफलमा करिब ६८ हजार स्याउका बोट छन्।  यो मुलुककै सबैभन्दा ठूलो स्याउ फार्म हो।

फार्मसम्म सडक पुगेकाले उत्पादित स्याउ बजार पु-याउन कुनै समस्या छैन। मनाङ, लमजुङको बेसीसहर, काठमाडौं लगायतका बजारमा स्याउ बिक्री गर्ने फार्म सञ्चालक बताउँछन्। ‘स्याउ खोज्दै व्यापारी बगानमा पनि आउँछन्,’ गुरुङले भने, ‘बजारका लागि कुनै समस्या छैन।’ फार्मले स्याउको ग्रेडिङ गरेर बिक्री गर्छ।  

यो वर्ष मात्र करिब ६ सय टन स्याउ फलेको गुरुङको अनुमान छ। ६ सय टनमा ६ हजार क्विन्टल हुन्छ। प्रतिकिलो एक सय ५० रुपैयाँका दरले बिक्री गर्दा एक क्विन्टलको १५ हजार रुपैयाँ पर्छ। ६ हजार क्विन्टलको नौ करोड रुपैयाँ हुन्छ। एक वर्षमै स्याउ बिक्रीबाट करिब नौ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ। स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डमा बिक्री हुन्छ। ‘हिमालयन फ्रेस’ ब्रान्ड विदेशी बजारमा पनि बिक्री गर्ने लक्ष्य रहेको उनले बताए। ‘अहिले स्वदेशी बजारमा बिक्री गरेका छौं,’ उनले भने।

अहिले स्वदेशमा बिक्री गरे पनि निर्यात गर्ने उद्देश्य छ। ‘उच्च कोटीको स्याउ उत्पादन गरेकाले विदेशी बजारमा बिक्री गर्न पनि समस्या हुँदैन,’ उनले भने।

यो वर्ष करिब ६ सय टन स्याउ फलेको छ। बिक्रीबाट करिब नौ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।

फार्मले २९ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। स्याउ टिप्ने सिजनमा भने थप २५ जनाले काम पाउँछन्। फार्म सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारले सहयोग दिएका छन्। सरकारले अहिलेसम्म करिब दुई करोड ६० लाख रुपैयाँ अनुदान दिएको उनले बताए। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको हिमाली परियोजनाले दुई करोड ५० लाख रुपैयाँ सहयोग गरेको थियो। त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्थानीय तहले पनि सघाएका छन्।  

यो वर्ष गण्डकी प्रदेशले स्याउका चार हजार आठ सय बिरुवामा ७० प्रतिशत अनुदान दिएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पनि स्याउ जोनमार्फत सहयोग मिलेको छ। उक्त फार्ममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं पुगेर स्याउ खेती गर्न प्रोत्साहित गरेका थिए। सरकारी निकायबाट सहयोग पाउँदा खेती गर्न प्रोत्साहन मिलेको उनले बताए। विदेशबाट स्याउ आयात विस्थापन गर्ने उद्देश्यले खेती गरेकाले यसले राज्यलाई पनि फाइदा हुने उनको दाबी छ। ‘स्याउ आयात प्रतिस्थापन गर्ने योजना हो,’ उनले भने, ‘यस्ता स्याउ फार्म अरु पनि सञ्चालनमा ल्याउनु पर्छ।’ स्वदेशमा स्याउ उत्पादन बढाउन सके विदेश जाने मुद्रा स्वदेशमा रोकिने उनी बताउँछन्।

माटोको परीक्षण गरेर उपयुक्त भएपछि स्याउ लगाइएको हो। फार्ममा स्याउको जुस र सुकुटी उत्पादन गर्ने कारखाना छ। गुरुङले आधुनिक ढंगले स्याउ खेती गरेका छन्। नेदरल्यान्डमा स्याउसम्बन्धी अध्ययन गरेका युवराजले अहिले बुबाले सुरु गरेको फार्मलाई अघि बढाएका हुन्। सांसद गुरुङ काठमाडौंको ठमेलमा चलिरहेको होटल बिक्री गरेर स्याउ खेतीमा होमिएका थिए। इटाली र सर्बियाबाट उन्नत जानका स्याउ ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए।

स्याउ फार्म अहिले मुलुक कै नमुना सिकाइ केन्द्रका रुपमा विकास भएको छ। यो अन्नपूर्ण पदमार्ग पर्ने मस्र्याङ्दी नदीको किनारमा पर्छ। व्यावसायिक रुपमा स्याउ खेती सुरु गरेपछि अरु स्थानीयले पनि धमाधम स्याउ लगाउन थालेका छन्। स्याउ लगाएको पहिलो वर्ष मै उत्पादन पाइन्छ। गुरुङकै नेतृत्वमा मनाङमै थप तीन सय २० रोपनीमा १५ करोड रुपैयाँ लगानीमा सामूहिक स्याउ खेती अघि बढाइएको छ। सबजे एग्रो प्रालिमार्फत मनाङका सात गाउँका ७३ जनाले सामूहिक फार्म सञ्चालन गरेका छन्। सामूहिक खेतीमा पनि प्रभु बैंकले ऋण लगानी गरेको छ। 

प्रकाशित: २५ भाद्र २०७७ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App