१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वास्थ्य सुरक्षा मापदण्डबिनै उडान

कारवाही स्वरुप समिट एयरको ‘उद्धार’ उडान रोकियो

नेपालगन्ज विमानस्थल।तस्बिर: नागरिक

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन्। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले विगत चार महिनादेखि नियमित उडान बन्द गर्दै आएको छ। सडक सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान हुँदै आएको छ। उद्धार उडान भर्ने क्रममा सरकारले लागू गरेको उक्त मापदण्डलाई एयरलाइन्स कम्पनीले नेपालगन्जमा पालना नगरेका हुन्।  

नागरिक उड्डययन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर एयरलाइन्स कम्पनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम रुपले पनि पालना नगरेको बताउँछन्। ‘सुरुका दिनमा सबैले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उद्धार उडान भर्दै आएका थिए, पछिल्लो एक–दुई हप्तादेखि मापदण्ड पालना गर्न अटेरी गरिरहेका छन्,’ प्रमुख ठाकुरले भने, ‘मैले मापदण्ड पालना गर्न पटक–पटक अनुरोध गरिरहेको छु, तरपनि उनीहरुको अराजकता कायमै छ।’ एयरलाइन्स कम्पनीले यात्रु काउन्टरमा अत्यधिक भिड गराउने, टिकट काट्ने कर्मचारीले स्वास्थ्य सामग्री प्रयोग नगर्ने, यात्रुका लागि बनाइएको मार्किङलाई अनुसरण नगर्ने र सुरक्षाकर्मीलाई समेत नर्टेने गरेको उनले सुनाए।  

नेपालगन्जमा कोरोना संक्रमण बढिरहेका बेला एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम विमानस्थल क्षेत्रमा पनि बढेको कार्यालयले जनाएको छ। प्राधिकरणले शुक्रबार भने मापदण्ड पालना नगर्ने समिट एयरको एउटा उडान शुक्रबार रोकिदिएको छ। उक्त एयरलाइन्सले शुक्रबार दिउँसो ३ बजेतिर आफ्नो जहाज रारा उडाउने तयारी गरिरहेको थियो, तर मापदण्ड पालना नगरेको भन्दै अन्तिम समयमा उड्ने अनुमति नै पाएन।  

विमानस्थल कार्यालयले गरेको अनुगमनका क्रममा उक्त कम्पनीले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएपछि उडान रोकिदिएको प्रमुख ठाकुरले जानकारी दिए। ‘एयरलाइन्स कम्पनीलाई हामीले पटक–पटक मापदण्ड पालाना गर्न सम्झाएका थियौं, तर मापदण्ड पालना गर्न अटेरी गरेपछि समिट एयरको एउटा उडान रोकिदियौं,’ उनले भने। आगामी दिनमा पनि मापदण्ड पालना गर्ने प्रतिबद्धता नजनाए पुनः उडान रोकिदिने ठाकुरले बताए। उनले थपे, ‘अहिलेसम्म मैले कुनैपनि फ्लाइटलाई यसरी रोकेको थिएन, मैलै दश पटक हात जोडेर अनुरोध गरेको छु, किनकी एक जनालाई कोरोना लाग्नेबित्तिकै सबैलाई लाग्छ, संक्रमण फैलियो भने त विमानस्थललाई नै सिल गर्नुपर्ने अवस्था आउँछ।’

कार्यालयका अनुसार शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट डोल्पा, सिमिकोट, बाजुरा र राराका लागि १० उडान भएका छन्। ती उडानबाट २३ यात्रु र ११ हजार तीन सय ८४ किलो कार्गो (सामान) ढुवानी भएको छ। सरकारले कोरोना भाइरस महामारीका कारण गत चैत ११ गतेदेखी लकडाउन गरेपछि देशभरका हवाइ उडान पनि बन्द गराएको थियो। सडक यातायातसँग नजोडिएका जिल्लाका नागरिकको उद्धार गर्नुपर्ने भन्दै सरकारले चैत अन्तिमतिरबाट पहाडी जिल्लामा उद्धार उडान भर्न नेपालगन्ज विमानस्थललाई निर्देशन दियो। त्यसयता स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा विमानस्थल कार्यालयले एयरलाइन्स कम्पनीलाई पहाडी जिल्लामा यात्रु र कार्गो उडानको अनुमति दिँदै आएको छ।  

उद्धार उडानमार्फत विदेशबाट फर्केका, काठमाडौं र नेपालगन्जमा अलपत्र परेका यात्रु बोक्ने तथा अत्यावश्यक खाद्य सामग्री, स्वास्थ्य सामग्री ढुवानी हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ। जहाजबाट यात्रुको उद्धार गर्नका लागि सम्बन्धित यात्रुको कोरोना जाँच रिपोर्ट अनिवार्य हुनुपर्ने, गृहमन्त्रालले पठाउने लिस्टमा यात्रुको नाम हुनुपर्ने, मास्क लगायत स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्नुपर्ने लगायत सर्त राखिएको छ।  

‘पहाडी जिल्लामा सडक पुगेको छैन, सडक नपुगेको त्यस्तो जिल्लाको लागि सरकारले उद्धार उडानको व्यवस्था ल्याएको हो,’ ठाकुरले भने ‘जो महिनौैदेखि होटलमा बसेको छ, बेखर्ची भएको छ, त्यस्ता व्यक्तिलाई उद्धार फ्लाइटले राम्रो गरेको छ।’ कोरोना महामारीका कारण विमानस्थल सामान्य अवस्थामा नरहेको हुँदा यस्तो अवस्थामा एयरलाइन्स कम्पनी, यात्रुलगायत सबैले दुःख, कष्ट पाउनु स्वभाविक रहेको उनी बताउँछन्।  

प्राधिकरणले शुक्रबारको उडान रोकिदिँदा यात्रुहरु नेपालगन्जमा अलपत्र परेका छन्। लामो समयको प्रतिक्षापछि घर जान आतुर रहेका यात्रु एक्कासी उडान रोकिँदा निराश भएका हुन्। उड्न नपाएका यात्रु राँझामा रहेका होटलमा बसेका छन्। मुगुको रारा उड्ने तयारी अवस्थामा रहेका यात्रु देवराज मल्लले नेपालगन्ज विमानस्थल कार्यालयले समिट एयरको जहाजलाई उडान अनुमति नदिँदा आफू राँझामा अलपत्र परेको दुखेसो पोखे।  

‘कोरोना संक्रमण नभएको स्वास्थ्य जाँच प्रमाणपत्र र गृह मन्त्रालयले उपलब्ध गराएको पास, सिफारिस पत्र हुँदाहुँदै पनि हामी उड्न पाएनौं,’ उनले टेलिफोनमा भने। वैदेशिक रोजगारीबाट फर्केका मल्ल काठमाडौंबाट सिधैं बस चढेर केही दिनअघि सुर्खेत पुगेका थिए। त्यहाँ उनलाई त्यहाँ कर्णाली प्रदेश सरकारले १४ दिन क्वारेन्टिनमा राखेको थियो। क्वारेन्टिनको बसाइ पूरा गरिसकेपछि घर फर्किन उनी नेपालगन्ज विमानस्थल पुगेका थिए। उद्धार उडान रोकिँदा शुक्रबार आफूसहित १४ जना यात्रु अलपत्र परेको उनको भनाइ छ।

प्रकाशित: ३२ श्रावण २०७७ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App