coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राधिकरणको सञ्चित नाफा पाँच अर्ब

कुलमान घिसिङ, प्रबन्ध निर्देशक,नेपाल विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिको ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटालाई घटाउँदै गत आर्थिक वर्षदेखि सञ्चित नाफा कमाउन थालेको छ । प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारणले प्राधिकरणले चार वर्षमा ३४ अर्बको सञ्चित घाटा शून्यमा झारेर गत सञ्चित नाफा चार अर्ब ८६ करोड रूपैयाँ पु-याएको हो ।

आर्थिक वर्ष ०७२÷७३ सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रूपैयाँ थियो । प्राधिकरणको आव ०७५÷७६ सम्म पनि सञ्चित घाटा १२ अर्ब २३ करोड रूपैयाँ थियो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले चार वर्षमा नियमित बिजुली आपूर्ति र उल्लेखनीय आर्थिक सुधार गर्दै सञ्चित नोक्सान घटाउन सफल भएको बताए । ‘दैनिक १४ घन्टाको अँध्यारो युगबाट अब अँध्यारोतर्फ नफर्किने गरी उज्यालो युगमा प्रवेश गरेका छौं,’ उनले भने, ‘पहिला कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नुपर्ने अवस्थामा थियौं । अहिले सबैभन्दा धेरै खुद नाफा कमाउने संस्थाको रूपमा स्थापित हुन पाएका छौं ।’ प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले चार वर्षदेखि क्रमशः सञ्चित घाटा घटाउँदै सञ्चित नाफामा पुगेको बताए ।

‘प्राधिकरण घाटामा जाँदा सञ्चित नोक्सान बढ्दै गएको थियो,’ उनले भने, ‘नियमित बिजुली आपूर्ति र आर्थिक सुधार गरेसँगै अहिले सञ्चित नाफा कमाउन सकेका छौं ।’ घिसिङले चार वर्षमा ३४ अर्बको सञ्चित घाटा शून्यमा झारेर चार अर्ब ८७ करोड रूपैयाँ सञ्चित नाफा आर्जन गरेको बताए । प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा समेत बढाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब पाँच करोड रूपैयाँ नाफा कमाएको छ । आव ०७५÷७६ मा नौ अर्ब ८४ करोड रूपैयाँ नाफा कमाएको थियो । आव ०७२÷७३ सम्म प्राधिकरण वार्षिक आठ अर्ब ८९ करोड रूपैयाँ नोक्सानमा थियो । चार वर्षको अवधिमा घाटामा रहेको प्राधिकरण गत आवको अन्त्यसम्म वार्षिक ११ अर्ब पाँच करोड रूपैयाँ नाफा कमाउन सफल भएको छ ।

भारतबाट विद्युत् आयात २२ प्रतिशत  
गत आर्थिक वर्षमा स्वदेशमै उत्पादन हुने बिजुली बढेसँगै छिमेकी भारतबाट आयात गर्ने बिजुलीको माग क्रमशः घटेको छ । गत आवमा खपत भएको ७७४१ गिगावाट आवर बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरिएको थियो । देश १४ घन्टासम्मको लोडसेडिङमा रहँदा घरेलु खपतको करिब ३५ प्रतिशत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत करिब ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत ३७ हाराहारीमा भएको प्राधिकरणले जनायो । प्राधिकरणले गत आवमा आयात २२ प्रतिशतमा सीमित भएको जनाएको छ । प्राधिकरणले आगामी आवभित्र विद्युत् आयात पाँच देखि १० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

निर्यात बढ्यो
प्राधिकरणले आव ०७२÷७३ मा ३१ लाख ५० हजार युनिट बिजुली निर्यात गरेको थियो । प्राधिकरणले आव ०७३÷७४ मा २६ लाख ९० हजार, ०७४÷७५ मा २९ लाख ४० हजार युनिट बिजुली निर्यात गरेको थियो । स्वदेशमा विद्युत् उत्पादन हुने क्रम बढेसँगै प्राधिकरणले क्रमशः विद्युत् निर्यात बढाउँदै लगेको छ । आव ०७५÷७६ मा तीन करोड ४७ लाख युनिट र आव ०७६÷७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको थियो । प्राधिकरणले केही वर्षभित्र विद्युत्मा आत्मनिर्भर भई नेट निर्यात सुरु गरिने जनाएको छ ।

नियमित बिजुली आपूर्ति र आर्थिक सुधार गरेसँगै अहिले सञ्चित नाफा कमाउन सक्यौं ।–कुलमान घिसिङ, प्रबन्ध निर्देशक

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले कार्यसम्पादन र कार्यप्रगतिको आधारमा कर्मचारीलाई ३० देखि ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको बताए । सो प्रोत्साहन भत्ता स्थायी कर्मचारीले मात्रै नभएर दैनिक ज्यालादारी र करारका कर्मचारीले समेत पाउनेछन् । प्रबन्ध निर्देशक घिसिङले कोभिड १९ को संक्रमण र जोखिमको कारणले कर्मचारीको सेवा–सुविधा उल्लेखनीय रूपमा बढाउन नसकेको बताएका छन् ।

प्राधिकरण नाफामुखी होइन, सेवामुखी बनेको छ: मन्त्री पुन
वार्षिकोत्सवका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरण मुलुकले गर्व गर्नलायक सार्वजनिक संस्थाका रूपमा स्थापित भएको बताएका छन् । मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकेको भन्दै खुसी व्यक्त गरे । प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको, घरेलु ग्राहकको विद्युत् महसुल घटाउन सफल भएको तथा मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने करिब आठ लाख विपन्न ग्राहकलाई पूर्ण रूपमा विद्युत् महसुल छुट दिइएको मन्त्री पुनले स्पष्ट पारे ।  

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । ‘विद्युत् महसुल दरमा वृद्धि नगरी चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ,’ प्राधिकरण स्थापनाको ३५औं वर्ष पूरा भएको अवसरमा सोमबार शुभ–कामना सन्देश जारी गर्दै मन्त्री पुनले भनेका छन्, ‘मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका करिब आठ लाख ग्राहकलाई पूर्ण रूपमा महसुल छुट दिएबाट प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकेकोमा खुसी व्यक्त गर्छु ।’

प्रकाशित: २ भाद्र २०७७ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App