३० श्रावण २०७७ शुक्रबार
अर्थ

साउनको हरियो पहेँलो फेशनमा कोरोना प्रभाव

बजार

कलंकी घर भएकी सबिना भट्टराईको मनपर्ने महिना साउन हो । उनले पुज्ने भगवान शिवलाई मनपर्ने  महिना भएर मात्रै सविनालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् । अनुहार खुसी बनाउँदै उनले भनिन्, ‘यो महिना त हातमा मेहन्दी, हरियो र पहेँलो चुरा पोते अनि त्यसैलाई सुहाउने हरियो, पहेँलो रंगका लुगा लगाउन पाइन्छ यो महिनामा । अन्य समयमा पहेँलो रंगका कपडा लगाएर बाहिर निस्कँदा सबैले अनौठो तरिकाले हेर्ने तर साउनमा पहेँलो लगाउँदा सबैले स्वीकार गर्ने भएकाले उनलाई साउन निकै मनपर्छ ।’

हरेक वर्ष, टोलका सबै महिला र पुरुष मिलेर बोलबम भर्न पशुपतिनाथ जाने चलनले पनि उनलाई साउन महिना  धेरै मन पर्छ । ‘गत वर्षको साउन सम्झँदा उज्यालो देखिएको अनुहारमा तुरुन्तै बादल छायो,’ उनले भनिन्, ‘यो पटकको साउन त कोरोनाले लगिहाल्यो नि ।’  निरास हुँदै उनले भनिन्, ‘फेरि यो महिनामा सोमबार पनि चारवटा मात्रै परेछन्, त्यही भएर यो वर्ष सोमबारको व्रत पनि बस्दिनँ ।’  

सबिना मात्रै होइन, अघिल्ला वर्षमा साउने फेसनमा सजिएर लर्किँदै पशुपति जाने लर्कोको यो वर्ष भने पूर्णविराम लागेको छ । कोरोना महामारीले गर्दा उनीहरु शिव भगवान्को पूजाआजाका लागि पशुपति मन्दिरमा जान पाएनन् ।  

कुलेश्वरकी बबिता मानन्धरले भनिन्, ‘मलाई पनि साउनमा लगाइने शृंगार निकै मनपर्छ ।’ मेहन्दीको डिजाइन, सुन्दर चुरापोतेहरु र पहेँलो र हरियो कुर्ता सुरुवाल लगाएर कार्यालय जानुको मज्जै बेग्लै थियो । अहिले बबिताको कार्यालय बन्द छ । उनले थपिन्, ‘फेशन भनेको देखाउनका लागि लगाउने हो, यो पटक देखाउने ठाउँ नै छैन, त्यसैले केका लागि पैसा खर्च गर्नु । ’

सामाजिक सञ्जालहरुमा राख्नकै लागि मात्रै भए पनि लगाउने चलन छ नि भन्ने जिज्ञासामा बबिताले भनिन्, ‘त्यसका लागि त अघिल्लै वर्षको फोटो छँदैछ नि ।’

कस्मेटिक व्यापारी मर्कामा

बबिताले सामाजिक सञ्जालमा पुरानै फोटो भिडियोको प्रयोग गरे पनि, अन्य साउने फेशनका सौखिनहरुले भने यसै वर्षको फोटो पनि राख्ने गरेका छन् । सडकको फेशन सामाजिक सञ्जालमा पुगेको र त्यसले कस्मेटिक पसलेहरु मर्कामा परेको बताउँछिन् डायना ब्युटी पार्लर बल्खुकी अदिती श्रेष्ठ ।  

अदितीले भनिन्, ‘मेहेन्दीको जम्मा २५ देखि ५० रुपैयाँसम्म मात्रै पर्छ । हामीले लिने भनेको मेहेन्दीको नयाँ डिजाइन र लगाएको चार्ज हो । अहिले त युट्युव हेरेर सबै मेहेन्दी डिजाइनर बनिसके, सस्तोमा किन्छन् आफैँ लगाउँछन् हाम्रो त कामै छैन ।  

