coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पाइपबाट आधा अर्ब लिटर डिजेल आयात

पेट्रोलियम पाइप लाइनको एक वर्ष

नेपाल आयल निगमको अमलेखगन्ज डिपो।तस्बिर: नागरिक

ट्यांकरबाट तेल ढुवानी गर्दा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट आधा अर्ब लिटर डिजेल आयात गरेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट एक वर्षको अवधिमा पाइपमार्फत ५३ करोड ४१ लाख लिटर (पाँच लाख ३४ हजार किलोलिटर) आपूर्ति गरेको हो।

आइओसी र निगमले पाइपलाइन निर्माण सम्पन्न गरेपछि पोहोर भदौ २४ गते पाइपबाट डिजेल आयात सुरु गरिएको थियो। पाइपबाट डिजेल ल्याउन लागेको मंगलबार एक वर्ष पूरा भएको छ। आइओसीबाट एक वर्षमा पाइपमार्फत ५३ करोड ४१ लाख लिटर डिजेल अमलेखगन्ज डिपोमा ल्याएर वितरण गर्न सफल भएको नेपाल आयल निगम प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख भरत रेग्मीले बताए। ‘निगमले सफलतापूर्वक पाइपलाइन सञ्चालनमा ल्याउन सफल भएको छ,’ रेग्मीले भने, ‘पाइपले डिजेल आपूर्तिमा निकै सहज भएको छ।’  

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए। पाइपबाट डिजेल ल्याउन सुरु गरेपछि ढुवानी भाडा बचेको, प्रदूषण न्यूनीकरण भएको, परिमाण र गुणस्तर सुनिश्चित भएको, प्राविधिक नोक्सानीमा कमी आएको र ढुवानीको क्रममा हुने चुहावट रोकिएको निगमले जनाएको छ।

आयल निगमले चार दशकदेखि आइओसीका विभिन्न डिपोहरुबाट सडकमार्ग हुँदै ट्यांकरबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएकोमा पोहोर पाइपबाट तेल ल्याउन सुरु गरेको हो। पाइपबाट डिजेल ल्याउन सुरु गरेपछि कठिन परिस्थितिमा आपूर्ति गर्न सहज भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।  

पाइपबाट ल्याउन थालेपछि परिमाण र गुणस्तर सुनिश्चित भएको, ढुवानी भाडा र समय बचेको तथा प्राविधिक नोक्सानी र चुहावट रोकिएको निगमले जनाएको छ।

कोरोना महामारी कोभिड–१९ को असरले नेपाल र भारत लकडाउन हुँदा ट्यांकर चालक पेट्रोलियम पदार्थ लिन आइओसीका डिपोमा जान डराए। डिजेल पाइपबाट आयात भइरहेकाले आपूर्तिमा अहजता आउन पाएन। ‘पाइप नभएको भए कोभिडमा डिजेलको आपूर्ति व्यवस्थामा निकै कठिनाइ हुन्थ्यो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘पाइपबाट आयात गरेकाले बजारमा अभाव हुन पाएन।’ इन्धन ढुवानीमा पाइपलाइन निकै प्रभावकारी बनेको छ।’

निगमले बजारको आवश्यकता र उपभोक्ताको माग अनुसार पेट्रोलियम पदार्थको आपूर्ति र बिक्री वितरण गर्दै आएको छ। ट्यांकरबाट ढुवानी गर्दा लागत महंगो पर्ने, वातावरण प्रदूषण, ट्राफिक जाम, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने समस्या थियो।  

पाइपबाट डिजेल ल्याउन थालेपछि आपूर्तिमा कुनै अवरोध नभएको पेट्रोलियम डिलर्स एसोसिएसन नेपालका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘पाइपलाइन निर्माण गरेपछि मागका आधारमा डिजेल पाएका छौं,’ प्रधानले भने, ‘पाइबाट पेट्रोल पनि ल्याउने व्यवस्था गर्नुपर्छ।’

निगमको अमलेखगन्ज डिपोमा इन्धन भण्डारण गर्ने पर्याप्त नभएको कारण एक वर्षमा आधा अर्ब लिटर डिजेल आयात गरिए पनि पाइपबाट वार्षिक २० लाख किलोलिटर (दुई अर्ब लिटर) पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ। पाइपलाइन परियोजनालाई दुई चरणमा विभाजन गरेर निर्माण अघि बढाइएको थियो। पहिलो चरणमा डिजेल ल्याउने काम भइरहेको छ।  

दोस्रो चरणमा निगमको अमलेखगन्ज डिपोमा भण्डारणस्थलको क्षमता विस्तार गर्ने काम अघि बढाउने तयारी छ। अमलेखगन्जमा पेट्रोलको भण्डारणस्थल बनाएपछि पेट्रोल पनि ढुवानी गर्न सकिने प्रादेशिक प्रमुख रेग्मीले बताए। ‘४३ सय किलोलिटरका दुईवटा पेट्रोल भण्डारण ट्यांक बनाउने योजनामा छौं,’ रेग्मीले भने, ‘ट्यांक निर्माण भएपछि पाइपबाट पेट्रोप ल्याउने योजना छ।’

पाइपलाइनमा विश्वमा प्रयोग गरिएको अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ। पाइपबाट डिजेल आयात भएपछि भर्टिकल टयांकमा राखिन्छ। त्यसपछि डेन्सिटी टेम्परेचर, गुणस्तर जाँच गरेरमात्र ट्यांकरमा लोड गरेर बाहिर पठाइन्छ। पाइपबाट आएको डिजेल अमलेखगन्ज आसपासका जिल्ला निगमको थानकोट डिपो, पोखरा, भैरहवा लगायत डिपोमा वितरण गरिन्छ। मुलुकमा खपत हुने ठूलो डिजेलको हिस्सा पाइपबाट आयात भइरहेको छ।  

मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने तयारी छ। चितवनसम्म विस्तार गर्न लागि निगम र आइओसीका प्राविधिकले अध्ययन गरेर मोडालिटी तयार गरेका छन्। अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन ६२ किलोमिटर रहेको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App