coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘मत्स्य’ छन्, विकास छैन

चितवनको राप्ती नगरपालिकास्थित मत्स्य विकास केन्द्र भण्डारामा रहेको माछापोखरी । तस्बिर: सूर्यप्रकाश/नागरिक

पाँच दशकअघि चितवनको भण्डारामा मत्स्य विकास कार्यालय स्थापना गरियो । उद्देश्य थियो माछापालक किसानलाई पर्याप्त भुरा सुलभ दरमा उपलब्ध गराउने । उद्देश्य अनुसार यस कार्यालयले काम त गरेको छ, तर पूर्णक्षमतामा भुरा उत्पादन गर्न भने सकेको छैन । माछापोखरीको संख्या बढाउन नसकेको कारण सीमित पोखरीमा माछासँगै कार्यालयको विकास पनि सीमित भएको छ ।

स्थापनाकालको ६० हेक्टर क्षेत्रफलमा ३४ वटा माछापोखरी छन् । पोखरीमा माउ माछा पालेर ह्याचिङ गरी भुरा उत्पादन हुँदै आएको छ । कार्यालयले वार्षिक ५ करोड भुरा किसानलाई बिक्री गर्ने गरेको छ । कार्यालयले कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु, नैनी र भाकुरा जातका भुरा बिक्री गर्दै आएको कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत माधवप्रसाद दाहाल बताउँछन् ।  

‘मत्स्यपालक किसानलाई व्यावसायिक टेवा दिन ह्याचिङ प्रविधिबाट धेरै परिमाणमा भुरा उत्पादन गर्ने उद्देश्यले २०२६ सालमा यो कार्यालय स्थापना भएको हो’ दाहाल भन्छन्, ‘यस केन्द्रको स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेपनि शुरुदेखि नै पानीको अभावका कारण पूर्ण क्षमतामा कहिल्यै संचालन हुन सकेको छैन ।’  

कार्यालयले ह्याचिङ गरिएका भुरा साइज अनुसार प्रतिभुरा २५ पैसादेखि ७५ पैसाका दरले बिक्री गर्ने गरेको छ । किसानले एक हेक्टरमा १० देखि १५ हजार भुरा राख्नु पर्ने कार्यालयले जनाएको छ । मत्स्य विकास कार्यालय भण्डाराबाट चितवनसहित नवलपरासी, धादिङ, गोर्खा, मकवानपुरका मत्स्यपालक किसानलाई सुलभ दरमा भुरा बिक्री गरिँदै आएको दाहाल बताउँछन् । गुणस्तरीय मत्स्य बीज उत्पादन गरी कृषकको माग अनुरुपको जात र साइजका भुरा समयमै उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।

कार्यालयले गुणस्तरीय मत्स्य बीज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास, प्राविधिक ज्ञान, सीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकस्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । कार्यालयले कृषकहरुलाई बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरी स्तरीकरण र क्षमता बिस्तारका लागि आवश्यक बजेट बिनियोजन गरेको कार्यालयका सहलेखापाल राजेन्द्र कुमाल बताउँछन् ।

प्रकाशित: २७ श्रावण २०७७ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App