७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने

मुस्ताङको मार्फास्थित बगैंचमा फलेको स्याउ। फाइल तस्बिरः नागरिक

स्याउको पकेट क्षेत्र मुस्ताङमा यो वर्ष यसको उत्पादन घट्ने देखिएको छ। स्याउ फुल्ने बेलामा पानी परेपछि पोलिन नामको तत्व पखालिएको (पोलिन वास) उत्पादन कम हुने शितोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ। पोलिन वास भएपछि ‘पोलिनेसन’ कम भई उत्पादन घट्ने विज्ञ बताउँछन्।  

चैतमा स्याउको फूल फुल्छ। फूल फुलेको बेला हिउँ परेपछि स्याउ उत्पादन कम हुने केन्द्रले जनाएको छ। स्याउ उत्पादन कम हुने तेस्रो कारणमा दादे रोग देखिएको केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले बताए। ‘टुकुचे, झोङ, पुरानो मार्फा लगायत ठाँउमा दादे रोग देखिएको छ,’ उनले भने, ‘रोगकै कारण उत्पादन कम हुन्छ।’ उनका अनुसार स्याउ एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने समेत हुने गर्छ।  

मुस्ताङको टुकुचे, मार्फा, ठिनी, मुक्तिनाथ, झोङ, ताङ, फलेक, चैले, कागबेनी लगायत क्षेत्रमा स्याउ उत्पादन छ। ‘बागवानीकै चारवटा ब्लकमा समेत यो वर्ष उत्पादन कम हुने देखिएको छ,’ उनले स्पष्ट पारे। मुस्ताङमा स्थानीयसँगै जापानी फुजी स्याउ समेत थोरै मात्रामा उत्पादन हुने गरेको बागवानी विकास केन्द्रले जनाएको छ। पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउको बगैंचा विस्तार सुरु गरिएको छ। बेर्ना उत्पादन र स्याउमा देखिएको समस्याको बारेमा स्थानीय किसानसँग समन्वय हुँदै आएको छ।  

स्याउको फूल फुल्ने बेला पानी पर्दा त्यसको पोलिन नामको तत्व पखालिँदा उत्पादन प्रभावित हुने शितोष्ण बागवानी विकास केन्द्रको भनाइ।

यो वर्ष पोहोरभन्दा २५–३० प्रतिशत उत्पादन कम हुने सम्भावना छ। गत वर्ष मुस्ताङमा ६ हजार टन स्याउ उत्पादन भएको राष्ट्रिय फलफूल विकास केन्द्र (स्याउ जोन क्षेत्र)को तथ्यांकले देखाएको छ। स्याउसँगै यसका बेर्ना समेत उत्पादन हुँदै आएको छ। मुस्ताङको ब्रान्ड बनेको स्याउ सहज यातायात सुविधाले स्वदेशी बजार मात्रै नभई विदेशमा समेत कोसेलीको रुपमा समेत जाने गरेको छ।  

बागवानी केन्द्रले २५ हजार वार्षिक बेर्ना उत्पादन गर्ने गरेको उनको भनाइ छ। ‘निजी क्षेत्रले पनि व्यावसायिक उत्पादन गरेका छन्। निजी क्षेत्रले १० देखि १५ हजार बेर्ना उत्पादन गर्ने गरेका छन्’ उनले भने, ‘उत्पादित बेर्ना मुस्ताङको लागि पर्याप्त हो। अन्य जिल्लामा समेत पठाइन्छ।’ मुस्ताङको मागलाई निजी व्यावसायीक नर्सरीले धान्दै आएका छन्। ‘बेर्ना उत्पादनको लागि बढी खटिनुपर्ने भएकोले पनि स्थानीय बासिन्दा बेर्ना उत्पादनमा त्यति सारो आकर्षिक छैनन्,’ उनले भने।  

स्याउ गण्डकी प्रदेशको मुस्ताङसँगै मनाङ र बाग्लुङको ढोरपाटन क्षेत्रमा समेत उत्पादन हुने गरेको छ। विशेष गरी स्याउ दुई हजार मिटर उचाइको क्षेत्रमा उत्पादन हुने गरेको शितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख अधिकारीले बताए। राष्ट्रिय फलफूल विकास केन्द्रमा स्याउको बेर्नाको माग अनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ थियो।  

‘फलफूल विकास केन्द्रमा किसानले माग गर्छन्। हामीले उपलब्ध गराउँछौं,’ उनले भने, ‘माग बढी छ, तर बेर्ना उत्पादन कम छ।’ बेर्ना उत्पादनको लागि फार्मको जग्गा कम छ। जग्गाकै अभावका स्याउको बेर्ना उत्पादन बढाउन नसकिएको कार्यालय प्रमुख अधिकारीको भनाइ थियो। बेर्नाको सरकारी मूल्य ७० रुपैयाँ पर्छ। मुस्ताङमा विशेष गरी रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस लगायत स्याउ उत्पादन हुने गरेको छ।  

उपल्लो मुस्ताङमा स्याउको बगैंचा विस्तार गरिएको छ। हिउँ मात्रै पर्ने उपल्लो मुस्ताङमा (स्याडो रेन जोन) पछिल्लो समय पानी समेत पर्न थालेको छ। मुख्यमन्त्री वातावरणीय नमूना कृषि कार्यक्रम अन्तर्गत नै लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र दामोदर कुण्ड गाँउपालिकाको घमीमा झण्डै १० हजार स्याउको बिरुवा रोपिएको स्थानीयबासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए।  

उनका अनुसार लोमान्थाङको डिही, ताङ्वे, चराङ, यारा, घारा, नराङ लगायत ठाँउहरुमा गत आर्थिक वर्षमा स्याउका बिरुवा रोपिएको छ। पुरानो बिरुवाले भने उत्पादन समेत दिन थालेको उनको भनाइ छ। ‘इटालियन स्याउको बेर्ना समेत रोपिएको थियो। तर मुस्ताङी स्याउको ब्रान्डलाई कायमै राख्न स्थानीय जातकै स्याउको बेर्ना रोपिएको छ,’ उनले भने। जलवायु परिवर्तनको असरकै कारण उच्च हिमाली क्षेत्रको तापक्रम बढ्दै गएकोले उपल्लो मुस्ताङको विभिन्न ठाँउमा स्याउको बेर्ना गत वर्ष रोपिएको प्रदेश सदस्य विष्टले सुनाए।  

 

 

 

 

 

प्रकाशित: १४ भाद्र २०७७ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App