१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डले मुलुकका पाँच प्रदेशमा शाखा खोल्ने

कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आन्तरिक पाहुनाको स्वागत गर्दै आमा समूह। तस्बिरः अमृत भादगाउँले

नेपाल पर्यटन बोर्डले मुलुकका पाँच वटा प्रदेशमा शाखा कार्यालय खोल्ने भएको छ। त्यसका लागि आर्थिक वर्ष २०७७÷२०७८ को बजेटमा उसले १ करोड ७० लाख रुपैयाँ छुट्टयाएको छ।  

बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा भएकाले बागमती प्रदेशलाई केन्द्रले नै हेर्नेछ भने गण्डकी प्रदेशको राजधानी पोखरामा पहिले नै शाखा भएकाले बाँकी ५ प्रदेशमा मात्र शाखा खोलिनेछ।    

बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार यही आर्थिक वर्षभित्र प्रदेशहरूमा शाखा बिस्तार गरिनेछ। त्यसका लागि बोर्डले प्रबन्धकको नेतृत्वमा अर्का एक कर्मचारी खटाउनेछ। तिनको तलब बोर्डले खुवाउनेछ भने कार्यालय कोठा र फनिर्चरको व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरिनेछ। 

‘हामी हरेक प्रदेशको ब्राण्डिङ, अनुसन्धान, विकास र नेटवर्किङ गर्न मद्धत गर्नेछौं’, नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भने, ‘मोफसललाई केन्द्रसँग जोड्नेछौं।’  

‘हामी आन्तरिक होमवर्क गरिरहेका छौं। चाँडै नै प्रदेश सरकारहरूसँग समन्वय गरेर कार्यालय खोल्नेछौं’, बरिष्ठ निर्देशक ऐरले भने, ‘हाम्रा शाखा कार्यालयहरूले प्रदेश सरकार, स्थानीय नगरपालिका र गाउँपालिकासँग सहकार्य गरेर काम गर्नेछन्।’  

प्रदेश कार्यालयले गन्तव्यहरूको अनुसन्धान, पहिचान, विकास र प्रचारमा स्थानीय तहसँग सहकार्य गर्नेछन्।  

‘पूर्वाधार विकासका काम प्रदेश सरकारले हेरोस्। प्रवद्र्धन र मार्केटिङ गर्ने काम बोर्डले गर्नेछ’ बोर्डका कार्यकारी समिति सदस्य दिपक महत भन्छन्, ‘बोर्डका शाखाहरूमार्फत प्रदेश सरकार र पर्यटन बोर्ड केन्द्रबीच समन्वय हुनेछ। यसबाट पर्यटन विकासमा टेवा पुग्नेछ।’  

शाखा कार्यालयहरूले पदेश सरकार, नगरपालिका र गाउँपालिकासँग हातेमालो गर्नेछन्। साथै बोर्ड केन्द्रको समन्वयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मेला तथा सम्मेलनमा प्रदेशका प्रतिनिधिलाई सहभागी गराइनेछ।  

‘हामी हरेक प्रदेशको ब्राण्डिङ, अनुसन्धान, विकास र नेटवर्किङ गर्न मद्धत गर्नेछौं’, बरिष्ठ निर्देशक ऐरले भने, ‘मोफसललाई केन्द्रसँग जोड्नेछौं।’  

एक्काइस वर्ष अघि पब्लिक, प्राइभेट पार्टनरसिपको अबधारणामा स्थापित बोर्डले भारतसँग सीमा जोडिएका रुपन्देहीको बेलहिया, झापाको काकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीमा सूचना केन्द्र सञ्चालन गर्दै आएको थियो। विगत केही वर्षदेखि बेलहिया केन्द्र बन्द गरिएको छ।  

‘हामी पर्यटक आवागमन हुने सबै नाकामा सूचना केन्द्र पनि सञ्चालन गर्नेछौं’, बरिष्ठ निर्देशक ऐरले भने, ‘यसले मुख्यतः भारतीय पर्यटकलाई आवश्यक जानकारी र सुविधा लिन सजिलो हुनेछ। साथै हामीलाई पर्यटकको तथ्याङ्क राख्न सघाउ पुग्नेछ।’  

प्रदेश कार्यालय गठनसँगै एक प्रदेशदेखि अर्को प्रदेशमा आन्तरिक पर्यटक बढाउन समेत सहयोग पुग्ने आशा गरिएको छ। आन्तरिक पर्यटन बढाउन सरकारले शनिबार र आइतबार सातामा दुई दिन सार्बजनिक बिदा दिनुपर्ने बरिष्ठ निर्देशक ऐरको भनाई छ।  

प्रकाशित: १६ भाद्र २०७७ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App