९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनले सामग्री नेपालसम्मै ल्याइदिने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको पनि अब केही सहज हुने भएको छ । कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्मै ल्याइदिने बताएको छ । नेपालतर्फको खुला स्थानमा सामग्री झार्न चिनियाँ टोली सहमत भएको हो । मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार ६ महिनादेखि सामग्री गोदाममा अड्किएको तर सामग्रीको आयात न्यून भएको छ ।  

नेपाली पक्षले आयातमा भएको समस्या र गोदाममा सामग्री अड्किएको बताएपछि चिनियाँ पक्षले सामग्री आयातमा सहज बनाउने बताएको उनले बताए । ‘नाका सञ्चालनमा आए पनि सामग्री आयातमा समस्या हुँदै आएको थियो,’ उनले भने, ‘यसलाई सहज बनाउन हामीले आग्रह गरेका हौं ।’ चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री झारिदिने र नेपाली कन्टेनरको संख्या पनि बढाउने सकिने बताएको छ । गत माघअघि नेपाली कन्टेनर पाङसाङसम्म पु¥याएर सामग्री लिएर आउने गरेका थिए ।  

शुक्रबारदेखि आयातको सम्भावना  
गत साउन ३२ गते आएको पहिरोका कारण अवरुद्ध भएको चीनतर्फको सडक आउँदो शुक्रबारसम्ममा खुल्ने सम्भावना रहेको चिनियाँ अधिकारीले बताएका छन् । रसुवागढी–केरुङ सडकखण्डअन्तर्गत ठोङ्सामुनि रहेको घुम्तीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । चिनियाँ टोलीले १० दिनदेखि पहिरो पन्छाउने काम गरिरहेको छ । जिल्लाभरि नै कोरोना भाइरस फैलिएको भ्रामक सूचना चिनियाँ पक्षमा पुगेका कारण नाकामा रहेका नेपाली कामदारको पिसिआर जाँच गर्न चिनियाँ पक्षले आग्रह गरेको थियो ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: १० भाद्र २०७७ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App