१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गुणस्तरहीन जगदम्बा डण्डी बिक्रीमा बन्देज

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्रीवितरणमा रोक लगाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको हो।

जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्रीमा रोक लगाउनुपरेको विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गरेका थियौं। मापदण्ड अनुसार नभएपछि बिक्रीमा रोक लगाएका छौं।’

उक्त व्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको महादिर्नेशक पुडासैनीले बताए। ‘बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउन भनेका छौं,’ उनले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका रड फिर्ता लिनुपर्नेछ।

विभागले कम्पनीलाई १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पनि भनेको छ। ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसारको कारबाही किन नगर्ने ? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि सही कार्यसहित विभागमा पेस गर्नू,’ विभागले लेखेको स्पष्टीकरण पत्रमा उल्लेख छ।

उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो। कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले उक्त परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा उल्लेख छ।

जगदम्बा स्टिल प्रालिले फलामका डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्रीवितरणमा रोक लगाउनुपरेको हो। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि परीक्षण गर्दा मापदण्ड अनुसार नभएपछि बिक्रीमा रोक लगाएका छौं।’

जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै पाइएको छ। सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो। डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो। डण्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो। स्पष्टीकरण चित्तबुझ्दो नभए विभागले थप कारबाही अघि बढाउने र उद्योगको इजाजतसमेत रद्द गर्न सक्नेछ। चित्तबुझ्दो जबाफ आए सुधारको अवसर पनि दिन सकिने विभागले जनाएको छ।

फलामको डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको हो।

जगदम्बा स्टिलका उत्पादन विगतमा पनि पटकपटक प्रश्न उठेको थियो। समस्या आएका ठाउँमा कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डण्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिनेगरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको छ । बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन कम्पनीले दिएको छ।

जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कवाडी फलाम संकलन र प्रशोधन गरी रड बनाउने गरेका छन्। जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ ।

कवाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलोपटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा वेस्टेज कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ । नेपालका अधिकांश स्टिल उद्योगले सेकेन्डरी ब्लेड प्रयोग गर्दै आएका छन् ।

अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन् । केही स्टिल उद्योगले नेपालभित्रै कवाडी फलाम संकलन र प्रशोधन गरी प्रयोग गर्दै आएका छन् । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं प्रशोधन गरी ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा प्रशोधन गरेको ब्लेड किलोमा तीन रूपैयाँ सस्तो पर्ने उद्योगी बताउँछन् ।

नेपालमा सञ्चालित स्टिल उद्योगले नयाँ प्रविधि भित्राएर गुणस्तरीय रड उत्पादन गरिरहेको अवस्थामा नाम चलेकै उद्योगबाट गुणस्तरमा खेलाँची गर्नु गम्भीर त्रुटि हो। शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको हो । यसका सञ्चालक साहिल अग्रवाल हुन्। यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन्  । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

प्रकाशित: १४ भाद्र २०७७ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App