२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्नपूर्णको सेन्चुरी क्षेत्र रित्तै

सात दशकपछि पहिलो अनुभव

अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिर: नागरिक

सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिम हर्जाेगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए। आरोहण सफलताको त्यो तिथि आधिकारीक रुपमा इतिहासमा लेखिए पनि अन्नपूर्ण क्षेत्रमा त्यसअघि पनि विदेशी पर्यटक पुगेको अनुमान छ, तर, त्यसको आधिकारीक रेकर्ड कतै छैन।

अन्नपूर्ण प्रथमको पहिलो आरोहणलाई मात्र आधार मान्दा पनि अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुना पुग्न थालेको करिब सातदशक पुगेको छ। यो अवधिमा त्यस क्षेत्रमा पर्यटनले निकै नै फड्को मारिसकेको छ। करिब सात दशकको पर्यटन अनुभव बटुलेको अन्नपूर्ण क्षेत्र अन्तर्गतको आधारशिविर पदमार्ग क्षेत्र (स्थानीयले सेन्चुरी पर्यटन क्षेत्र नामाकरण गरेका छन्)ले कोरोना संक्रमणका कारण गरिएको चार महिने लकडाउनमा पहिलो पटक नयाँ अनुभव बटुल्ने मौका पाएको छ।

त्यो हो– करिब सात दशकपछि पहिलोपटक सेन्चुरी क्षेत्र विदेशीविहीन भयो। आन्तरिक पाहुना पनि कोही भएनन्। यतिसम्म कि घरपरिवारका सदस्यबाहेक गाउँमा बाहिरी मान्छे कतै देखिएनन्। होटलका सबै कामदार घर फर्किदा गाउँ नितान्त परिवारमय बन्यो। लकडाउन सुरु हुँदाताका अन्नपूर्ण सेन्चुरी क्षेत्रमा केही विदेशी पाहुना पदयात्राकै क्रममा थिए। पछि ती पाहुनालाई पनि पोखरा झार्न स्थानीय पर्यटन व्यवसायीले सहजीकरण गरे। ती विदेशी पाहुना फर्किएसँगै त्यस क्षेत्रका होटलमा काम गर्ने कामदार पनि घर फर्किए। लकडाउनका कारण पाहुनाको रुपमा त्यस क्षेत्रमा जाने कोही थिएनन्। पोखरातिरबाट जसोतसो कोही उकालो लाग्दै थिए भने उनीहरु नितान्त गाउँलेका छोराछोरी मात्र थिए।  

‘नितान्त परिवारसँग मात्र मैले दिन बिताएको पहिलोपटक अनुभव बटुलेको छु,’ घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङले भने, ‘म जान्ने हुँदादेखि यहाँ पर्यटक देखेको छु। म जन्मिनुभन्दा अघिदेखि यहाँ पाहुना आउन थालेका थिए। पाहुना आउने क्रम चार महिनाअघिको लकडाउनको अघिल्लो दिनसम्म थियो। तर अहिले रित्तो छ।’  

अन्नपूर्ण क्षेत्रमा मुख्य रुपमा तीनवटा चल्तीका पर्यटकीय रुट छन्। तीमध्ये एउटा रुट मनाङ हुँदै अन्नपूर्ण फेरो पार गरेर मुस्ताङ निस्कन सकिन्छ। अर्को रुट मुस्ताङ क्षेत्रमा पर्छ। तेस्रो रुट कास्कीको घान्द्रुक आसपास हुँदै अन्नपूर्ण आधारशिविरसम्म विदेशीको आउजाउ हुन्छ। अरुको तुलनामा आधार शिविरसम्मको यो रुट छोटो भएकाले त्यस क्षेत्रमा जाने विदेशी पनि प्रयाप्त हुन्छन्। स्थानीय व्यवसायीले घान्द्रुक, छोमरोङ, अन्नपूर्ण आधारशिविर, घोरेपानी, टाढापानी क्षेत्रलाई समेटेर सेन्चुरी पर्यटन क्षेत्र नामाकरण गरेका छन्।  

सेन्चुरी क्षेत्रमा मात्र करिब तीन सय होटल रहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सेन्चुरी रुटमा वर्षमा करिब ७५ हजार विदेशी पाहुना पुग्ने गरेको तथ्यांक छ। तर कोरोनाका कारण पहिलो पटक सेन्चुरी पर्यटकीय क्षेत्र पाहुनाविहीन भएको सेन्चुरीका सल्लाहकार समेत रहेका पर्यटन व्यावसायी गुरुङले बताए।

