४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्वसाधारणले नटेरेको प्रशासनको गुनासो: बजारमा निस्फिक्री हिँडडुल

पोखरामा निजी सवारीमा हिँडडुल गर्नेको भीड ।तस्बिर: उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि कास्की प्रशासनले भदौ सुरुदेखि जिल्लाभर निषेधाज्ञा लगायो । त्यो निषेधाज्ञा भदौ १२ गतेपछि केही खुकुलो पनि पा-यो । आवतजावत  कम होेस् भनेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा पनि सार्वजनिक यातायातका साधनलाई भने भदौ २० गतेसम्मका लागि रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक मान्छेको आउजाउ नबढोस् भनेर सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक त लगाइयो, तर बजार पूर्णरूपमा खोल्न दिइयो । यसले कोरोना संक्रमण घटाउन खासै सहयोग गरेको छैन । अत्यावश्यक काममा बाहेक नागरिकलाई बाहिर ननिस्कनू भनेर प्रशासनले उर्दी जारी गर्दा पनि बजारमा कम भीड देखिँदैन । बरु, सबैखाले व्यापार सञ्चालन हु्ँदा नागरिक निस्फिक्री बजार डुलिरहेका छन् । बजारमा किनमेल पनि उत्तिकै चलिरहेको छ ।

आवतजावत नबढोस् भनेर सार्वजनिक यातायातका साधन चल्न रोक लगाए पनि बजार खुल्दा भीडभाड नघटेको र त्यसबाट भाइरस संक्रमणको सम्भावना उत्तिकै बढेको स्वास्थ्यकर्मी बताउँछन् । निषेधाज्ञा लागू गरेपछि सुरुको १० दिनसम्म पोखरा बजारमा यातायात र बजार पूर्ण रूपमा बन्द हुँदा संक्रमण केही कमी आएको देखिए पनि अहिले पुनः पहिलेकै अवस्थामा फर्किने संकेत देखिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा बताउँछन् ।

‘सार्वजनिक यातायातका साधन खुलेको छैन भन्ने मात्र हो, बजारमा भीडभाड उत्तिकै छ,’ शर्माले भने, ‘बजारमा अनावश्यक हिँडडुल गर्ने बानी हटाउन सकिएन । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनू भने पनि नागरिकले अटेर गरेका छन् ।’ अहिलेको बजारको भीडभाडले पोखरा उपत्यकाभित्रको संक्रमणले पहिलेकै गति लिने त्रास रहेको उनले बताए । ‘सार्वजनिक यातायातका साधनमा एउटै सिटमा दुईजना यात्रु चढ्दा बढी जोखिम हुने ठानिएको हो,’ उनले भने, ‘तर अहिले निर्वाध रूपमा निजी सवारीमा नागरिक बजार डुलेका छन् । अनावश्यक काममा पनि  घरबाहिर निस्केका छन् । सबैखाले बजार खुल्दा सर्वसाधारणलाई निस्फिक्री हिँडडुलको माहोल बनेको छ ।’

निषेधाज्ञा लागू गरेपछि सुरुको १० दिनसम्म पोखरा बजारमा यातायात र बजार पूर्ण रूपमा बन्द हुँदा संक्रमण केही कमी आएको देखिए पनि अहिले पुनः पहिलेकै अवस्थामा फर्किने संकेत देखिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा बताउँछन् ।

उनले पनि सार्वजनिक यातायात सँगै बजार पनि बन्द गर्न सकेको भए केही समय संक्रमण कम हुने सम्भावना रहे पनि बजार बन्द हुँदा आर्थिक चलायमान नहुने भएकोले पनि प्रशासनले खुला गरेको बताए । ‘बजार बन्द गर्दा आर्थिक गतिविधि पनि रोकिन्छ । अहिले यातायातलाई मात्र मार परेको छ । तर पूर्ण रूपमा बजार बन्द हुँदा सबैतिरको आर्थिक गतिविधि पनि रोकिने हुँदा त्यसले झनै अप्ठेरो अवस्था ल्याउँछ,’ उनले भने, ‘बरु यस्तोमा नागरिक आफै सचेत हुनुपर्ने हो । अनावश्यक भीडभाडमा जाने वा नजाने भनेर नागरिक आफैं सचेत हुनुपर्छ । तर यहाँ अटेर बढी हुने गरेको छ ।’  

