१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बागमती प्रदेशको १२ स्थानमा शीत भण्डार बन्दै

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ विशालटारमा निर्माणधिन शीत भण्डार ।

धादिङको दक्षिणी भेग तरकारीका लागि प्रख्यात क्षेत्र हो। यहाँ उत्पादन भएको तरकारी राजधानी काठमाडौसहित पोखरा चितवन लगायतका शहरहरुमा आपूर्ति हुन्छ। पछिल्लो समय उत्पादित तरकारीले भाउ नपाउने, बिचौलियाका कारण किसानले थोरै मूल्य पाउने र तरकारी बिक्री नभएर कुहाउनु पर्ने समस्या भोग्दै आइरहेको छ। किसानको समस्या समाधानका लागि बागमती प्रदेशले शीत भण्डार निर्माणको कार्य अगाडि बढाएको छ।  

प्रदेश सरकारको सहयोगमा अहिले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ विशालटारमा १ हजार ५ सय मेट्रिक टनको शीत भण्डार निर्माण कार्य सुरु भएको छ। बागमती प्रदेश सरकारको ७ करोड ८७ लाख र कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था धादिङको ३ करोड ३७ लाख लागतमा बनिरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले बताए। ‘किसानको मेहनत खेर जान नदिन शीत भण्डारको कामलाई अगाडि बढाएका हौँ,’ उनले भने, ‘शीत भण्डारले यस क्षेत्र आसपासका करिव ५ हजार किसानलाई प्रत्यक्ष फाइदा पुग्छ।’

किसानले उत्पादन गरेको तरकारी तथा बीउ लामो समयसम्म भण्डारण सुविधाको लागि बागमती प्रदेश सरकारले प्रदेशको १० जिल्लाका १२ स्थानमा आधुनिक शीतभण्डार निर्माणको कार्य गरेको छ। मन्त्रालय र स्थानीय तह÷सहकारीको लागत साझेदारीमा शीतभण्डार निर्माण कार्य थालनी गरिएको हो। मन्त्रालयको ७० प्रतिशत र स्थानीय तह तथा सहकारीको ३० प्रतिशत लागत सहभागीतामा निर्माण कार्य सुरु गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले बताए।  

व्यवस्थित शीत भण्डार नहुँदा किसानका उत्पादनले बजार नपाएको, मूल्य नपाएको, किसानको मेहेनत यसै खेर गएको जस्ता समस्या समाधानका लागि शीतभण्डार निर्माण कार्यको सुरु गरिएको मन्त्रालयका सचिव कार्कीले बताए। ‘शीत भण्डार निर्माण कार्य बागमती प्रदेश सरकारको एउटा ‘ड्रिम प्रोजेक्ट’ हो,’ उनले भने, ‘सुरुमा हामीले अध्ययन ग¥यौँ, हाम्रो प्रदेशमा २५ देखि ३० हजार मेट्रिक टनको शीतभण्डार आवश्यक रहेछ, अहिले धमाधम काम भइरहेको छ।’ अघिल्लो आर्थिक वर्षदेखि साढे १७ हजार मेट्रिक टन क्षमताको निर्माण कार्य सुरु गरेको उनले बताए।

प्रदेश सरकारको ४५ करोड २८ लाख र स्थानीय सहकारी तथा तहको १९ करोड ४० लाख रुपैयाँको लागतमा प्रदेशका सवै जिल्लामा निर्माण सम्पन्न भए पश्चात कुल १७ हजार ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार बागमती प्रदेशमा रहने मन्त्रालयका प्रवक्ता डाक्टर शरणकुमार पाण्डेले जानकारी दिए।

धादिङ र चितवन जिल्लामा निर्माणाधिन शीतभण्डारको काम अन्तिम चरणमा पुगेको छ भने अन्य जिल्लाहरुमा निर्माण कार्य आधा सकिएको छ। आगामी मंसिरसम्ममा धादिङको र चितवन जिल्लाको शीतभण्डार संचालनमा आइसक्ने मन्त्रालयका प्रवक्ता डाक्टर पाण्डेले जानकारी दिए। चालु आर्थिक वर्षभित्र सवै जिल्लामा निर्माण कार्य सकिने गरि काम भइरहेको पनि उनले बताए। ‘पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन यसको संचालन र दिगोपनाको कुरा पनि महत्वपूर्ण हो’ उनले भने, ‘सम्बन्धित स्थानीय तह र सहकारीको साझेदारी रहने र उनीहरुले नै संचालन गर्ने गरि यसको निर्माण भएको छ।’

कृषि प्रधान देशमा कृषि कर्म गर्ने किसानहरुलाई उत्साह जगाउनको लागि र किसानको हितका लागि शीत भण्डार निर्माणका काम सुरु गरिएको बागमती प्रदेश अन्तरगत भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। ‘देशभरिका ७ प्रदेश मध्ये हामीले कृषि क्षेत्रमा उदाहरणीय काम सुरु गरिरहेका छौँ, कृषि मन्त्री दावा दोर्जे लामाले भने, कृषि प्रधान देशका कृषकहरुलाई कृषि कर्ममा उत्साह बनाउने कामको रुपमा यसलाइ अघि सारेका हौ।’  

स्थानीय तहको साझेदारी रहने गरि सवै जिल्लामा यसको निर्माण कार्य सम्पन्न भएपछि प्रदेशले कृषि क्षेत्रमा एउटा ठूलो फड्को मार्ने उनले बताए। शीत भण्डार निर्माणपछि उत्पादित तरकारीहरु कुहिने डरले हतारमा सस्तोमै बेच्नुपर्ने बाध्यताको अन्त्य हुने मन्त्रालयले जनाएको छ। तरकारी सस्तो भएको बेला भण्डारण गरी राख्ने र राम्रो मूल्य पाएको बेला निकालेर बिक्री गर्न सकिने उनले बताए।  

शीत भण्डार निर्माण पश्चात् स्थानीय किसानहरुमा खुसीयाली छाएको छ। आफूले गरेको मेहनतको लागत पनि नउठ्ने भएपछि तरकारी बारीमै कुहिने गरेकाले अवदेखि तरकारीको मूल्य नपाएको र बिक्री नभएको बेला शीतभण्डारमा राख्न पाइने र पछि मूल्य आएको बेला बेच्न पाइने आशा पलाएको किसान रामप्रसाद थपलियाले बताए।

प्रकाशित: २४ भाद्र २०७७ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App