‘कुनै दिन पनि पाहुनाविहीन भएको अनुभव थिएन। पहिलो पटक कोरोनाले हामीलाई पाहुनाविहीन बनायो,’ उनले भने, ‘कहिले विदेशी त कहिले स्वदेशी पाहुना यो क्षेत्रमा हुन्थे। कुनै न कुनै रुपमा यहाँ पाहुनाको उपस्थिति हुन्थ्यो। तर, यो पटक सातदशकपछि शून्यमा झरेका छौं।’ उनका अनुसार पाहुना मात्र त्यहाँ नभएका होईनन, होटलमा कामगर्ने बाहिरी कामदार पनि कोही छैनन्। नितान्त परिवारमात्र बसेको पहिलो अनुभव आफूले बटुलेको उनले बताए ।  

‘घान्द्रुक उहिलेको जनजीवन जस्तै भएको छ। सबै कामदार आफ्नै घरमा गए। संचालकका परिवार मात्र घरमा बसेका छन्,’ झन्डै ३० वर्षदेखि पर्यटन अनुभव बटुलेका उनले भने, ‘अरुबेला सधैं पाहुनाको स्वागतमा व्यस्त हुने व्यावसायी अहिले नितान्त खेतीपातीमा फर्केका छन्। उहिलेको घान्द्रुकको झल्को आएको छ।’ पर्यटनका अनुभवी उनले पहिलो पटक नितान्त गाउँले मात्र गाउँमा देख्न पाएको बताए। ‘नत्र कहिल्यै खालि हुन्थेन। चरम द्वन्द्वका बेला पनि पाहुना थिए। तर योपटक नितान्त गाउँले मात्र बस्न पाए,’ उनले भने, ‘छरिएका परिवार घर फर्किएपछि अनुभव साट्न पाए।’  

उनको अनुभवमा धेरै घान्द्रुकबासीका परिवार पोखरामा बस्थे। ती अहिले गाउँ फर्केका छन्। गाउँ फर्केका उनले गाउँको अपनत्व बल्ल बुझ्न पाएका छन्। सधैं पर्यटनको चहलपहल हुने यो क्षेत्रमा अहिले परिवारबाहेक कोही छैन। परिवारको मनोविज्ञान बुझन पाएको उनले बताए। ‘परिवारसँग सुख दुख साटने मौका जुराएको छ। एउटा पुस्ता नै ग्याप थियो। सधैं व्यापार गर्दा सहरबाट छोराछोरी आउँदा पनि उनीहरुसँग सुखदुःख साट्ने अवसर मिल्दैनथ्यो,’ उनले भने, ‘अहिले सहरबाट गाउँ उक्लेका छोराछोरीले पनि अभिभावकको मनोविज्ञान बुझन्े अवसर पाएका छन्।’  

अन्नपूर्ण सेन्चुरी क्षेत्रमा सुरुसुरुमा क्याम्पिङ ट्रेक चल्थ्यो। १९८० पछि होटल बन्न थालेपछि विदेशी पनि होटलमा बस्न थाले। पोखरामा पर्यटक आउन थालेपछि ती सबैजसो पर्यटक घान्द्रुक क्षेत्रमा जान्थे। ‘पोखरामा पर्यटक आउन थालेपछि उनै उकालो लागेका हुन्। अहिले पोखरा आएका सबै पाहुना बरु घान्द्रुक आउँदैनन। तर, पहिलेपहिले पोखरा आएका सबै पाहुना घान्द्रुक आउँथे,’ उनले भने। उनका अनुसार त्यस क्षेत्रका बासिन्दाका सबैजसो घरमा लाहुरे भएकाले पनि उनीहरुको संगतमा परेर विदेशी पाहुना आउन थालेका हुन्। पछि एक्यापले व्यवस्थापन गर्न थालेपछि अरु विदेशी आउन थालेपनि त्यो भन्दा अगाडि लाहुरेको संगतमा परेर विदेशी आउने गरेका थिए।  

