१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घान्द्रुकका होटल भदौभर नखुल्ने

संक्रमण नबढे असोज १ देखि खुलाउन सकिन्छ : व्यवसायी

कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकको एक होटलमा रहेका विदेशी पाहुना । कोरोना संक्रमण कारण घान्द्रुकका होटल भदौ महिनाभर नखोल्ने निर्णय त्यहाँका व्यवसायीले गरेका छन्। फाइल तस्बिरः सन्तोष/नागरिक

कोरोना भाइरस महामारीबीच सरकारले साउन १५ गतेदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न अनुमति दियो । सरकारी अनुमतिपछि पोखराका एकाध होटल र केही रेस्टुरेन्ट सञ्चालनमा पनि ल्याईएका छन् । तर, पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपुर्ण क्षेत्र अन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय त्यहाँका व्यवसायीले गरेका छन् ।

अन्नपुर्ण आधारशिविर पदमार्गको प्रवेशबिन्दु घान्द्रुकका व्यवसायीको बैठकले कोरोना संक्रमणको त्रास अझै कायम रहेकोले भदौ महिनाभर होटल नखोल्ने निर्णय गरेको हो । अवस्था सहज हुँदै गएमा असोज १ देखि होटल खोल्न सकिने भएपनि त्यसको निर्णय भने अहिले नै नभईसकेको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए । ‘भदौ महिनाभर होटल नखोल्ने निर्णय सोमबार बसेको बैठकले गरेको छ । अवस्था सहज भएमा असोज १ देखि होटल खोल्न सकिन्छ,’ उनले भने, ‘तर असोजमा होटल खोल्नका लागि पनि अर्काे बैठक बसेर निर्णय गर्नेछ ।’

आधारशिविर पदमार्गको मुख्य नाका घान्द्रुक हुँदै पर्यटकहरू टाढापानी, घोरेपानी, छोमरोङ हुँदै माछापुच्छ्रे र अन्नपुर्ण आधारशिविरसम्म पुग्छन् । अहिले होटल खोल्दा गाउँमा संक्रमणको त्रास हुने भएकोले तत्काल व्यावसाय सञ्चालन गर्न सकिने अवस्था नरहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार होटल खोल्नासाथ पोखरा तथा आसपासका क्षेत्रका आन्तरिक पर्यटक त्यस क्षेत्रमा जाने र त्यसले संक्रमण फैलाउने त्रास भएकोले पनि अहिले नै होटल खोल्न हतार नभएको उनले बताए ।

‘पोखरा क्षेत्रका आन्तरिक पर्यटक पनि लामो समयको लकडाउनले घरभित्र बस्दा गुम्सिएका छन् । उनीहरू केहीदिनको रिफ्रेसमेन्टका लागि पनि यो क्षेत्रमा आउन सक्छन,’ अध्यक्ष गुरुङले भने, ‘बाहिरबाट मान्छे आउँदा संक्रमणको त्रास छ । दुर्गम गाउँमा संक्रमण फैलियो भने क्षति पु¥याउन सक्छ भनेर केही समयका लागि होटल नखोल्ने निर्णय भएको हो ।’

सरकारले होटल खोल्न अनुमति दिएपनि पर्यटकीय गाउँमा संक्रमणको त्रास हुने भएकोले होटल खोल्ने आँट नगरेको उनले बतााए । ‘व्यवसायीका कारण गाउँमा संक्रमण हुन दिनु भएन । पर्यटन क्षेत्रमा ठुलो आकारको लगानी गरेका व्यवसायी पनि अहिले होटल खोल्न तयार भएनन,’ उनले भने । उनका अनुसार पोखरा क्षेत्रमा होटल तथा रेस्टुरेन्ट खोलेको भएपनि अन्नपुर्ण क्षेत्रका व्यवसायी भने पर्ख र हेरको अवस्थामा छन् । घान्द्रुकमा मात्र करिब ५० वटा होटल रहेका छन् । घान्द्रुक हुँदै पर्यटकहरू अन्नपुर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर जाने हुँदा त्यस क्षेत्रका व्यवसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गरिरहेका छन् ।

चार–पाँचमहिना शुन्य आम्दानीमा पनि व्यवसायी रहेकोले एकमहिनाका लागि हतार गर्न नहुने उनले बताए । अन्नपुर्णको सेन्चुरी क्षेत्र आन्तरिक पर्यटकका लागि निकै नै चर्चित गन्तव्य हो । यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । घान्द्रुकमा होटल नखोलेपछि पदमार्गमा पर्ने अन्य क्षेत्रका होटल खोल्ने सम्भावना पनि नरहेको उनले बताए । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् । पोखराबाट नजिकको दुरी र हिमाली श्रृंखला सहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्मको साहसिक पदयात्रा गर्न सकिन भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन् ।

‘हुन त सेन्चुरी पर्यटन विकास समितिको बैठक बसेको छैन । तर, घान्द्रुकले होटल नखोल्ने हुँदा अरु गन्तव्यका होटल पनि खुल्ने सम्भावना छैन,’ सेन्चुरी पर्यटन विकास समितिका सल्लाहकार समेत रहेका गुरुङले भने, ‘सेन्चुरी क्षेत्र प्रवेशको मुल नाका नै रोकिने हुँदो अन्यत्र पाहुना जाने सम्भावना रहन्न । घान्द्रुक नखुलेसम्म अन्य गन्तव्य पनि खुल्ने अवस्था रहँदैन ।’ घान्द्रुकसँगको सहकार्यबिना अरु क्षेत्रका होटल सञ्चालन हुने सम्भावना नरहेको उनले बताए  ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुरु गर्ने र लामो दूरीमा यातायात सुरु गर्ने भनेपनि अहिले नै आन्तरिक तथा बाह्य पाहुना आउने सम्भावना नरहेको उनले बताए । ‘अहिले नै पाहुना आउने सम्भावना छैन । त्यसैले यो बेला व्यावसाय सुरु गर्दा आम्दानी भन्दा नोक्सान बढी हुन्छ,’ उनले भने, ‘अहिलेलाई आन्तरिक पाहुनाको सम्भावना हो । तर, आन्तरिक पाहुना पनि तत्काल आउने सम्भावना छैन ।’ नेपालीको चाँडबाँड पनि सुरु भएको र वर्षायाम चलिरहेकोले पनि आउने सम्भावना नरहेको उनले बताए ।

गाउँमा संक्रमण फैलिन नपाओस भनेर घान्द्रुकमा होटल बनाईरहेका व्यवसायीले तत्कालका लागि बाहिरी कामदार गाउँमा नल्याउने निर्णय समेत गरेको अध्यक्ष गुरुङले बताए । घान्द्रुकमा ठुला आकारका दुईवटा होटल निर्माण भईरहेकोले भदौ महिनासम्मका लागि बाहिरी कामदार नल्याउन ठेकेदार व्यवसायीलाई भनिसकेको उनले बताए । ‘यो बेला कामदार अभाव देखाएर ठेकेदारले बाहिरबाट थप जनशक्ति ल्याउन सक्छन्। त्यही कारण गाउँमा संक्रमण फैलिन सक्छ,’ उनले भने, ‘तत्काल बाहिरी मान्छे नल्याउन भनेका छन्। ठेकेदार पनि सहमत भएका छन् ।’

प्रकाशित: २० श्रावण २०७७ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App