सबैखाले बजार खुलेकोले पनि मानवीय हिँडडुल उत्तिसारो रोकिन नसकेको व्यवसायी बताउँछन् । प्रशासनले सार्वजनिक यातायातलाई मात्र अर्घेलो देखेर रोक लगाउने, तर, बजार भने पहिलेकै आकारमा खुल्न दिँदा मानवीय हिँडडुल कम हुन नसकेको यातायात व्यवसायीको भनाइ छ । पृथ्वी राजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्र केसी भन्छन्, ‘बजारमा सार्वजनिक सवारी मात्र नगुडेका हुन्, मान्छेको आउजाउ रोकिएको छैन । बिहानदैखि बेलुकीसम्म बजारमा भीडभाड रहेको छ । चियादेखि भट्टी पसलसम्म खुला छन् । यातायात मात्र बन्द हो, अरू सबैतिर खुलमखुला छ ।’

अध्यक्ष केसीले सार्वजनिक सवारी रोकेर मात्र संक्रमण रोकिने अवस्था नआउने बताए । ‘अहिलेको निषेधाज्ञा सुरु हुनुभन्दा पहिला केही दिन सार्वजनिक यातायात चल्दा बजार पनि चलायमान भएको थियो । अहिले सार्वजनिक सवारी रोक्दा पनि बजारको चलहपहल उत्तिकै छ,’ केसीले भने, ‘बजारमा निजी सवारीको भीड घटेको छैन । बन्द छ, केबल सार्वजनिक सवारी मात्र हो ।’ मान्छेको हिँडडुल नरोकिँदा संक्रमणको त्रास उत्तिकै रहेको उनले बताए ।

‘अनावश्यक व्यवसाय पनि खुलेको छ । बिहानदेखि बेलुकीसम्म भीडभाड हुने होटल पनि खुलेका छन । तर यातायात क्षेत्र मात्र बन्द गरिएको छ,’ उनले भने, ‘सार्वजनिक यातायात क्षेत्रलाई मात्र अर्घेलो देख्ने काम भएको छ । निजी सवारीको भीडभाड र बजारमा अनावश्यक हिँडडुलमा रोक्न सकेको भए बल्ल संक्रमण कमी हुन्थ्यो ।’ प्रशासनले यात्रुबाहक सार्वजनिक सवारी साधनलाई भदौ २० गतेसम्मका लागि सञ्चालनमा रोक लगाएको छ भने ट्याक्सी र निजी सवारी साधन भने जोर–बिजोर प्रणालिमा सञ्चालन गर्न प्रशासनको निर्देशन छ । यस्तै अवस्था रहिरहे यातायात व्यवसायीले आन्दोलन गर्ने समेत उनले बताए । सडकमा हिडेका व्यक्तिलाई कुन कामले हिँडडुल गरेको भनेर सोध्ने निकाय नै मौन बसेको उनले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल बजारको संक्रमण गाउँसम्म नफैलियोस् भनेर सार्वजनिक सवारी रोक लगाइएको भएपनि बजारमा भने उत्तिकै भीडभाड रहेको बताए । ‘बजारमा अनावश्यक कामका लागि मान्छे निस्केका छन् । सर्वसाधारणले नै अटेर गरेको देखिन्छ,’ ढकालले भने, ‘हामीले त आर्थिक चलायमान केही रूपमा होस् भनेर बजार खोल्ने अनुमति दियौं । तर जनताले अटेर गरेका छन् ।’ बजारमा अरूबेला जस्तै सर्वसाधारण निस्फिक्री हिँड्ने गरेको उनले बताए । ‘अब त व्यापारी पनि सचेत हुनुको विकल्प छैन । सुरक्षाका उपाय व्यवसायी र नागरिक सबैले अवलम्बन गर्ने हो भने संक्रमण कमी हुन्छ,’ ढकालले भने, ‘सर्वसाधारण आफैं सचेत नभएसम्म यो समस्या समाधान हुँदैन । जनताले अटेर गरेका छन ।’

सार्वजनिक यातायात सञ्चालन नहुदा सहरमा सीमित संक्रमण गाउँमा पुग्नमात्र रोकिएको उनले बताए । ‘गाडी चल्दा गाउँबाट मान्छे बिनाकाम पनि सहर झर्थे, अहिले त्यही आउजाउ रोकिएको हो,’ उनले भने, ‘तर बजारभित्रको अनावश्यक हिँडडुल कमी छैन । म आफैं बजारतिर अनुगमनमा निस्कँदा जनता निस्फिक्री हिँडेको देख्छु । अब जनता आफैं सचेत हुनुको विकल्प छैन ।’

प्रकाशित: १८ भाद्र २०७७ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App