१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

होटल–रेस्टुराँ खुले

नाफाभन्दा व्यवसायको वातावरण बनाउने उद्देश्य रहेको व्यवसायीको भनाइ

पाेखरा लेकसाइड। फाइल तस्बिर/नागरिक

विगत चार महिनादेखि बन्द पर्यटकीय उद्योगहरु बिहीबारदेखि सञ्चालनमा आएका छन्। चैत ११ मा सुरु लकडाउन साउन ६ गते सकिएसँगै सरकारले होटल, ट्रेकिङ, पर्वतारोहण,रेस्टुराँ लगायतक्षेत्र साउन १५ बाट सञ्चालन गर्न अनुमति दिएको थियो। सोही अनुसार आंशिक रुपमा व्यवसायमा फर्किएको सम्बद्ध व्यवसायीले बताएका छन्।

लामो समयदेखि बन्द होटल खुले पनि पहिलोदिन प्रायः जसो सुनसान देखिएका छन्। हवाई उडानमा प्रतिबन्ध भदौ १ सम्म कायम रहेकाले होटल खुलेको पहिलो दिन काठमाडौंका साना–ठूला होटलहरु सुनसान देखिएका हुन्। व्यवसायीहरु आन्तरिक र बाह्यउडान खुलेसँगै होटलको अकुपेन्सी बढ्न सक्ने भन्दै सेवामा फर्किएको बताउँछन्।  

होटल संघ नेपालका अध्यक्ष सृजना राणाका अनुसार देशभरका २५ प्रतिशत होटलमात्रै बिहीबारदेखि सञ्चालनमा आएका छन्।काठमाडौंबाहिरका होटल सञ्चालनमा आएपनि भित्रका ठूला होटल सञ्चालनमा नआउनुको कारण विदेशी पाहुना नहुनु नै रहेको उनको भनाइ छ।

उपत्यकाका ठूला होटलमध्ये काठमाडौं मेरियट, सोल्टी, एलफ्ट, एभरेस्ट, सांग्रिला,शंकर, एयरपोर्ट होटल, होटल मनाङ, मस्र्याङ्दी, वैशाली लगायत होटल सञ्चालनमा आएपनि अन्नपूर्ण, याक एन्ड यती, हायात, होटल हिमालय, मल्ल र -याडिसनहोटल भने बिहीबारदेखि सञ्चालनमा आएको उनको भनाइ छ।केही होटल लकडाउन अवधिमा पनि सञ्चालनमा थिए। अझै नखुलेका होटलभने पर्यटकआगमन संख्याको आधारमा विस्तारै खुल्दै जाने उनले बताइन्। केही होटलमा सरसफाइ सम्बन्धी कार्य जारी रहेकाले आम्दानी र खर्चको आधारमा खुल्दै जाने उनको भनाइ छ।

अहिले व्यापार र नाफाभन्दा पनि व्यवसायसञ्चालनमा छ भन्ने सन्देश दिन होटलहरु खुलेकोराणाले बताइन्।अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश प्रवाह गर्न पनि व्यवसायमा फर्कन आवश्यक रहेको उनको भनाइ छ।

संघका प्रथम उपाध्यक्ष विनायक शाह पनि लामो समयदेखि बन्द होटल सञ्चालनमा ल्याएर विश्व समुदायमा सकारात्मक सन्देश दिन आवश्यक देखिएकाले सेवामा फर्किएको बताउँछन्।

विदेशी पाहुना नेपाल आउँदा क्वारेन्टिन बस्नु पर्ने/नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेकाले सरकारले स्पष्ट गर्नुपर्ने उनको भनाइ छ।

‘१४ दिन क्वारेन्टिन बस्नकै लागि पर्यटक नेपाल आउन चाहँदैनन्। व्यवसाय लयमा फर्कियो भन्ने सन्देशले मात्रै पर्यटक तान्न सक्दैन। स्वास्थ्यसम्बन्धी मापदन्डमा सरकार प्रस्ट हुन आवश्यक छ,’ उनले भने।  

होटल खुले पनिसरकारले ५० अर्बको पुनरुत्थान कोष ‘आकाशको फल आँखातरी मर’को अवस्था आउन नदिन त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको माग छ।‘सरकारले थला परेको पर्यटन क्षेत्रलाई पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भनेको छ। तर राष्ट्र बैंकले उपलब्ध नगराउँदा कार्यान्वयनमा ढिलाइ भएको छ,’ उनले भने।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले समेत नेपालको पर्यटन क्षेत्र धराशयी बनिसकेकाले आवश्यक मापदण्डपालना गर्दै व्यवसायमा फर्कनुको विकल्प नरहेको धारणा राखे।व्यवसायी सेवा दिन तयार रहेपनि सरकारले विदेशी आउने वातावरण बनाउनु आवश्यक रहेको उनले बताए।

‘विदेशीहरु पिसिआर रिपोर्ट लिएर नेपाल आए उक्त रिपोर्टलाई कतिदिनमान्यता दिने? यो विषयमा पनि सरकार प्रस्ट हुन आवश्यक छ,’ उनले भने, ‘परीक्षण रिपोर्ट नभएका पाहुनाको हकमा विमानस्थलमै पिसिआर परीक्षण गर्ने व्यवस्था भए झनै राम्रो हुन्छ।’ पाहुनामा संक्रमण देखिए तिनलाई राख्ने अस्पतालको समेत प्रबन्ध गरे भद्रगोल नहुने र विश्व समुदायमासमेत गलत सन्देश नजाने उनको भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७७ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App