१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चालु आवमा आयल निगमको योजना: पूर्वाधार निर्माण गर्न पौन ६ अर्ब

नेपाल आयल निगमले इन्धन भण्डारण र अन्य पूर्वाधार निर्माणका लागि यो वर्ष करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। इन्धन भण्डारण लागि पूर्वाधार अभाव भएको बेला निगमले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको हो।  

निगमसँग मुलुकभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७१ हजार सात सय नौ किलोलिटर मात्र छ। यो वर्ष करिब ३८ हजार किलोलिटर इन्धन भण्डारण स्थल निर्माण अघि बढाउने भएको छ। निगमको चालु आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा पारित गरेको निगमले पूर्वाधार निर्माणमा लागि पाँच अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ। निगमको पूर्वाधार क्षमता कमजोर हँदा इन्धन भण्डारणमा समस्या छ।  

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार इन्धन भण्डारण स्थल नपुग भएकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको हो। ‘तीन वर्षमा २५ अर्ब रुपैयाँ पूर्वाधारमा लगानी गर्ने योजना छ,’ पौडेलले भने, ‘इन्धन भण्डरणको क्षमता बढाउँछौं।’ निगमले नीति तथा कार्यक्रम पारित गरेर बजेट तयार गरेको छ। बजेटमा हस्ताक्षर गर्न बाँकी छ।  

निगमले ३८ हजार किलोलिटर क्षमताको भण्डारणस्थल बनाउन लागेको निगमको इन्जिनियरिङ विभागका प्रमुख पूर्णप्रसाद रिजालले बताए। रिजालका अनुसार हवाई इन्धन १४ हजार किलोलिटर, पेट्रोल १४ हजार र डिजेल १० हजार किलोलिटर भण्डारण क्षमता बनाउन लागिएको हो। ‘भण्डारण क्षमता कमजोर रहेकाले बढाउन लागेका हौं,’ उनले भने।

कम्तीमा एक महिनालाई प्रयाप्त हुने भण्डारण क्षमता विस्तार गर्न प्रथम चरणमा चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माणको कार्य प्रारम्भ गर्ने भएको छ।  

निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले झापा, सर्लााही, चितवन, भैरहवामा जग्गा खरिदमा अनियमितता गरेपछि पूर्वाधार निर्माणको काम रोकिएको थियो। सरकारले तीन महिनालाई पुग्ने इन्धन भण्डारणस्थल निर्माण गर्न निर्देशन दिए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन।  

पूर्वाधार निर्माणसँगै पुराना उपकरणलाई विस्थापित गर्ने योजना बनाएको छ। २० वर्ष भन्दा पुराना बाउजर, सवारी साधन, दमकल विस्थापित गर्ने, पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न ट्यांकरमा ई–लकिङ सिस्टम जडान गर्ने, भेहिकल ट्र्याकिङ सिस्टम, इलेक्ट्रोनिक्स कार्गो ट्र्याकिङ सिस्टम जडान गर्न सुरु गर्ने जनाएको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बनाउनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण प्रक्रिया बढाउने जनाएको छ। निगमले आफ्नै लगानीमा पेट्रोल पम्प निर्माण गर्ने नीति लिएको छ। यो वर्ष नेपालगन्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प, झापा र धनुषामा रहेको निगमको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्थापन लगायतका आवश्यक प्रक्रिया सुरु गर्ने भएको छ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार निर्माण अघि बढाएको छ। चन्द्रगढी, जनकपुर, दाङ विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गर्ने भएको छ। अहिले सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भए÷नभएको यकिन गरी पुनःसंरचनाको म्यापिङ गर्ने, प्राविधिक अवस्थाको यकिन गर्ने, सुरक्षा तथा वातावरणीय स्थितिको आकलनका आधारमा इन्जिनियरिङ गरी आधुनिकीकरण गर्ने कार्यक्रम छ।

