४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

वाबुप

लघुकथा

सहरबाट पढेर फर्किएको नाति नुयोकहाङ्ले घरको मूलथाममा झुन्डिएको वाबुपतिर देखाउँदै भन्यो, “हजुरबा, यो किन अझै राख्नुभएको ? नयाँ घरमा यस्तो पुरानो कुरा सुहाउँदैन।”

हजुरबाले केही भनेनन्।

साँझ उनी नुयोकहाङलाई डाँडाको टुप्पोमा लगे। पश्चिममा घाम अस्ताउँदै थियो। तल गाउँभरि धुवाँका मसिना रेखा उठिरहेका थिए। चराहरू आफ्ना गुँडतिर फर्किरहेका थिए।

हजुरबाले परको एउटा बूढो रुख देखाउँदै सोधे, “त्यो रुख देख्यौ?”

“देखेँ।”

“हावा चलेपछि हाँगा हल्लिन्छ तर रुख ढल्दैन। किन होला?”

नुयोकहाङ्ले केहीबेर रुखतिर हेर्‍यो।

“जरा बलियो भएर होला।”

हजुरबा मुस्कुराउॅंदै बोले, “वाबुप पनि त्यस्तै हो।”

नुयोकहाङ चुप लाग्यो।

केहीबेरपछि हजुरबाले थपे, “जरा देखिँदैन, बाबु तर रुखलाई थामिरहन्छ।”

त्यसपछि उनीहरू घर फर्किए।

त्यो रात नुयोकहाङ धेरैबेर निदाउन सकेन। उसको आँखामा डाँडाको रुख, हावामा हल्लिएका हाँगा र मूल थाममा झुन्डिएको वाबुप पालैपालो।

बिहान हजुरबा उठ्नुअघि नै नुयोकहाङ्ले वाबुप झिक्यो। धुलो पुछ्यो। सावधानीपूर्वक फेरि उही ठाउँमा झुन्ड्यायो।

हजुरबाले परैबाट देखे। केही भनेनन्। खालि मुस्कुराए।

त्यो दिन घरको मूलथाममा वाबुप मात्रै झुन्डिएको थिएन। एउटा पुस्ताको स्मृति अर्को पुस्ताको चेतनामा पनि झुन्डिएको थियो।

प्रकाशित: ४ आश्विन २०८३ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App