२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुन तोलाको लाख !

कोभिड–१९ का कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ। लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ।नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यो कल्पना गरेभन्दा निकै बढी हो। 

निरन्तर बढिरहेकाले सुन तोलाको लाख पुग्ने अनुमान गर्न थालिएको छ। कोभिड–१९ को समस्या सुरु हुनुभन्दा अघि गत पुस १२ मा सुनको भाउ प्रतितोला ७३ हजार ३ सय रुपैयाँ थियो। सुनलाई विश्वमै सबैभन्दा सुरक्षित लगानीको उपकरण मानिन्छ। अहिले कोभिडका कारण अर्थतन्त्रका प्रायः सबै क्षेत्र डामाडोल छन्। कोभिडको समस्या तत्काल समाधान हुने कुनै लक्षण देखिएको छैन। अर्कोतर्फ मन्दीमा गएको विश्व अर्थतन्त्र उकासिने समय पनि कसैले किट्न सकेको छैन।  

मनी मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार नौ सय ४२.२ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार अमेरिकी डलर पुग्ने विश्लेषण हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘नेपाली बजारमा पनि सुन तोलाको एक लाख रुपैयाँमाथि पुग्ने अनुमान गरिएको छ,’ उनले भने। कोरोनाको असर निरन्तर जारी रहे सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ।

सुनको मूल्य बढ्नुमा प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा पारेको समस्या नै हो। यसका अन्य सहायक कारण पनि छन्।  विश्वभरका लगानीकर्ताले सुनलाई सम्पत्ति मान्छन्। राजनीतिक अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ताले सुनमा लगानी बढाउँछन्। उद्योगधन्दा, सेयर बजार, घरजग्गा कारोबारलगायतका अन्य क्षेत्र अनिश्चित छन्।  

अर्थशास्त्री विश्व पौडेलका अनुसार सुनमा गरिएको लगानी सुरक्षित देखेर आकर्षित हुँदा भाउ बढेको हो। ‘कोभिडका कारण लगानीकर्ताले अन्य क्षेत्र सुरक्षित ठानेनन्,’ पौडेलले भने, ‘सेयर बजार पनि क्र्यास हुन सक्ने भएकाले सुनमा लगानी बढाउँदा मूल्य बढेको हो।’ अर्थशास्त्री पौडेलका अनुसार विकसित मुलुकमा सेयर कारोबार, घरजग्गा र सुनमा लगानी धेरै धुन्छ।  

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्यका अनुसार अमेरिकी केन्द्रीय बैंकले बन्डमा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनमा लगानी बढेको हो। ‘अमेरिकन बैंकको ब्याजदर कम भएपछि लगानीकर्ताले सुनतर्फ लगानी गरे,’ शाक्यले भने, ‘त्यसको प्रभाव बजारमा देखियो।’ चीन र अमेरिकाबीच व्यापारमा देखिएको टकराबको पनि असर पनि परेको शाक्य बताउँछन्।

कोभिड–१९ को समस्या सुरु हुनुभन्दा अघि गत पुस १२ मा सुनको भाउ प्रतितोला ७३ हजार ३ सय रुपैयाँ थियो। अहिले बढेर ९७ हजार पाँच सय पुगेको छ।

नेपाली बजारमा एक वर्षको अवधिमा सुनको भाउ तोलामा ३२ हजार पाँच सय रुपैयाँ बढेको छ। गत वर्ष साउन १२ गते ६५ हजार रुपैयाँ तोलाका दरले बिक्री भएको सुन ठीक एक वर्षपछि सोमबार ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ। कोभिड–१९ का कारण मुलुक लकडाउनमा गएपछि चैत ११ देखि नेपालमा सुन कारोबार ठप्प भयो।  चैत १० गते सुनको भाउ ७७ हजार रुपैयाँ थियो। लकडाउन खुकुलो भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २५ गतेबाट नेपाली बजारमा मूल्य निर्धारण थालेको थियो। जेठ २५ गते तोलाको ८७ हजार ४ सय रुपैयाँ रहेको मूल्य त्यसयता निरन्तर बढेको छ। पछिल्लो चार वर्षको मूल्य तुलना गर्दा सुनको भाउ करिब ८० प्रतिशतले बढेको हो। २०७४ साउन १२ सुनको भाउ तोलाको ५४ हजार पाँच सय रुपैयाँ थियो।  

विशेष गरी चीन र भारतको आर्थिक वृद्धि र सुन उपहार दिने प्रचलनले पनि पछिल्ला वर्षमा सुनको खपत वृद्धिसँगै मूल्य बढेको अर्थशास्त्री बताउँछन्। सुनमा गरिएको लगानीलाई अर्थशास्त्रीहरु त्यति राम्रो मान्दैनन्। ‘सुनको लगानी अनुत्पादक क्षेत्र हो,’ अर्थशास्त्री पौडेल भन्छन्, ‘यसले अर्थतन्त्रलाई राम्रो गर्दैन।’ मूल्य बढेपछि नेपाली बजारमा सुन कारोबार ठप्प भएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए। ‘अहिले पाँच प्रतिशतमात्र बिक्री छ,’ उनले भने।

नेपालमा वाणिज्य बैंकले आयात गरेर बजारमा सुन बिक्री गर्छन्।  नेपाल राष्ट्रबैंकले दैनिक २० किलो सुन आयात गर्न र बजारमा बिक्री गर्न अनुमति दिएको छ। सामान्य अवस्थामा दैनिक २० किलोका दरले मासिक करिब ६ सय किलो सुन बिक्री हुने गरेको थियो।  

नेपाली बजारमा सुन कारोबार हरेक वर्ष वृद्धि हुँदै गएको छ।  आर्थिक वर्ष ०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएकोमा आव ०७५/७६ मा दुई अर्ब ६७ करोडले बढेर ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो। विलासी वस्तुको आयातमा कडाइ गरेको सरकारले सुनको भन्सार शुल्क बढाउँदै लगेको छ। छिमेकी मुलुक भारतीय बजारमा भन्दा नेपालमा सुन सस्तो भएपछि भन्सार महसुल बढाइएको हो। सुन चोरी निकासी हुन रोक्न विदेशबाट आउने यात्रुले ल्याउने सुन तथा सुनका गहनामा गत फागुनमा भन्सार महसुल दर करिब २१ प्रतिशतले बढाइएको छ। ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्छ।  सुनका गहना ५० ग्रामसम्म ल्याउँदा आठ हजार पाँच सय रुपैयाँ र थप सय ग्राममा १० हजार रुपैयाँ भन्सार महसुल तिर्नुपर्छ।

सुनको भाउ

मिति प्रतितोला (रुपैयाँ)

२०७७ साउन १२ ९७,५००

२०७६ साउन १२ ६५,०००

२०७५ साउन १२ ५६,५००

२०७४ साउन १२ ५४,५००

प्रकाशित: १३ श्रावण २०७७ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App