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने, भारतको सिलगुढीदेखि झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाउने, चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी फ्रेमवर्क तयार गर्ने भएको छ।  

निगमको केन्द्रीय कार्यालयलाई व्यवस्थित तथा आधुनिक बनाउन कर्पोरेट भवन निर्माण कार्य सुरु गर्ने, तालिम केन्द्रको निर्माण गर्ने, काठमाडौंको टेकुमा पेट्रोलियम हब स्थापना गर्न पूर्वाधार निर्माण गर्ने भएको छ। हाल सञ्चालनमा रहेका डिपोको क्रमशः क्षमता विस्तार गर्दै लैजाने, निगमको थानकोट डिपोमा पार्किङस्थल निर्माण गर्ने, न्यूनमत मौज्दात राख्नुपर्ने मट्टितेलभन्दा बढी क्षमता भएका मट्टीतेल भण्डारण ट्यांकरलाई पेट्रोल, डिजेल ट्यांकमा रुपान्तरण गर्ने कार्यक्रम छ।

पूर्वाधार निर्माणसँगै पुराना उपकरणलाई विस्थापित गर्ने योजना बनाएको छ। २० वर्ष भन्दा पुराना बाउजर, सवारी साधन, दमकल विस्थापित गर्ने, पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न ट्यांकरमा ई–लकिङ सिस्टम जडान गर्ने, भेहिकल ट्र्याकिङ सिस्टम, इलेक्ट्रोनिक्स कार्गो ट्र्याकिङ सिस्टम जडान गर्न सुरु गर्ने जनाएको छ। आर्थिक विकास, जनसंख्या, इन्धनको वैकल्पिक स्रोतको उपयोग र दिगो विकास लक्ष्य समेतका आधारमा आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी पूर्वाधार क्षमता बढाउँदै लैजाने निगमको योजना छ।

खाना पकाउने ग्यास उद्योग, बिक्रेता र उपभोक्ता तहसम्मको अद्यावधिक तथ्यांक व्यवस्थित गरी खाना पकाउने ग्यासको नयिमित आपूर्ति सुनिस्चित गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने, पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्तिको सुनिश्चित गर्ने जनाएको छ। स्वचालित मूल्य प्रणालीलाई निरन्तरता दिँदै मूल्य स्थिरीकरण कोषको उपयोग गरी पेट्रोलियम पदार्थको मूल्य सीमा भित्र राख्ने निगमले जनाएको छ। अहिलेसम्म निजी लगानीमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकर रहेकोमा निगमले सुरक्षा निकायको सहभागितामा ट्यांकर खरिद गरेर सञ्चालन गर्ने भएको छ।  

साँघुरो तथा जोखिमयुक्त स्थानमा रहेका पेट्रोल पम्प सुरक्षित तथा व्यवस्थित स्थानमा रुपान्तरण गर्ने, पेट्रोलियम पाइपलाइनको प्राविधिक मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय प्रचलन अनुसार सुरक्षा सुनिस्चित गर्ने, पेट्रोलियम पदार्थको गुणस्तर र सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्ने कार्यक्रम राखेको छ। निगमको व्यापार विविधीकरण गर्न बिटुमिन, लुब्रिकेन्ट्स, पेट्रोकेमिकल जस्ता पदार्थको व्यावसायिक कारोबार सुरु गर्ने भएको छ। निगमले आम उपभोक्तालाई उपलब्ध गराउन सक्ने थप सेवाका क्षेत्रहरु पहिचान गरी सहायक कम्पनीमार्फत सेवा प्रदान गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। केन्द्रीय प्रयोगशालालाई आइएसओ १७०२५ प्रमाणीकरण गर्ने र अन्य प्रयोगशालाको क्षमता विकास गर्ने, निगमको सम्पूर्ण कार्यप्रणालीलाई स्वचालित बनाउने कार्यक्रम राखेको छ।

प्रकाशित: २३ श्रावण २०७७ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App