सेन्चुरी क्षेत्रकै घोरेपानीका पर्यटन व्यवसायी भीम पुन ५५ वर्षका भए। उनले पनि करिब तीन दशकदेखि घोरेपानीमा होटल चलाएका छन्। आफू पर्यटनमा लाग्नुभन्दा अघिदेखि उनले गाउँमा क्याम्पिङ गरेर पर्यटक बस्ने गरेको देखेका थिए। आफूले होटल चलाएपछि कुनै दिन पनि पाहुनाविहीन हुनुनपरेकोमा कोरोनाले पहिलो पटक शुन्यतामा झारेको उनले बताए। ‘मैले थाहा पाएदेखि विदेशीविहीन भएको पहिलो पटक हो,’ पुनले भने, ‘अहिले होटलमा पाहुना बस्छन्, पहिला पहिला क्याम्पिङ गर्ने पाहुना हुन्थे। कोरोनाले हामीलाई पहिलोपटक शुन्यतामा फर्काउन सक्यो।’ मान्छेसँग मान्छे डराउने अवस्था आएको उनले बताए। ‘बाहिरी मान्छे आउँदा चियापानी पनि खान पनि पाउने अवस्था गाउँमा छैन,’ पुनले भने, ‘यस्तो अनुभव गर्नुपर्ला भन्ने सोचेका थिएनौं।’

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा अन्नपूर्ण क्षेत्रले पहिलो आरोहणको सफलतापछि पाहुना पाएको आधिकारिक तथ्यांक रहेपनि त्यसअघि पनि विदेशी पाहुना जाने गरेको बताउँछन्। ‘अहिलेजस्तो विदेशी पाहुना गएको तथ्यांक कतै नराखिएको मात्र हो। नत्र पहिले पनि धेरै विदेशी पदयात्रामा जाने गरेको जानकारी छ,’ सापकोटाले भने, ‘त्यो बेला पोखराबाटै हिँडेका थिए। पर्वतारोहणमा जाँदा पनि पदयात्रा नै गरेका थिए। त्यसैले पहिलो आरोहण सफल भएपछिको समय कुनै न कुनै रुपमा विदेशीहरु अन्नपूर्ण क्षेत्रमा पुगेको उनले बताए। नेपालका पदमार्ग साहसिक र आकर्षक भएकाले पनि विदेशी पाहुनाविहीन हुनु नपरेकामा अहिले कोरोनाले शुन्यतामा झारेको उनले बताए।  

एक्यापका घान्द्रुकस्थित संरक्षण अघिकृत विदुर कुँइकेल पनि सातदशकको पर्यटन अनुभव बटुलेको सेन्चुरी क्षेत्र पहिलो पटक रित्तो भएको बताउँछन्। उनका अनुसार जेठसम्म त्यस क्षेत्रमा रोकिएका पाहुना थिए। पछि उनीहरुलाई पोखरा हुँदै फिर्ता पठाइएको थियो। ‘सेन्चुरी क्षेत्रमा यतिबेला कोही पनि विदेशी छैनन। घान्द्रुकमाथि कोही विदेशी छैनन,’ कुँइकेलले भने, ‘सातदशक अनुभवमा पाहुना विहीन भएको यो नै पहिलो पटक हो।’ अन्नपूर्ण क्षेत्रमै पर्ने मुस्ताङ र मनाङमा भने पाहुना छन्। एक्यापका जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार अझै पनि मुस्ताङमा पाँचजना पाहुना छन्। घुमघामका लागि आएका उनीहरु कोरोना त्रासकै कारण स्वदेश फर्किन सकेका छैनन। अमेरिकाका, युक्रेन र स्वीडेनका एक–एक तथा अस्ट्रेलियाका दुईजना विदेशी अझै मुस्ताङमा छन्। नेपाल नै सुरक्षित ठानेर उनीहरु यतै बसेको दाहालले बताए।

अन्नपूर्ण क्षेत्रकै मनाङमा पनि एकजना विदेशी रहेको एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाले बताए। तिरुवाका अनुसार एकजना रसियन पर्यटक मनाङमा छन्। उनी पिसाङमा बसेका छन्। उनी पनि स्वदेश फर्किन नचाहेर बसेका छन्। आफ्नो मुलुकमा जान भन्दा नेपाल सुरक्षित ठानेर बसेका छन्। अन्नपूर्ण क्षेत्रमा मात्र वर्षमा एक लाख ५० हजार माथि विदेशी पुग्ने गरेका थिए। सबैभन्दा कम संख्यामा विदेशी रहेको यो नै पहिलो पटक भएको संरक्षण अधिकृतहरुको भनाइ छ।

प्रकाशित: २१ श्रावण २०७७ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App