१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लुबुचे र मनास्लु चढ्न बहराइनका राजकुमार आउँदै

विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।  

आइतबारको मन्त्रिपरिषद् बैठकले लुबुचे र मनास्लु हिमाल आरोहणको लागि राजकुमारको टोलीलाई चार्टर्ड उडानमार्फन नेपाल आउन दिने निर्णय गरेको हो । राजकुमारको नाम भने सरकाले सार्वजनिक गरेको छैन् ।

स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी राजकुमारको करिब ४० जनाको टोली आगामी सेप्टेम्बर १५ पछि नेपाल आउनेछ । सरकारी निर्णयमा भने उक्त टोलीमा १८ जना सदस्य रहने बताइएको छ ।

स्वास्थ्यकर्मी सहितको उक्त टोलीमा बहराइनका साथै ब्रिटिस नागरिक पनि रहने छन् । राजकुमार नेपाल आएपछि हायात होटलमा बस्ने बुभिएको छ । हाल होटल बन्द अवस्थामा छ । उनी आउँदासम्म हायात बन्दै रहे मेरियटमा बस्न सक्ने बताइएको छ ।  

उक्त टोलीको आरोहण व्यवस्थापन सेभेन समिटले गर्नेछ । सरकारले भदौ १ देखि हिमाल आरोहणका लागि खुला गरेको छ । तर यसअघि हिमाल आरोहणकै लागि महिनौं पहिले अनुमति लिएका दर्जनौं आरोही आरोहण क्षेत्रमा पुगिसकेको बेला अन्तर्राष्टिय उडान बन्द हुन थालेपछि त्यत्तिकै फर्किएका थिए । यसअधि लाखौं रकम खर्च गरेर नेपाल आएका आरोहीले पर्यटन विभागलाई हिमाली दस्तुर तिरेर अनुमति लिएका थिए । अनुमति पाएर हिमाल चढ्न नपाएकोको हकमा भने कुनै निर्णय भएको छैन । जानकारी अनुसार राजकुमारको टोलीको आरोहण दस्तुरसमेत सरकारले मिनाहा गरेको छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार राजकुमारले नेपालको हिमाल चढ्न पहिलेदेखि नै चासो देखाउँदै आएकाले विश्व समुदायमा उच्च तहको व्यक्तित्वबाट आरोहण हुँदा अन्तर्राष्ट्रिय समुदायमा नेपालका हिमालहरू सुरक्षित रहेको सन्देश जाने भएकाले सरकारले अनुमति दिएको हो ।

उक्त टोलीको आरोहण व्यवस्थापन उचित किसिमले गर्न सके नेपालको पर्यटन प्रवद्र्धनमा योगदान हुने उनको भनाइ छ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य संक्रमणको समय भए पनि राजकुमारको टोली स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित नेपाल आउने भएकाले सरकारले अनुमति दिएको बताउँछन् ।

उक्त टोलीमा आउने सबैको पीसीआर अनिवार्य हुने, नेपाल आएपछि पनि पुनः परीक्षणसहित होटल क्वारेन्टिनमा बस्ने र उच्च सुरक्षा प्रबन्ध रहने आचार्यको भनाइ छ ।  

राजकुमारको टोली संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत नै नेपाल आउने र पर्वतारोहण सम्बन्धी कानुनअनुसार नै आरोहण गर्ने उनको भनाइ छ ।

दैनिक ८ सयसम्म यात्रु आउने
सरकारले यसअघिको निर्णय सच्याउँदै विदेशबाट दैनिक आठ सय नेपाली आउन दिने निर्णय गरेको छ । यसअघि दैनिक पाँच सयलाई आउन दिने निर्णय थियो । अब पर्यटन मन्त्रालयले क्वारेन्टिनको व्यवस्थापन गर्ने गरी उनीहरूलाई आउन दिइने छ ।  

साथै सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपाली (एनआरएन)लाई समेत आंशिक अनुमति दिने निर्णय गरेको छ । एनआरएनका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगको सिफारिसमा एनआरएनलाई नेपाल आउन दिने निर्णय भएको हो ।

पिसिआर रिपोर्ट नहुने र नियमित उडान नखुलेका देशबाट कम्पनी स्वयंले टिकट काटेर नेपाल पठाउन चाहेमा वा कामदार आफैंले टिकट काटेर स्वदेश फर्कन चाहेमा समेत सरकारले नेपाल आउन अनुमति दिनेछ । मन्त्रिपरिषद् बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: १६ भाद्र २०७७ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App