७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

९६ प्रतिशत रोपाइँ सकियो

सदरमुकाम त्रियुगाको लक्ष्मीपुरमा रोपाइँ गर्दै स्थानीय किसान। तस्विरः महेश्वर/नागरिक

विगतका वर्षहरुमा खडेरीले रोपाइँ ढिला हुने समस्या भोगेका उदयपुरका किसान यो वर्ष बेलैमा रोपाइँ गर्न पाएकोमा खुसी छन्। वैशाख, जेठदेखि नै वर्षा सुरु भएपछि असार सुरुदेखि थालेको रोपाइँ ९६ प्रतिशत सकिएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।

ज्ञान केन्द्र प्रमुख नरनाथ रेग्मीले समयमै वर्षा सुरु भएपछि रोपाइँ बेलैमा सुरु भएर अन्तिम चरणमा पुगेको बताए। यो वर्ष एकैचोटी सबैतिर वर्षा भएकाले असार सुरुदेखि नै किसान खेतमा रमाउन थालेको र पहाड, भित्री मधेस र तराई क्षेत्रमा सँगसँगै रोपाइँ सकिन लागेको उनले बताए। ‘यो वर्ष सबैतिर एकैपटक पानी प-यो, त्यसैले पहाडदेखि तराईसम्म रोपाइँ पनि सँगसँगै सुरु भयो,’ रेग्मीले भने, ‘विगत वर्षभन्दा छिटो रोपाइँ सकिन लागेको छ।’

रेग्मीका अनुसार जिल्लामा अहिलेसम्म ९६ प्रतिशत रोपाइँ सकिइसकेको छ। साउन अन्तिमसम्म सबैतिर रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ। साउन पहिलो सातासम्म एक÷दुई दिन बिराएर वर्षा भएपछि किसानहरु रोपाइँमा केन्द्रित भएका हुन्। सुरु सुरुका रोपोले खेत हरियाली भईसकेर पहिलो गोडमेल गर्ने बेला भइसकेको छ भने पछिल्लो रोपो पनि सरेर पलाउन थालिसकेको छ।  

ज्ञान केन्द्रले यो वर्ष धान उत्पादन बढ्ने अनुमानसमेत गरेको छ। विगत वर्षमा खडेरीले समयमा रोपाइँ गर्न नपाउँदा र फौजी किराको आक्रमणले उत्पादन घटेको भए पनि यो वर्ष उत्पादन बढ्ने आसा लिइएको रेग्मीले बताए। उनका अनुसार खडेरीका बावजुद पनि ०७५÷७६ मा प्रति हेक्टर ३.८५ प्रतिशत उत्पादन भएको धान ०७६÷७७ मा ३.६५ मा खुम्चिएको थियो। अघिल्लो वर्षको तुलनामा गतवर्ष फौजी किराले गर्दा उत्पादनमा गिरावट आएको भए पनि यो वर्ष उत्पादन बढ्ने आसा गरेको उनले बताए।  

यो वर्ष निरन्तर वर्षा भईरहेकाले फौजी किराको आक्रमण धानखेतले सहनु नपर्ने अनुमान रेग्मीको छ। उनका अनुसार यसवर्ष निरन्तर पानी परिरहेकाले फौजी किराले सन्तान उत्पादन गर्न नपाउने हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको हो। ‘गतवर्ष फौजीले उत्पादन केही घटेको भए पनि यो वर्ष बेलैमा रोपाइँ सकिएको फौजी पनि निन्त्रणोन्मुख भएकाले धान बढ्छ भन्ने हाम्रो अनुमान छ’ रेग्मीले भने ‘यसवर्ष निरन्तर पानी परिरहेकाले फौजी किरा नलाग्ने अपेक्षा गरिएको छ। वर्षा निरन्तर हुँदा फौजीले अण्डा पार्न र लार्भा उत्पादन गर्नै सक्दैन।’  

दक्षिण अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको सलहले पनि नेपालको अन्नबालीमा क्षति गर्न नसक्ने खालको पाइएको रेग्मीले बताए। सहल उदयपुरका धेरै क्षेत्रमा देखिएपछि समातेर विराटनगरस्थित प्रयोगशालामा परीक्षण गर्न पठाइएको बताउँदै उनले तर, यहाँ पाइएका सलह क्षति गर्ने खालका नभएर मित्रजीव प्रमाणित भएको बताए। फौजी किरा र सलहले हानी नगर्ने भएपछि उसै पनि धान उत्पादन बढ्ने अनुमान गर्न सकिने ज्ञान केन्द्रको भनाई छ।  

उदयपुरमा दर्जन बढी प्रजातिका धान उत्पादन हुदै आएको छ। तराईक्षेत्रमा राधा १२, स्वर्ण सबवन, ललका बासमति, मुन्सुली, कान्छी मन्सुली, राम विलास, सावित्री, सुख्खा १ र सुख्खा ३ प्रजातिका धान लगाउने गरिएको छ। सुख्खा १ र सुख्खा ३ प्रजातिका धान थोरै पानीले पनि फल्ने भएकाले सिंचाई सुविधा नभएका अधिकांश क्षेत्रका किसानले यसको खेती लगाएका छन्। पहाडी भेगका कतिपय किसानले भने थापाचिनी, भोटाङे, पोखरेली, मार्सी प्रजातिका परम्परागत धानको खेती गर्ने गरेका छन्।

प्रकाशित: २६ श्रावण २०७७ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App