६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नियमित उडानमा पर्यटक आउन नपाउने

सरकारले भदौ १६ देखि सर्तसहित नियमित उडान सञ्चालनमा ल्याउने तयारी गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणले आवश्यक तयारी थालेका छन् ।

सरकारले सहज पिसिआर परीक्षण भएका मुलुकबाट दैनिक पाँच सयमा नबढ्ने गरी नियमित उडान सञ्चालनमा ल्याउन तयारी थालेको हो । कोभिड परीक्षण सहज भएका मुलुकहरू युएई, मलेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, चीन, जापान, हङकङ, अस्ट्रेलिया, अमेरिका तथा युरोप लगायत मुलुकबाट आउने नेपाली, कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलाई मात्रै आउन दिने गरी सरकारले नियमित उडानको तयारी थालेकोे हो । नियमति उडानमार्फत विदेशी पर्यटकले भने नेपाल प्रवेश पाउने छैनन् ।

पाँचौं चरणको उद्धार उडान सुरु भएको पहिलो दिनमै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले गत मंगलबारदेखि विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेपछि हाल उद्धारका उडान बन्द छन् ।  

सिसिएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न आग्रह गरेसँगै खाडीका नेपालीलाई सरकारले उपेक्षा गरेको भन्दै आलोचना भएको थियो । यसैबीच, सर्तसहित नियमित उडान खोल्ने तयारी भइरहेको छ । अब नियमित उडानमार्फत नेपाल आउनेले राजधानीभित्रैका होटल क्वारेन्टिनमा कम्तीमा सात दिन अनिवार्य बस्नुपर्ने पर्ने र त्यसपछिका १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।  

हाल सरकारले गरिरहेको तयारी अनुसार होटल बसाइको खर्च यात्रुले नै बेहोर्नुपर्ने छ । नेपाल आएपछि सात दिनसम्म होटल क्वारेन्टिन होटलमा बस्ने लिखित प्रतिबद्धता भने यात्रुले विदेशमा टिकट लिँदा गर्नुपर्ने छ ।

उक्त सरकारी तयारीसँगै प्राधिकरणले उडान तालिका बनाइरहेको छ । त्यस्तै, पिसिआर परीक्षण सहज नभएका मुलुकबाट भने सरकारले पुनः उद्धार चार्टर्ड उडान उडान गर्ने तयारी गरिरहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार चार्टर्ड उडानको भने छुट्टै उडान तालिका सार्वजनिक गर्ने तयारी छ ।

हाल उपत्यकाभित्र क्वारेन्टिन र आइसोलेसन सेन्टरको पर्याप्त व्यवस्था नभएको भन्दै सरकारले गृहसचिवको संयोजकत्वमा एकीकृत क्वारन्टिन निर्माण व्यवस्थापन समितिसमेत निर्माण गरिसकेको छ । क्वारेन्टिनको सुरक्षा नेपाली सेनाले गर्नेछ भने व्यवस्थापनको काम स्थानीय सरकारले गर्नेछ । त्यस्तै, उपत्यकाबाहिरका जिल्लामा भने प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइसोलेसन बेडको प्रबन्ध गर्नेछन् । यसका लागि प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (पिसिसिएमसी) र डिसिसिएमसीले आवश्यक समन्वय गर्नेछन् ।

होटलहरूको व्यवस्थापनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पर्यटन विभागसँगको समन्वयमा पर्यटक स्तरीयदेखि पाँचतारेसम्मका होटलको सूची र एक रातको खानासहितको मूल्य सार्वजनिक गरिसकेको छ । 

प्रकाशित: ८ भाद्र २०७७ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App