१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन किन्नेभन्दा बेच्ने बढी

एक्कासि भाउ अकासिएपछि बजारमा बहुमूल्य धातु सुन किन्नेभन्दा बेच्ने ग्राहक बढेका छन्। सुनको भाउ निरन्तर अस्थिर भएपछि बिक्री शून्य जस्तै भएको व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्य अधिकांश व्यवसायीले अहिले सुन बेच्नेभन्दा बढी किनिरहेको बताउँछन्। ‘लकडाउनपछि पसल खुल्दा हामीले यो अवस्था आउने अनुमान गरेका थियौं, तर बिक्री नभए पनि फिर्ता गर्ने ग्राहक तत्काल आएका थिएनन्’ शाक्यले भने, ‘लकडाउन खुलेपछि तोलामै १० हजारभन्दा बढी मूल्य बढ्यो। अनि किन्नेभन्दा बेच्ने ग्राहक बढे।’

चैत ११ देखि लकडाउनसँगै कारोबार बन्द गरेका व्यवसायीले जेठ २५ देखि पुनः कारोबार सुरु गरे। चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार गत जेठ २५ मा सुनको मूल्य १० हजार चार सय रुपैयाँले बढेर ८७ हजार चार सय रुपैयाँ पुग्यो। त्यसयता पनि १० हजार एक सय रुपैयाँले मूल्य बढेर सोमबार तोलाको ९७ हजार पाँच सयमा कारोबार भएको छ। गत वर्ष यही मितिमा सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ थियो।  

शाक्य सुनको भाउ तलमाथि हुने भ्रम र लकडाउनले सिर्जना गरेको आर्थिक संकट टार्न बेच्ने मानिसहरु बढेको बताउँछन्। ‘अहिलेसम्म त हामीले किनिरहेका छौं, तर यो अवस्थालाई कति दिन थोग्ने ? जति आउँछन् त्यत्ति किनेर राख्न त हामीसँग पनि पुँजी हुनुप¥यो नि !,’ उनी भन्छन्, ‘अर्डर आएको छैन, पुँजी सीमित छ।’ उनी यस्तै अवस्था रहे सुन भएर पनि काम नलाग्ने अवस्था आउने बताउँछन्। उनले दुई हप्ताअघिसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आउँदो डिसेम्बरसम्म प्रतिऔंस १८ सय डलर पुग्ने अनुमान गरिए पनि दुई हप्तामै बढेर दुई हजार डलर पुग्ने अनुमान गर्न लागिएको बताए।  

लकडाउनले ल्याएको आर्थिक संकट टार्नदेखि मूल्य घटेको मौका छोपेर घरजग्गा किन्न चाहने सर्वसाधारणसम्मले सुन बिक्री गरिरहेको अनुमान।  

‘सुनको मूल्य केही समयमै तोलाको एक लाख नाघ्ने देखिन्छ। तर पनि पछि बढ्छ, अहिले नै किनेर राखौं भन्ने कोही भेटिएको छैन,’ शाक्य भन्छन्, ‘भोलि बढ्ने मात्र होइन, घट्ने पनि उत्तिकै सम्भावना हुने हुँदा पैसा हुनेले पनि आँट गर्न नसकेको देखिएको छ।’

उनले सुनचाँदी व्यवासायमा २०५८ सालमा पनि केही समय ग्राहकले सुन बेच्ने अवस्था आएको बताए। ‘तर लामो समय अन्योलको अवस्था इतिहासमा पहिलोपटक देखियो। ऊ बेला सुनको मूल्य तोलामा १० हजार नाघेपछि ग्राहकले बिक्री गरे। त्यो अवस्था दुई हप्तामात्र रह्यो। अहिले त कति समय रहने हो टुंगो छैन,’ उनले भने, ‘अहिले सुनको मूल्य कहाँ पुगेर रोकिन्छ, या झर्छ भन्न सक्ने अवस्था पनि छैन।’

यो पनि पढ्नुहोस्

सुन तोलाको लाख !

नेपालीले सुनमा लगानी गहनाको रुपमा मात्र बढी गरेको उनी बताउँछन्। महासंघले २०६४ सालमा गरेको एक अध्ययनमा ९५ प्रतिशतले गहना र पाँच प्रतिशतले काँचो सुन किनेर राख्ने गरेको पाइएको थियो। ‘त्यसयता ७० सालसम्ममा पुग्दा गहना बाहेकमा लगानी बढेर २५ प्रतिशत पुगेको थियो। अहिले अध्ययन भएको छैन। त्यसयता त्यो पनि घट्यो,’ उनले भने, ‘७० सालमा तोलाको ६३ हजार तीन सय पुगेको सुन बीचमा घटेर ५४ हजारसम्ममा झ¥यो। यसले सुनमा लगानी गर्ने पनि डराए।’ अर्कोतिर ०७२ को भूकम्प, विभिन्न समयको प्राकृतिक प्रकोप र कोभिडको कारण सुनमा लगानी गर्ने अवस्थामा नेपाली नरहकेको उनको तर्क छ। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुनमा लगानी गरेकै भएर भाउ महँगिएको हो। तर त्यसको विपरीत यहाँ सुनमा लगानी शून्य छ।’ शाक्य अहिले सुनको मूल्य घट्न सक्ने आँकलन गरिए पनि प्रतितोला ८५ हजारभन्दा तल नझर्ने बताउँछन्।  

अर्थशास्त्री रामेश्वर खनाल ग्राहक सुनको बिक्रीतर्फ लाग्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। अहिले मुख्य गरी चारवटा कारणले उपभोक्ताले सुन बिक्रीको मानसिकता बनाएको उनको भनाइ छ। ‘कोभिडको प्रभावका कारण आम्दानी घटेपछि घर खर्चको लागि सुन बिक्री गरेर गुजारा चलाएका छन्, घरजग्गाको मूल्य यसै समयमा घटेको कारण सुन बेचेर केहीले जग्गामा लगानी गरेका छन्,’ खनालले भने, ‘अर्कोतिर पछिल्लो समय सेयरको कारोबारमा राम्रो देखिएपछि सुन बिक्री गरेर त्यता लगानी गरेका छन्। अन्य आन्दानी रोकिएपछि केही सानोतिनो व्यावसाय गरेर बसौं भन्ने सोचले लगानीका लागि सुन बिक्री गरेका हुन सक्छन्।’ सुनको कारोबारको लागि आन्तरिक बजारबाटै माग पूरा भएपछि आयात रोकिने र त्यसले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने उनले बताए। उनी भन्छन्, ‘सुनको आयात रोकिएसँगै विदेशी मुद्राको सञ्चिति बढ्न थालेको देखिएको छ, यो राम्रो प्रभाव हो।’

पूर्व अर्थसचिव समेत रहेका खनाल सुनचाँदी व्यवसायीलाई पनि खासै असर नपुग्ने तर्क गर्छन्। उनी भन्छन्, ‘लकडाउनमा कारोबार रोकिँदा केही घाटा त भयो होला तर अहिले भएको किनबेच पनि त कारोबारै हो, यसले फाइदै गर्छ।’ 

प्रकाशित: १३ श्रावण २०७७ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App