७ वैशाख २०८१ शुक्रबार
अर्थ

५१ हजार नौ सय ६३ स्वदेश फर्किए

गत जेठ अन्तिमबाट सुरु भएको उद्धार उडानमार्फत मंगलबारसम्ममा ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्केका छन् । छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दिएको जानकारी अनुसार सोमबारसम्म ५१ हजार सात सय ६१ जना नेपाल आइपुगेका छन् । मंगलबार टर्कीबाट दुई सय दुईजना स्वदेश फर्केका छन् ।  

मंगलबार नेपाल भित्रिएकाको संख्या उद्धार उडान सुरु भएयताको सबै भन्दा कम हो । यसअधि दैनिक १६ सयसम्म आउने गरेकामा मन्त्रिपरिषद्ले दैनिक पाँच सय नेपाली मात्रै ल्याउने निर्णय गरेपछि संख्या घटेको हो । सिसिएमसीले भदौ १ गतेदेखि चार्टर्ड उडान रोक्न भनेपछि विमान कम्पनीहरूले उडान तालिका रद्द गरिसकेका छन् । सिसिएमसीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेपछि अनिश्चित कालका लागि उद्धार उडान बन्द भएको हो । देशका विभिन्न स्थानीय तहले निषेधाज्ञा र लकडाउन गरेको र राजधानीबाहिर होटल क्वारेन्टिनको समेत व्यवस्था हुन नसकेको भन्दै सिसिएमसीले उद्धार उडान रोक्न सिफारिस गरेको थियो ।  

विदेशस्थित नेपाली कूटनीतिक नियोगमा हजारौंले स्वदेश फर्कन आवेदन दिएका थिए । सरकारले पाँचौं चरणको उद्धारका लागि ४३ उडान अनुमति दिइसकेको थियो । तर मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढ्दै गएको र राजधानीबाहिरका विभिन्न क्षेत्रमा लकडाउन सुरु भएकाले हाललाई उक्त उडान अनुमति स्थगित गरिएको हो ।

सिसिएमसीका अनुसार दुई महिनासम्म चलेको उद्धार उडानमार्फत विभिन्न ३० देशमा अलपत्र नेपाली घर फर्किएका छन् । सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपाल फर्किएका छन् । युएईबाट १४ हजार चार सय ८१ नेपाल फर्किएका छन् । युएईबाट फर्किनेमा सबैभन्दा बढी बाग्मती प्रदेशका चार हजार तीन सय २८ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका चार सय २९ जना छन् । सबैभन्दा कम श्रीलंकाबाट पाँच जना आएका छन् । सोमबारसम्मको तथ्यांक अनुसार प्रदेश १ का १० हजार नौ सय ४७, प्रदेश २ का आठ हजार पाँच सय ७९, गण्डकीका ६ हजार सात सय २३, प्रदेश ५ का आठ हजार ६ सय ४१, प्रदेश ६ का ११ सय ८२ र सुदूरपश्चिम प्रदेशका १३ सय २६ जना स्वदेश आइपुगेका हुन् ।  

प्रकाशित: ३ भाद्र २०७७ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App