चुरा पोते त बिक्री भएकै होला नि भन्ने प्रश्नमा उनले भनिन्, नयाँ सामान कोरोनाले गर्दा ल्याउन पाइएन, पुरानो त उनीहरुसँग अघिल्लो वर्षकै छँदैछ नि ।

साउन, भदौलाई सिजन मान्ने कस्मेटिक पसलेहरु कोरोनाको चपेटामा परेको अदितीको भनाइ छ । उनका अनुसार, वर्षभरिमा राम्रो कमाइ हुुने यही साउन र भदौ कुरेर बस्नुपर्ने तर अहिले आएर कोरोनाले चुना लगाउँदा सटरको भाडासमेत तिर्न नसक्ने अवस्था छ । कोरोनाको महामारी भए पनि, यदि पशुपति मन्दिरका ढोका खुल्ने र सुरक्षित तरिकाले पूजापाठको व्यवस्था मिलाउने हो भने, कस्मेटिक व्यापार फेरि बढ्थ्यो ।  

पशुपति मन्दिर खुले बढ्छ साउने फेशन 

साउनमा शिवको पूजाआराधना गर्न र बोलबम भर्न जान नपाएकाले फेशन देखाउन नपाएको र फेशन नभएकाले कस्मेटिक पसल बन्द भएको जालो फुकाउने जिम्मा पशुपति क्षेत्र विकास कोषकै थाप्लोमा छ । भक्तजनको माग पनि निकै बढेको छ, पशुपतिको ढोका खोल्नका लागि । तर सरकारले आदेश नदिएको र सरकारको आदेशविपरीत आफूहरु जान नमिल्ने भएकाले पशुपतिको ढोका अहिलेको साउनमा भक्तजनका लागि खुला नगरिने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।

उनले भने, ‘हामीलाई पनि भक्तजनका लागि पशुपतिनाथको ढोका खोल्न नपाउँदा दुई महिनामै करोडौं घाटा भइसक्यो, अब साउनमा पनि खोल्न पाएनौं, अर्बौंको घाटा छ । लकडाउनले पशुपतिनाथ मन्दिर बन्द हुँदा पशुपतिनाथ क्षेत्र विकास कोषमा जेठ मसान्तसम्म  मात्रै १० करोड घाटा लागेको छ भन्दै उनले भने, ‘घाटा भयो भन्दैमा भक्तजनहरुको स्वास्थ्यको ख्यालै नगरी खोल्ने कुरो भएन ।’  

थापाले भने, ‘हामी हाम्रो तर्फबाट त सम्पूर्ण तवरले तयार छौं अब सरकारले मात्रै आदेश दिन बाँकी छ । उनले भने, ‘हामीले आन्तरिक तयारीका कुनै कमी राखेका छैनौं, सरकारले साउन ७ गतेसम्म लकडाउन तोकेको छ, त्यतिञ्जेलसम्म त कुर्नैपर्छ ।’ साउन ७ पछि लकडाउन खुले पशुपतिको ढोका भक्तजनका लागि खुल्ने अन्यथा यो वर्ष साउनमा पशुपति मन्दिरको ढोका नखुल्ने पनि उनको भनाइ छ ।  त्यसो त, सरकारसँग यस विषयमा सोधपुछ गर्दा सरकारले समन्वय गर्ने आश्वासन दिएको पनि थापाको भनाइ छ ।  

तयारी भने निकै व्यवस्थित ढंगले पूरा भइसकेको पनि थापाको भनाइ छ । उनले ढुक्कका साथ भने, ‘जति धेरै भक्तजन आए पनि सुरक्षित तरिकाले दर्शन गराउन सक्ने तयारी हाम्रो छ ।’ उनले यस विषयमा जोड दिदैं भने, ‘जति भीड भए पनि सुरक्षित दर्शन गराएर फिर्ता गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं ।’

विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डअनुसार प्रत्येक व्यक्तिलाई सामाजिक दूरी, प्रवेशद्वारमा सेनिटाइजर र प्रवेश गर्ने र बाहिरिनेका लागि अलग–अलग गेटहरुको प्रयोग गर्ने वातावरण मिलाएको उनको भनाइ छ ।  

दर्शक मार्गको समेत तयारी पूरा भएको भन्दै थापाले भने, ‘जुत्ता, चप्पल राख्ने ठाउँहरु पनि व्यवस्थित गरेका छौं ।’ धेरै भीड नगराई,  १ मिटरको दूरीमा गोलाकार चिह्न लगाएका छौं र त्यसकै आधारमा दर्शन गराउने थापाले भने ।

‘दर्शनार्थी, भक्तजन पनि पशुपतिमा पूजाआजाका लागि खुट्टा उचालेर बसेका छन्, हामी पनि सम्पूर्ण तयारी पूरा गरेर बसेका छौं, अब चाहियो मात्र सरकारको आदेश,’ थापाले भने ।

साउनको धार्मिक महत्व

साउन महिनालाई शुद्ध महिनाको रुपमा लिइन्छ । संस्कृतिविद्, ओम धौभडेल भन्छन्, ‘हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दू धर्मावलम्बिले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । यसैगरी यस महिनाभरि माछा–मासु, प्याज र लसुन नखाने, नङ, कपाल नकाट्ने चलन छ र कतिपयले मदिरा सेवन पनि एक महिनाका लागि छोड्ने गर्छन् ।’  

त्यसैगरी, साउने संक्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । विशेषगरी हिन्दू सम्प्रदायमा यस दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई कण्डारक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।  

धौभडेल भन्छन्, ‘साउन महिनालाई हिन्दू महिलाले विशेष पर्वको रूपमा मनाउने गर्दछन् ।’ पौराणिक मान्यताअनुसार साउन महिना हिन्दू धर्मावलम्बिहरुको देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । त्यस्तै भगवान कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको प्रिय महिना भएको हुनाले भगवान शिवलाई खुसी पार्न शिवको व्रत बसी विशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ ।  

पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर शिवलाई प्राप्त गरेको मान्यता छ । यही मान्यताअनुसार अविवाहिता महिलाले शिवजी जस्तै श्रीमान पाउँ भनी र विवाहिता महिलाले श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै साउन महिनाको सोमबार शिवजीको व्रत बस्ने, पूजापाठ, आराधना गर्ने प्रचलन रही आएको छ ।  

हरियो पहेँलो फेशन शास्त्रमा छ ?

पछिल्लो समय हरियो, पहँलो र रातो रंगको चुरापोते र कपडासँगै साउन महिनाभरि हातमा मेहेन्दी लगाउने चलन पनि छ । यस्ता कुरा शास्त्रमा भने नलेखिएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनले भने, ‘साउन महिनाको अर्को पक्ष भनेको यो महिना आफैँमा हरियाली महिना हो । हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । यसलाई सांस्कृतिक रुपमा भन्दा प्रकृति प्रेमका रुपमा लिनुपर्ने पनि उनको सुझाव छ ।  उनले भने, ‘हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेँलो पवित्रताको ।’ हरियो रंग उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक हो । हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ ।  

धौभडेलले भने, ‘उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।’ यस्तै, रातो रंगलाई सौभाग्य र पहेँलोलाई पवित्रताको प्रतीक मानिन्छ । त्यसैले पनि साउन महिनामा महिला शृंगारमा यी तीन रंगको सम्मिश्रण गर्छन् ।  यद्यपि, साउन महिनामा हरियो रंगका कपडा, चुरा तथा पोते र मेहेन्दी लगाउनु पर्छ भन्ने कुरा कुनै पनि धर्मशास्त्रमा उल्लेख गरेको पाइँदैन ।

प्रकाशित: ११ श्रावण २०७७ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App